Best Online News From Nepal

ईसा पनि हिन्दू नै थिए

डा. स्वामी प्रपन्नाचार्य ‘काले राई”

फिलिस्तिनबाट जुन धर्मले बाटो लिएर भारतखण्डमा पस्यो र जुन वेटिकनबाट समस्त विश्वको ८० करोड ईसाई धर्मावलम्बीलाई शासित गर्छ, त्यो धर्म–प्रवर्तक ईसामसीह पनि आर्यपुत्र नै रहेछन् भन्ने कतिपय तलतिरका प्रमाणबाट बुझ्नुहुनेछ, पाठक, वाचकवृन्दले। यो कुरा हामीले जबरजस्ती सिद्ध गर्न खोजेको होइन, अपितु ईसाका सम्बन्धमा शोधखोज गर्ने ती कतिपय पौरस्त्य र पाश्चात्य विद्वान््का अनगिन्ती प्रमाणले सिद्ध गरेको कुरा हामीले यहाँ राखेका छौँ। माथि देखाइएका धर्म सबै आर्य हिन्दू धर्मबाट फुटेर गएका हाँगाबिँगा मात्रै हुन्। ती धर्ममा वैदिक हिन्दू धर्मदेखि अलिपछि फुटेको हाँगा पार्सियन धर्म हो। त्यसपछि अरु धर्मको जन्म भएको हो। यसै प्रकारले भारतीय हिन्दू गणनाका अनुसार ईसाको जन्म विक्रमको पहिलो शताब्दीमा भएको मानिएको हो।

फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले ‘जिसस इन इण्डिया’ अर्थात् ‘ईसा भारत मे’ भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ।

ईसाभन्दा पहिलो मूसाले चलाएको यहुदी धर्म मानिन्थ्यो। त्यसलाई आज पनि ओल्ड टेस्टामेन्ट अर्थात् नयाँ धर्मशास्त्र भन्छन् तर ईसामसीहको बारेमा उनको १८ वर्षको जीवनीका सम्बन्धमा ईसाई पादरीसँग सोद्धा बोल्न सक्दैनन् कोनि किन हो यसमा सबैभन्दा पहिलो आफ्नो जीवनको अधिकांश भाग महात्मा ईसाको १८ वर्षको जीवन कहाँ बित्यो? त्यस सम्बन्धमा खोज गर्ने रुसी विद्वान् डा. निकोलस् नोटोविचको शोधप्रबन्धलाई अगाडि सार्न सजिलोसँग सकिन्छ। महात्मा ईसा पहिले एमडी साधु थिए। आजभन्दा दुई हजार वर्षपहिले युरोपको कुनै एक प्रान्तमा एमडी नाम गरेको ठाउँमा ‘एस्सेन’ पन्थका मान्छे रहन्थे। त्यहाँबाट हिँडेर भारतमा आइपुगी आफ्नो जीवनको १८ वर्ष भारत खण्डको जम्बूद्वीपमा बिताए। डा. नोटोविचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्ध लामाहरूको गुम्बा मन्दिरमा पुगी पत्ता लगाए। त्यहाँका लामाहरूले ताडपत्र, भोजपत्र आदिमा लेखिएको ईसाको जीवनचरित्रको सामग्री दिए। यति मात्र होइन अपितु स्वयं ईसाले लेखेको प्रकरण पनि त्यहीँ छ अरे। जसमा भारत भ्रमण गरेको १८ वर्षको यात्रा वर्णन आफैँ ईसाले गरेको छ। ‘हिमोस’ गुम्बामा यो बौद्ध मन्दिरको १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णनअनुसार ईसा सिन्धु प्रदेशबाट आर्यावर्त पुगीकन केही दिन बौद्ध भएर जगन्नाथपुरी पुगे। अनि ब्राह्मणहरूसँग सनातन वैदिक धर्मको दीक्षा लिएर वेदशास्त्रहरूको अध्ययन ईसाले गरेका थिए। राजगिरी, काशी आदि तीर्थ भ्रमण पनि साधुमहात्माहरूको सँगमा गरे। अनि बौद्ध बिहारमा ६ वर्षसम्म बसेर बौद्ध दीक्षा लिइसकेपछि नेपालको बाटो भएर तिब्बत गए। बौद्ध धर्मसँग मेल खाने अद्भूत समताले गर्दा स्मिथ, विन्टरनीज, इलियट तथा अनेक अरु पनि विद्वान्हरूले यो तथ्यलाई स्वीकार गरेका छन्। यस सम्बन्धमा साधु रामसुखदासको ‘महात्मा ईसा और उन के भारत में दीक्षा’ नामक पुस्तक पनि मनन गर्न योग्य छ। यो किताब काशीबाट प्रकाशित भएको छ। महेन्द्र कुल श्रेष्ठको ‘क्या ईसाका धर्म पहिले भारत में चला?’ अमृत प्र.. २५ डिसेम्बर १९७८को लेखमाला पनि अत्यन्त मनन गर्न योग्य छ। यो लेखमा यो कुरालाई यस रूपमा लेखकले दर्शाएका छन् कि ईसा फिलिस्तानमा सूलीमा मरेको होइन अपितु बाहना पारेर भारत पठाएको कुरा सिद्ध गरे।

डाक्टर जकालियटको ‘इण्डिया इन बाइबल’ ले त केही छोडेको छैन। सबै थोक वेद–शास्त्र–पुराण–गीता–महाभारत–रामायण आदिबाट ईसाको न्यू टेस्टामेन्ट बनेको हो भनेर सिद्ध गर्नुभएको छ। डा. जकालियटको एक विशेषता अरु पनि छ। त्यो यो हो कि अङ्ग्रेजीको प्रायः प्रत्येक शब्द संस्कृत शब्द र धातुहरूबाट बनेको मान्नुहुन्छ। त्यसै भएको हुनाले त्यतिखेरका प्रसिद्ध विद्वान्् मैक्समूलरले ‘यो लेखकले भारतीय ब्राह्मणहरूको जुठो खाएको छ’ भनी नहुँदो आक्षेप पनि लगाए। तर, मैक्समूलरको आक्षेप रिसको पाको भुइँमा उतार्नु मात्रै हो। यस्तै रीतिले डा. नोटोविचको ‘ईसाको अज्ञात जीवन’ भन्ने शोधप्रबन्धका बारेमा पनि मैक्समूलरले नोटोविचलाई पनि तिब्बतका लामाहरूले ठगे भनी ‘नाइन्टिथ सेन्चुरी’ पत्रमा लेखे। तर, त्यतिखेर डा. नोटोविच लण्डनमा थिए। ‘टाइम्स’ पत्रमा विश्वका समस्त पादरीहरूले खुबै खबर लिए। अनि मैक्समूलरको पनि संयुक्तिखण्डन गर्दा फेरि कुनैले पनि कलम उठाएनन्। त्यस्तै प्रकारले डा. जकालियटको भारतमा ‘बाइबिल’ ग्रन्थको पनि मैक्समूलरले आलोचना गर्ने प्रयत्न गरे तर सफल भएनन्। अनि यो ग्रन्थ मूल रोम भाषामा लेखिएको हो। यसको अंग्रेजी अनुवाद लण्डनबाट प्रकाशित छ। तर अंग्रेजी अनुवाद प्रामाणिक छैन। अनुवादकहरूले मिलेर लेखकको अभिप्रायः र प्रमाणिक खोजहरूलाई उडाई आफ्नो तर्फबाट मिलाएर प्रकाशित गरेका छन्। त्यसो हुँदा पन्जाब होसियारपुर निवासी विद्वान् मनस्वी लेखक श्री सन्तराम बी.ए.ले मूल रोम भाषामा लेखेको एक प्रति वीर सावरकरबाट प्राप्त गरेर हिन्दी अनुवाद गरी ‘भारत में बाइबल’ नाम राखी लखनौ नवलकिशोर छापाखानाबाट प्रकाशित गरेको छ। यो मूलको जस्ताको तस्तै प्रामाणिक अनुवाद छ। कलमीलाई रोम, अंग्रेजी र हिन्दी तीनैलाई आँखा मिलाउने सौभाग्य मिल्यो। पी.एन्. ओकको ‘क्रिश्चियनिटी इज कृष्णनीति’ ग्रन्थ पनि पढ्न योग्य छ। सप्रमाण सिद्ध गर्नुभएको छ कि उनीहरूको मान्य धर्मग्रन्थ तौरेत ‘अञ्जील’, ‘बाइबल’ आदिमा पाइने र उनीहरूको मूसाई, रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, थियासफी आदि सम्प्रदायहरूमा पाइने धेरै जस्तो के खर्लप्प भने पनि हुन्छ हिन्दू आर्यहरूबाटै गएको सप्रमाण सिद्ध गर्नुभएको छ। पण्डित रघुनन्दन शर्मा साहित्यभूषणले पनि ‘वैदिक सम्पत्ति’ को २६३ पृष्ठमा भारतमा आएर ईसाले काशी र विहार आदिमा विद्याध्ययन गरेर तिब्बत जाने कुरा लेखेको छ।

बङ्गविच्छेद आन्दोलनकारी श्री बाबा सावरकरले ‘खि्रस्त परिचय’ ग्रन्थमा यो सिद्ध गर्नुभयो कि हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो। बाबा सावरकरको युक्तिलाई हटाउन कुनै पादरीले सकेनन् र अन्तमा उपेक्षाभावमा रहन थाले। मेजर विल्फोर्डको पनि यस सम्बन्धमा गतिलो सोधखोज छ। डा. बुकानिनले पनि आफ्नो विचार ईसाको सम्बन्धमा प्रस्तुत गरेको देखिन्छ। फिलस्मिथको ध्यान पनि ईसाको १८ वर्षको जीवन कहाँ बित्यो होला भन्ने चर्चामा जाँदा उसै ठाउँमा पुग्यो। फ्रान्सिसी यात्री क्वेक्वनियरले पनि ईसाको १८ वर्षको सोधखोज गरेर राम्ररी टुंगो लगाएको छ। भारतमा पादरी भएर बस्ने पादरी गोपालाचार्यले पनि राम्ररी निधिखुदी गरी सावरकरसँग मेल गर्न पुगेका छन्। हिन्दू परिवारमा ईसाले जन्म लिने सम्बन्धमा यस प्रकारले धेरै आधुनिक पाश्चात्य–पौरस्त्य विद्वान्हरूको एकै मतो देखिन्छ। यहाँ उनीहरूका वाक्य प्रमाण उद्धृत गर्दा ग्रन्थ स्वतन्त्र हुन जाने हुनाले कतिपय लेखक र कतिपय शोधग्रन्थहरूको नाम निर्देश मात्रै गरिएको छ। ईसा हिन्दू हो भन्नुमा कतिपय प्रमाण यी पनि छन्–फ्लोरेन्समा ईसाकी आमा मेरियमको मूर्ति राखिएको छ। ‘मेक्समिलन’ गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ। मूर्ति निश्चित नै मेरियमकै हो। तर ती ईसाकी आमा मेरियमको मूर्ति दुवै गिर्जा घरमा हिन्दू रानी महारानीजस्ती साडी, गुन्यू लगाएको छ। अनि मस्तकमा हिन्दूहरूले लाउने कुमकुमको टीका लगाएको छ। त्यस्तै प्रकारले ईसाको पनि ठाउँठाउँमा चित्र तथा मूर्तिहरू राखिएका छन्। म्युनिकको चित्र घरमा टाँगिएको चित्रमा पनि ईसा सन्न्यासी महात्माको वेशमा छ। अनि मस्तकमा तिलक पनि लगाएको छ। फ्लोरेन्सको मूर्तिमा ईसाले यज्ञोपवीत जनै धारण गरेको छ। यस सम्बन्धका गंगाशंकर एम.ए.ो ‘भक्ति भी विदेशियों के देन’ भक्ति अंक कल्याण गोरखपुरबाट प्रकाशित र डा. नोटोविच र माथि लेखिएका सबै विद्वान्हरूका ग्रन्थ मनन गर्न योग्य छन्। ईसाको एउटा चित्र रोमको पोप धर्मगुरुको वैटिकन राजमहलमा पनि छ। त्यस चित्रमा ईसाको मस्तकमा टुप्पी र धोती लगाएको साधु वेशमा छ।

अब कतिपयले भन्छन् कि ईसा भारतमा आउँदै आएनन्। अनि उनलाई फिलिस्तिनमा नै सुली चढाएर मारिदिए। त्यसमा पनि हामीले मनपरी लेख्ने काम गर्दैनौँ। विद्वान्हरूले जहाँजहाँ सोधखोज, रिर्सच गरेर प्रकाशित गरे, तीनै प्रमाणहरूलाई जस्ताको तस्तै राख्ने प्रयत्न गर्दैछौँ। यसमा माथिका विद्वान्हरूले त भारतमा आएका हुन् भन्ने कुरा सिद्ध गरेकै छन्। तर मौंलानाका मुहमद अलीले कुरानको अंगे्रजी अनुवादको भूमिकामा लेखेको छ कि सूलीमा चढाईकन बचाएर भारतमा आएपछि काश्मीरमा योग समाधिमा शरीर छुटेको हो। फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले ‘जिसस इन इण्डिया’ अर्थात् ‘ईसा भारत मे’ भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ। काश्मीरको साधारण जनजीवनमा पनि थाहा छ कि यो ईसाको समाधि हो। यति मात्रै होइन उनको धर्म पनि युरोपमा प्रचार हुनुभन्दा पहिले दक्षिण भारतमा प्रचार भएको हो। यो कुरा त ईसाईहरूलाई पनि मान्य नै छ। महात्मा ईसा दुईफेर भारतमा आएको प्रमाण पाइन्छ। यो कुरालाई प्रसिद्ध चित्रकार निकोलस रोरिकले पनि सन् १९२९ मा प्रकाशित ‘आर्ट अफ रसिया’ भन्ने पुस्तकमा काश्मीर, लद्दाख, भारत आदि ईसाले घुमेको चर्चा गरेको छ। कति भाषा वैज्ञानिकहरूले काश्मीरी, गुर्ज्जर र हिब्रू भाषाको साम्यबाट पनि ईसा काश्मीरमा बसी समाधि अवस्थामा प्राण छोडेको सिद्ध हुन्छ भनेका छन्। हिब्रू, हिन्दू आर्यहरूकै पुरानो हाँगा हो। ईसाई पादरीहरूलाई ईसाको पढाइ, लेखाइ, शिक्षा, दीक्षासम्बन्धी १८ वर्षसम्मको उत्तर नपाएर लाटिएर बस्नु या उपेक्षा गर्नु नै साह्रै गाह्रो कुरा छ। त्यति वर्षसम्म ईसा कहाँ थिए? त्यसका सम्बन्धमा एक अरु झोंकी रिर्सच गर्ने विद्वान्को कुरालाई पनि मनन् गर्नुहोस्। डाक्टर स्पेंसरले १९२९ मा ‘मिस्ट्रीकल लाइफ अफ जिसस’ नामक पुस्तक प्रकाशित गरे। त्यो पुस्तकमा उनले लेखे कि ईसा फिलिस्तिनमा सूलीमा मरेनन्। ईसा त आफ्नो आयु ६०–७० वर्ष पूरा गरेर स्वर्गवासी भए। उसै पुस्तकको पृ. २८९ मा लेखे कि ईसा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्न्यासी भएर काशी, जगन्नाथ, विहार नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्दै थिए। यसै प्रकारले मृत्युको बारेमा पनि मुसलमानहरूको धार्मिक ग्रन्थ कुरानमा ‘सुरतें निशा पारा’ भन्ने प्रकरणमा ६–१५७ सूलीमा ईसा मरेनन् र अरु ठाउँमा भागेर गए भन्ने कुरा लेखिएको पाइन्छ। जेहोस्, विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी हिन्दू नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ। अनि जीवनको महŒवपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए? यस प्रश्नको उत्तर ईसाई पादरीहरूसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ। अवश्य नै नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा जन्मेका गौतम बुद्धको धार्मिक उपदेश पाउने बुद्धका शिष्यहरूसँग शिक्षा पाउन विहारमा आए होला र नेपालको सन्देह गर्ने चाँजो देखिन्नँ। त्यतिखेर विश्वविख्यात बौद्ध धर्मको केन्द्र अनि विश्वविद्यालय पनि विहारमा थिए। अनि त्यतिखेर इरान, अरब मिश्र, ग्रिक, जापान आदिबाट विद्याआर्जनका लागि विहार विश्वविद्यालयमा छात्रहरू आउँथे। त्यसो हुँदा ईसाले पनि भारतमा नआउने कुनै कारण देखिँदैन। निश्चितै आए होला र त बौद्ध धर्मको प्रस्ट छाप पाइन्छ। जेहोस् मूसा आदि निश्चितै आर्य सन्तान हुन्। धेरै पूर्वकालमा छरपस्टिएका हुन्।

ईसाले कुम्भकर्ण, गौरीशंकर, माउन्टेन एवरेस्ट दर्शन तिब्बत जाँदा अवश्य नै गरे होला। नेपालको बाटो जाँदा लुम्बिनी कपिलवस्तु आदि हुँदै तिब्बतको छेउमा पर्ने नेपालको शिरमुकुट कुम्भकर्णसँग ईसाको साक्षात्कार हुनु स्वाभाविकै हो। बौद्ध धर्मसँग प्रभावित ईसाले कोशीमा गीता पढेर सारनाथ कपिलवस्तु लुम्बिनी आदि बुद्धतीर्थहरूमा जानु केही आश्चर्यको कुरा होइन। हुनसक्छ कि माथि लेखिएका विद्वान्हरूका परिश्रम र सोधखोजहरूलाई झूटो पार्ने कोसिस पनि गर्न सक्छन्। डा. नोटोविचको थिसिसलाई समेत पोलेर फ्याँक्ने सुझाव मात्रै होइन कहिले पनि ननिकाल्ने आदेश–शक्ति पनि पादरीहरूमा छ। त्यसो हुँदा जे भए पनि ईसा हिन्दू नै ठहरिन्छन् किनकि माथिको सबै प्रमाण झूटो हुन सक्दैन।

हूणदेशस्य मध्ये वै गिरिस्थं पुरुषं शुभम्।

ददर्श बलवान् राजा गौराङ्गं श्वेतवस्त्रकम।।२।।

को भवानिति तं प्राह सहोवाच मुदान्वित।

ईसापुत्रञ्च मां विद्धि कुमारीगर्भसम्भवम्।।२३।।

(भवि. पु.प्रसर्ग सं. ३ अ. २)

यो पौराणिक प्रमाण पनि भारतमा मात्रै होइन शक राजाका देशमा पनि ईसाले घुमेको ठहरिन्छ।

(वेदका ज्ञाता मानिएका डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा ०७२ भदौ ३ गते बितेका थिए। पूर्वीय दर्शन र हिन्दू धर्मसम्बन्धी दर्जनभन्दा बढी पुस्तक लेखेका प्रपन्नाचार्यको ‘वेदमा के छ?’ पुस्तक निकै चर्चित छ। उनको स्मृति दिवसका अवसरमा हामीले ‘वेदमा के छ?’ पुस्तकबाट यो अंश साभार गरेका हौँ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *