Best Online News From Nepal

उत्तरद्वारा २ मिसाइल प्रहार

फाल्गुन २८, २०७२- उत्तर कोरियाले दुइटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । पूर्वी तटबाट प्रहार गरिएको मिसाइल करिब ५ सय ५० किमिको दूरी पार गर्दै पानीमा खसेको हो ।

मिसाइल प्रक्षेपणलगत्तै प्योङयोङले सबै खाले कोरियाली सहकार्यका परियोजना खारेज भएको समेत घोषणा गरेको छ । साथै मुलुकमा रहेका सबै दक्षिण कोरियाली सम्पत्ति जफत गर्नेसमेत उल्लेख गरेको छ ।

उत्तरले पछिल्लो समय लामो दूरीको भूउपग्रह प्रक्षेपणका साथै चौथो आणविक परीक्षण गरेलगत्तै दक्षिणले संयुक्त औद्योगिक क्षेत्रबाट हात झिक्ने घोषणा गरेको थियो । उक्त कदमलाई उत्तरले ‘युद्धको घोषणा’ भन्ने संज्ञा दिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार आफ्ना वैज्ञानिकहरूले ब्यालिस्टिक मिसाइलमा जोडेर हान्न मिल्ने खालका साना आणविक हतियार विकास गरेको दाबी गरेका थिए । तर दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने त्यसमा शंका व्यक्त गरेको छ ।

यो शंका अर्थपूर्ण किन छ भने, वैज्ञानिकहरूले यस्तो प्रविधि विकास हुन वषौं लाग्ने अनुमान गरिरहेका बेला उत्तरले अनौठो हिसाबले दाबी गरेको हो ।

उत्तरले यस्तो दाबी गरिरहेकै बेला अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले किम जोङ उनतर्फ इंगित गर्दै भनेका छन्, ‘यी केटाले यस्ता गैरजिम्मेवार कुराहरूतिर लाग्न छाडेर आफ्ना नागरिकप्रति बढी ध्यान दिनु जरुरी छ ।’

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले वर्षौंदेखि लगाउँदै आएको प्रतिबन्ध उल्लंघन गर्दै हतियार परीक्षण गरेको हो । जवाफमा राष्ट्रसंघले नाकाबन्दी थप कडा तुल्याएको छ । त्यसकै आधारमा केही दिनअघि फिलिपिन्सले उत्तर कोरियाको एक मालवाहक जहाजसमेत कब्जामा लिएको थियो ।

यसैबीच, दक्षिण र अमेरिकाले सीमा क्षेत्रमा संयुक्त सैनिक अभ्यास थालेका छन् । दुई मित्र मुलुकबीच मिसाइल प्रतिरोधी प्रणाली (थाड) स्थापना गर्ने विषयमा छलफल पनि अगाडि बढेको छ ।

Source: ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *