Govinda Upadhyaya..
ऋषि वेदव्यासले लेखेको नेपाल !!
स्कन्द पुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो |
हिमवत्खण्डलाई “नेपाल महात्म्य” पनि भनिन्छ | किनभने एसमा नेपाल र नेपालको उत्पत्ति, नेपालका राजबंशहरू र यहाँका तीर्थस्थलहरू र तिनको उत्पत्तिका विषयहरू प्रकाश पारिएको छ |
हिमवत्खण्डमा १८९ अध्याय र १२५१२ श्लोकहरू छन् | बनारसबाट प्रकाशित गरिएको यो किताव काठमाडौँ उपत्यकाका विभिन्न हस्तलिखित प्रतिहरूबाट मिलान गरेर तयार पारिएको थियो | नेवारी, मैथिली, देवनागरी र तमिल लिपिमा यो पुस्तक उपलब्ध थियो |
नेपाल महात्म्यका हस्तलिखित प्राचीन पुस्तकहरू कि नेपालमा र कि भारतको तमिलनाडु राज्यमा मात्र प्राप्त भएको जानकारी मैले वेभसाइटहरूमा भेटें | यही नै एसको सत्य होला |
महर्षि वेदब्यासले लेखेको भनिएको यो हिमवत्खण्ड हामी नेपाली नेपालीका लागि अतिनै महत्वपूर्ण छ | किनभने एसले हाम्रो नेपालको प्राचीन इतिहासको वर्णन गर्छ |
यद्यपि केही आधुनिक विद्वानहरूले “हिमवत्खंड कुनै संस्कृतका विद्वानले लेखेर पछि स्कन्दपुराणको अंशका रूपमा गाभेको हो” भन्ने पनि गर्छन् | यो तत्थ्य सत्य होला नहोला तर हिमवत्खंड हामी नेपालीको इतिहास भन्ने कुरामा कुनै द्विमत छैन | साथै लेखकले हिमवत्खण्ड लेख्न कति परिश्रम गरेका थिए भन्ने कल्पना गर्दा पनि शरीर रोमान्चित हुन्छ |
आवत-जावतको आधुनिक ब्यबस्था नभएको प्राचीन नेपालका प्रत्येक कुनामा पुगेर “नेपालको”इतिहास लेख्ने व्यक्ति साच्चिकै ईश्वरीय अंश नै हुनुपर्छ | आधुनिक प्रविधि र सबैप्रकारका सुविधा बोकेर हिड्ने र तेसमा पनि आफ्नो अनुकुलको इतिहास लेख्न पछि नपर्ने “विकासे-इतिहासकार”ले यो मर्न बुझ्न सक्दैनन् |
झन् आजभोली त नेपाली राजनीति र राजनैतिक आस्थाका श्रद्धालुहरूमा “आफ्नै इतिहास, धर्म, संस्कृति तथा आदर्शहरूको अपकीर्ति गरेर विद्वान भनिने” होडबाजी चलिरहेको छ | नराम्रा परम्पराको विरोध गर्नु र तेसको सुधारका लागि क्रियाशीलता देखाउनु राम्रो कुरा हो तर आफ्नै इतिहासको खैरो खन्ने प्रभृत्ति राम्रो होइन |
आफ्नो इतिहासलाई गालीगलौज गरेर विदेशीको लागि साखे पल्टनेहरूको नेपाली समाजमा ठूलै भीड छ | आफ्नै इतिहासको निन्दा गर्दै आरम्भ भएको अहिलेको संविधान पनि यही श्रेणीमा पर्छ | अंग्रेजीमा लेखेका सबै कुरा असल र प्रमाणिक हुने भए सरकारले पोर्न-साइटहरू बन्द गर्ने आदेश दिनु पर्ने नै थिएन | सधैं आफ्ना र आफन्तलाई च्याप्न खप्पिस हाम्रो राजनीतिले इतिहास र संस्कृतिको मामिलामा विदेशीलाई किन च्यापेको होला !
विदेशी गोराहरूले लेखिदिएको सबै कुरा ठीक र स्वदेशी सन्त नरहरिनाथ योगीहरूजस्ताले नेपालका घरघर पुगेर खोजेर ल्याएको इतिहास वेठीक भन्ने सोच विकास गर्न हाम्रा विश्वविद्यलयहरूले टेवा पुर्याएका छन् | एस्तो विदेशी वैचारिक दासताबाट अवका नेपाली विद्वानहरू मुक्त हुनुपर्छ | इतिहास निर्मम हुन्छ | लेखकचाहिं तटस्थ हुनुपर्छ | हाम्रा इतिहासकारहरूले तोड्न नसकेको भ्रम नै “विदेशीहरू जान्ने र तटस्थ हुन्छन्” भनेर स्वत: विश्वास गर्नु हो |
हिमवत्खण्ड अर्थात् नेपाल महात्म्य पढेपछि हरेक नेपाली एक-आपसमा जोडिन्छ | हिमालदेखि तराईसम्मका मान्छेहरूमा नेपाल प्रकाशित हुन्छ | बौद्ध, जैन, बोन, पहाडी, हिमाली र मदेशीको द्विविधा समाप्त हुन्छ | एसको प्रमुख कारण चाहिं संस्कृत-भाषा हो | साथै हिमवत्खण्ड पनि आफ्नैमा मैथिली, नेवारी र देवनागरी लिपिबाट तयार भएको हुँदा असली नेपालको प्रतिनिधि ग्रन्थ हो | योगी नरहरिनाथ र उहाको नेतृत्वका विद्वानहरूले “हिमवत्खंड” प्रकाशनमा ल्याएर ठूलो गुण लाएका छन् | साच्चिकै भन्ने हो भने हामी सबै ऋषि-ऋणमा चुर्लुम्म डुवेका छौँ |
म के विश्वास दिलाउँन चाहन्छु भने वैदिक सनातन हिन्दू धर्म, बौद्ध, जैन र अन्य प्रकृतिपूजक नेपालीहरूले हिमवत्खण्डमा आफ्नो जरोकिलो अर्थात् पहिचान प्राप्त गर्ने छन् | शर्त एत्ति हो कि हाम्रो सोच विदेशी दासताबाट प्रभावित भएको हुनुहुँदैन | सरकारीस्तरबाट पनि हिमवत्खण्डजस्ता मौलिक ग्रन्थहरूको लागि केही प्रचारप्रसारका कार्यहरू हुनुपर्छ |
आज देखि केही क्षणहरू मैले हिमवत्खण्डको परिचय तपाईंहरूसंग साझा गर्न छुट्याउने छु |


