Best Online News From Nepal

एकपटक रोपेपछि ३० वर्ष फलदायी : यसरी गर्नुस् अलैँची खेती

अलैँची पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको श्ष्लनष्दभचबअभबभ परिवार अन्तर्गत पर्ने अलैंची एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा हो । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र जापानमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ । यस कारण यो वनस्पति खेर गएको जमीनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमीनलाई भूक्षय हुनबाट पनि बचाउन सकिन्छ ।
खेती र परम्परागत बजार 
अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ । डम्मरसाई, रामसाई, चिवेसाई, गोलसाई, राम्ला, साउने, आदि अलैँचीका प्रमुख जात हुन् । डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ । १२०० मिटरभन्दा माथि नै लाग्ने साउनेको दाना ठूलो हुने र यसमा रोग कम लाग्ने भएकोले रामसाईभन्दा कम फले पनि किसानहरू साउने अलैँची प्रति बढी आकर्षित भएको पाइन्छ । नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ । यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत मात्रै अरू विकास क्षेत्रमा पर्दछ । नेपालमा सबैभन्दा बढी अलैँची खेती गर्ने जिल्लामा ताप्लेजुङ्ग, (३६४७ हे.), संखुवासभा (३२५९ हे.) र इलाम (२७७४ हे.) पर्दछन् । कुल १३ हजार १९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार ४९८ हेक्टर अर्थात् झण्डै २ लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू छन् । लगाएको तीन÷चार वर्षपछि फल्न थाल्ने अलैँची २५÷३० वर्षसम्म फलिरहन्छ ।
अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान सावित भएको छ । अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ ।
महँगो तथा उपयोगी मसला
अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ । यसको सुगन्धित बीयाँबाट सिनेवल नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ । आयुर्वेदिक र यूनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी्पलक(भ्थभ(ष्मि) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रशाधनहरू निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छिले टोकेमा बिषनाशक औषधिको रूपमा अलैंचीको प्रयोग गरिन्छ । चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाई लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक, अदाहा र नसा सम्बन्धी रोग, मूत्ररोग आदि रोगहरूको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैंची खेती गर्न सकिन्छ ।

अलैँची बजार व्यवस्थापनका पहलहरु
राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा ’अलैँची कोठी’ खोलेका थिए । त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो । तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए । वि.सं. १९९०को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो । २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो । आर्थिक वर्ष २०३२÷३३मा ’कृषि वर्ष’ मनाउँदा सरकारले चारलाख बेर्ना वितरण गरेको थियो । २०३३मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो ।
यसरी गरिन्छ प्रशोधन 
नेपालको अलैँची प्रशोधन प्रविधि पुरानो छ । नेपालका अधिकांश परम्परागत भट्टीमा काँचो दाउराको धुवाँले सीधै सुकाइने अलैँची बढी कालो र धुवाँ गनाउने हुन्छ । यसो हुन नदिन सुकेको दाउरा बालेर चिम्नीबाट धुवाँ बाहिर पठाई पाइपको तातोले सुकाउने सुधारिएको भट्टी चाहिन्छ । यसका लागि जिल्ला कृषि विकास कार्यालय र एसएनभी लगायतका संस्थाले सहयोग गर्न थालेका छन् । पूर्वी पहाडी कृषि विकास आयोजनाले भोजपुर, तिम्मामा जनजाति र दलितका लागि एउटा त्यस्तो भट्टी निर्माण गरिदिएको छ । यस्तो भट्टी बनाउन रु.३५÷५० हजार रूपैयाँ लाग्ने र त्यसमा दाउराको खपत २५ प्रतिशत कम हुने इलामका किसानहरूको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *