इराकको राजधानी बग्दादमा रहेको बेलायती राजदूतावासमा आठ वर्षसम्म सुरक्षा गार्डका रुपमा काम गरेर फर्केका गरामनी–९ शैनिकका अनुत सुब्बा यतिबेला इभा थुक्पा उद्योग सञ्चालन गरे बसेका छन् । विदेशमा गरिने पौरख नेपालमा गरे यही पनि मनग्य आम्दानी लिन सकिन्छ भनेर उनले आफ्नै घरमा थुक्पा उद्योग सञ्चालनमा ल्याएका छन् ।
भारतीय सेनाको जागिरबाट २०६२ सालमा अवकास पाएपछि २०६३ सालमा उनी इराक पुगे । इराकमा गरेको दुःख सम्झिएर अहिले उनले आफैँ घरमा लघु उद्योगअन्तर्गत थुक्पा उद्योग सञ्चालन गरेका छन् । दुई वर्षअघि रु तीन लाखबाट सुरु गरेको उनको थुक्पा उद्योगमा अहिले छ जनाले दैनिक रोजगार पाइरहेका छन् । “मैले यही उद्योगबाट अहिले मासिक झन्डै रु एक लाख ५० हजारसम्म बचत गर्ने गरेको छु” उनले भने ।
रोजगारीको खोजीमा दैनिक धेरै नेपाली विदेसिने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले श्रम र सीप बिना विदेश जानु भनेको ब्रेक फेल भएको सवारी चलाएसरह हुने भन्दै काम सिकेर यही केही व्यवसाय गरे विदेशमा भन्दा राम्रो कमाइ हुने बताए । उनले आफ्नै उद्योगको उदाहरण दिँदै भने– “मलाई पनि यो उद्योगमा थप काम गर्ने मान्छे चाहिएको छ, यहाँका युवा पिठो मुस्न चाहँदैनन् यिनै युवा विदेशमा पुगेर शौचालय सफा गर्छन् त्यहाँ दिने पैसा म यही दिन्छुभन्दा पनि काम गर्ने मान्छे पाइँदैनन् ।”
आफ्नो उद्योगबाट अहिले दैनिक तीन क्विन्टलभन्दा बढी थुक्पा उत्पादन गर्ने गरेको उनको भनाइ छ । “सुरुमा त उद्योग नचल्ला की भनेर चिन्ता थियो तर अहिले मागअनुसारको उत्पादन पु¥याउन मुस्किल छ” उनले भने । झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ आफूले उत्पादन गरेको थुक्पाको मुख्य बजार रहेको बताउँँदै सुब्बाले भने–“थुक्पा उत्पादन खर्च र मजदुरलाई पारिश्रमिक कटाएर दैनिक रु पाँच हजारको हाराहारीमा आफूलाई नाफा हुन्छ ।” इराकमा गरेको दुःख सम्झेर उद्योग खोलेको उनको भनाइ छ ।
Source: BusinessSansar