Best Online News From Nepal

एकै दिन आठ सयले घट्यो सुनको भाउ

दुई सातापछि सोमबार पहिलोपटक प्रतितोला एक सय रुपैँयाका दरले घटेको सुनको भाउ मंगलबार एकै दिनमा ८ सय रुपैँया प्रतितोलाका दरले घटेको छ । बजार घटेसँगै, मंगलबार छापावाल सुन प्रतितोला ५४ हजार ६ सय रुपैँयाका दरले कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५४ हजार ३ सय ५० रुपैँयाकार दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि,सोमबार छापावाल सुनको भाउ प्रतितोला ५५ हजार ४ सय रुपैँया थियो भने तेजावी सुनको भाउ ५५ हजार १ सय ५० रुपैँया प्रतितोला थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि पाँच रुपैयाँ सस्तो भएको छ । चाँदी तोलाको सातसय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको सातसय ४५ रुपैयाँ थियो ।

सुनको आयातमा तीन गुणा वृद्धि
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सुनको आयात भने तीन गुनाले बढेको छ । नाकाबन्दीका कारण अत्यावश्यकीय वस्तु आयातमा समेत समस्या सिर्जना भइरहँदा सुनको आयात ३३७ प्रतिशतले बढेको हो ।
साउनदेखि पुससम्मको अवधिमा ८ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ८३ करोडको मात्र सुन आयात भएको थियो । गएको आर्थिक वर्षभरीमा आयात भएको सुनको परिमाण यस वर्षको ६ महिनामै आयात भएको छ । सो अवधिमा ८ अर्ब ४९ करोड रुपैयाँको सुन आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

सुनको आयात बढेपनि चाँदीको आयात भने ७२ प्रतिशतले घटेको केन्द्रले जनाएको छ । यस अवधिमा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको चाँदी आयात गरिएको छ । गत वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँको चाँदी आयात भएको थियो । गत आर्थिक वर्षभरीमा २४ अर्ब ७९ करोड रुपैयाँ बराबरको चाँदी आयात गरिएको थियो ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *