Best Online News From Nepal

एकैदिन १२ सयले बढ्यो सुनको भाउ

साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा भारी बृद्धि भएको छ । विहिबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन शुक्रबार १२ सय रुपैयाँले बढेको हो ।

मूल्य वृद्धिसँगै शुक्रबार छापावाल सुन प्रतितोला ५६ हजार ५ सय रुपैँयाका दरले कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५६ हजार २ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि विहिबार छापावाल सुनको भाउ प्रतितोला ५५ हजार ३ सय रुपैँया थियो भने तेजावी सुनको भाउ प्रतितोला ५५ हजार ५० रुपैँया थियो ।

चाँदीको मूल्य पनि शुक्रबार उकालो लागेको छ । विहिबारको तुलनामा चाँदीको भाउ १५ रुपैँयाले बढेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय रुपैँयाका दरले किनबेच भइरहेको छ । यसअघि विहिबार चाँदीको भाउ ७ सय ८५ प्रतितोला थियो ।

अन्तर्राष्ट्रिय बजारमा एक्कासी सुनको भाउ उक्लिएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।  महासंघका अनुसार अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने अनुमान भइरहेका बेला ब्याजदर यथावत राखेपछि यसको प्रभाव सुनचाँदीमा पर्न गएको हो । डिसेम्बर महिनादेखि कायम रहेकै ब्याजदरलाई अमेरिकाले यथावत राखेको छ । यसले गर्दा लगानीकर्ताहरु डलरमा भन्दा सुनमा आकर्षित हुन पुगेका हुन् । त्यस्तै अमेरिकाको आर्थिक मन्दीमा सुधार आउन सकेको छैन । यसले गर्दा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्न गएको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *