एउटा मात्रै इन्जिन भएको विमान दुर्घटना भएपछि सरकारले शुक्रबारदेखि लागू हुने गरी एउटा इन्जिन भएका त्यस्ता जहाजलाई यात्रु बोक्न तत्कालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
नेपालगञ्जबाट जुम्लाको लागि उडेको काष्ठमण्डप एयरको विमान शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक दलका दुईजना सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परी ९ जना यात्रु घाइते भएका छन्।
जोखिम
प्राविधिक समस्या देखिएपछि उक्त जहाज कालिकोट जिल्लाको चिल्खाया गाविसमा आकस्मिक अवतरण गराउन खोजिएको थियो।
दुर्घटना भएको उक्त जहाज एउटा मात्रै ईन्जिन भएको जहाज हो।
दुर्घटना पश्चात् सरकारले तत्कालका लागि एउटामात्र इन्जिन भएका जहाजलाई यात्रु बोक्न रोक लगाउने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोख्रेलले भने, “प्राविधिक अवस्थाको अध्ययन गरेर मात्र अन्तराष्ट्रिय मान्यता र आइकाओको चासोलाई सबैलाई हेरेर मात्र जहाज चलाउने गरी हाललाई नचलाउन निर्देशन दिएको छ। तत्काल अस्थायी निर्देशन दिएको छु, यसलाई नियमित गर्छु, कार्गो मात्र बोक्नुपर्छ।”
प्रयास
नियमित जस्तो उक्त क्षेत्रमा उड्ने काष्ठमण्डप एयरको जहाज शुक्रबार मध्य दिउँसो एकजना बालक सहित ९ जना यात्रु लिएर जुम्लाका लागि उडेको थियो।
दैलेख जिल्ला काटेर कालिकोट शुरु भए सँगै जहाजमा समस्या देखिएको बाँच्न सफल भएका एक यात्रुले बताए।
लगातार पड्किएको आवाज आउन थाले पछि चालक दलका सदस्यले आकस्मिक अवतरण गर्ने भन्दै यात्रुहरुलाई नआत्तिन भनेका थिए।
उनीहरुले चिलखाया गाविसको अलि खुल्ला ठाउँमा जहाजलाई अवतरण त गराए तर सानो ठाँउ भएका कारण विमान दुर्घटना भएको बाँच्न सफल एकजना यात्रु मेघराज गिरीले बताए।
उनले भने, “मैले अगाडि हेर्दा जहाजको पङ्खा बन्द भइसकेको थियो। चालकले हामीलाई नआतिनुहोस् बेल्ट राम्रोसँग बाध्नुहोस हामी बचाउने प्रयास गर्छौ भने। उनीहरुले इन्जिन बन्द नगरेको भए हामीहरु सबै मर्ने थियौं होला तर आफू मरेर पनि हामीलाई बचाउनु भयो।”
उद्धार
सबै यात्रुलाई बचाउन सफल चालक दलका दुबैजना सदस्यको भने मृत्यु भएको प्रहरीले जनाएको छ।
करीब १२ बजेर ४० मिनेटमा दुर्घटना भएको उक्त जहाजका कोपाईलट १ घण्टासम्म जीवितै रहेको र उनले उद्धारका लागि गुहारेको बताइएको छ।
स्थानीय वासिन्दा र प्रहरीको उद्धार पछि घाइतेहरुको त्यहीं उपचार गरिएको थियो।
प्राविधिक अवस्थाको अध्ययन गरेर मात्र जहाज चलाउने गरि हाललाई नचलाउन निर्देशन दिइएको छ। कार्गोमात्र बोक्नुपर्छ भनेर अस्थायी निर्देशन दिएको छु अब यसलाई नियमित गराउनुपर्छ
४ बजे पछि मात्रै हेलिकप्टरद्वारा उनीहरुलाई कोहलपुर लगिएको अञ्चल प्रहरी कार्यालय जुम्लाका निमित्त प्रमुख रामप्रसाद घर्तीले बताए।
विगतमा पनि बेलाबेला विवादमा पर्ने गरेका एउटा मात्रै इन्जन भएका जहाजहरुलाई कार्गो मात्र बोकाउने निर्णय नभएका होइनन्।
तर विकट क्षेत्रमा जान चाहने यात्रुहरुको चापको फाइदा उठाउँदै चार्टरका रुपमा तिनले उडान भर्दै आएको बताइन्छ।
Source: BBC