Best Online News From Nepal

आविष्कारको दौडमा राम–लक्ष्मण

 

मिडियामा पटकपटक अदभूत क्षमता भएका जुम्लयाहा वैज्ञानिक राम–लक्ष्मणका समाचार धेरै पढेका थियौं । मनमा धेरै कौतुहलता थियो, यतिका आविष्कार नेपालीले अनि नेपालमै बसेर कसरी गर्न सके होलान् ! अन्तर्वार्ताका लागि थुप्रै जिज्ञासाका साथ उनीहरुकै अफिस लाजिम्पाटमा पुग्यौं । जब गेटमा पुग्यौं, रामले रिमोट तेस्र्याए, गेट आफै खुल्यो । अनि पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएका मात्र के थिए, ढोका खुल्यो, कोठाको बत्ती पनि आफै बल्यो ।

रिसेप्सन रुमकै भित्तामा भूकम्प सूचक यन्त्र पनि रहेको छ । जब रामले आफ्नो (डाइरेक्टर)को रुम लगे, त्यो डाइरेक्टरको नभई टेक्निसियनहरुको रुम जस्तो देखिन्थ्यो । अझ डाइरेक्टरले प्रयोग गर्ने टेबलभर सामान र तारहरु छिरल्लिएका थिए । कफीकोे चुस्कीसँगै हामी गफिन थाल्यौं । सुरुमै रामले भने, ‘तपाईंले गेटमा आएपछि जेजति अटोमेटिक सिष्टमहरु देख्नुभयो, ती हामीले नै बनाएका थियौं ।’ उनको बोलीमा गर्वसँगै केही निराशा महसुस गर्न सकिन्थ्यो । अनि थपे, ‘नेपालैभरि यस्ता प्रविधि विस्तार गर्ने ध्याउन्नमा छौं । तर, राज्यले बेलाबेला बाटो छेक्न खोज्छ ।’

नुवाकोट मदनपोखरी गाविसमा २०३७ सालमा जन्मिएका हुन् राम–लक्ष्मण । राम जन्मिएको आधा घन्टापछि लक्ष्मण जन्मिए । काठमाडौंबाट नजिकैको जिल्ला भए पनि उनीहरुको बाल्यकाल पूर्ण गाउँले शैलीमै बित्यो । जुम्लयाहा दाजुभाइको बाल्यकाल निकै रोचक छ । गाउँकै विद्यालयबाट एसएलसी सके । एसएलसी सक्दासम्म उनीहरुले जोडी किताब कहिल्यै पढ्न पाएनन् । एउटाले पढ्थे, अर्काले सुन्थे । २०४२ सालमै नुवाकोटमा बिजुली आएकाले उनीहरुले खासै अँध्यारो देख्नु भने परेन । कक्षा ८ मा पढ्दा नै उनीहरुले उत्तोलकको सिद्धान्त प्रयोग गरेर घरमा बिजुली अफ र अन गर्ने अटोमेटिक सिष्टम बनाइदिए । कक्षा ९ मा टाइपराइटर बनाए ।

विज्ञान र गणितका फर्मुला उनीहरुले घोक्थेनन् बरु बनाउँथे अनि त्यसको प्राक्टिकल गर्थे । एसएलसीमा दोस्रो डिभिजन आयो दुवैको । अनि विज्ञानमै दुवैको कम अंक आयो । त्यसपछि आइकम पढे । मन त थियो साइन्स नै पढ्ने । तर, धेरै पैसा लाग्ने भएकाले मन मोडे । एसएलसीपछि उनीहरु केही वर्ष काठमाडौंमा सित्तैमा बसे । ’टंगालमा साहित्यकार बद्रीनाथ भट्टराईको घर थियो । बिहानबेलुका घरको काममा सहयोग गर्ने सर्तमा बस्यौं’, रामले भने, ’तर घरमा धेरै नै पाहुना आइराख्ने । सधैं ढोका खोल्ने काम हाम्रो हुन्थ्यो । अनि हामीले पाहुनाले बाहिरबाट घन्टी बजाउने र भित्रबाट स्विचले ढोका खोल्ने सिष्टम बनाइदियौं ।’

आइकम ठमेलको सरस्वती बहुमुखी क्याम्पस र बिबिएस मिनभवनको नेपाल कमर्स क्याम्पसमा पढेका उनीहरुले विभिन्न विश्वविद्यालयमार्फत् इलेक्ट्रोनिक्स, मेकानिकल, कम्प्युटर हार्डवेयर एवं सफ्टवेयरलगायतमा अनलाइन कोर्श गरेका छन् ।

हाल यी दाजुभाइको पूरै समय प्रविधिको विकास र आविष्कारमै बितिरहेको छ । अनि उनीहरुलाई सघाइरहेका छन् भाइहरु भरत र बैकुण्ठले । लाजिम्पाटस्थित आफ्नै निवासको भुइँतलामा टेक्नोलोजी सेल्स प्रालि नामक कार्यालय सञ्चालन गरी यस्तै वैज्ञानिक उपकरण निर्माणमा होमिएका यी दाजुभाइको कथा आम युवाका लागि रोचक र प्रेरणादायी बन्न सक्छ ।

सुरुको आविष्कार स्वचालित मोटर अपरेटर
अब उनीहरुको आविष्कारको कुरा गरौं । सन् २००५ तिरको हो । हुन त यसअघि पनि स्कुल पढ्ने बेलै थुप्रै अटोमेसनका काम उनीहरुले गरिसकेका थिए । ‘तर, व्यवसायिक जीवनलाई मोड्ने गरी आफ्नै आविष्कारचाहिँ ’स्वचालित मोटर अपरेटर’ हो, जसले हामीलाई यो ठूलोे सपनाको शहरमा छुट्टै परिचय दियो,’ लक्ष्मणले भने । जतिबेला उनीहरू आर्थिक हिसाबले सबल थिएनन्, केही गर्ने जोश आँखामा टल्किएको सपना मात्रै थियो, त्यहीबेला यो मेसिनको निर्माण गरेका थिए उनीहरूले । यो मेसिनको जन्मकथा बेग्लै खालको छ ।

साहित्यकार अधिकारीको घरको बस्दा घरबेटी भट्टराइले ’ट्यांकीमा पानी भर्ने र पानी भरिएपछि बन्द गराउने’ जिम्मा यी दाजुभाइलाई दिएका थिए । उनीहरू पटकपटक एउटै काम गर्दा दिक्क मान्थे । ‘सधैं मोटर अन र अफ गर्न तलमाथि गरिरहनुपर्ने झन्झटबाट मुक्ति चाहन्थ्यौं । त्यही चाहनाको कारण जन्मिएमको हो स्वचालित मोटर अपरेटर’ लक्ष्मणले सुनाए । त्यसपछि उनीहरू राति मस्त निदाउन सक्ने भए र उता ट्यांकीमा पानी आफै भरिन थाल्यो भने बिजुलीको खपत पनि कम भयो । लक्ष्मण भन्छन् ‘यसको प्रयोगले जुनसुकै बेला धारामा पानी आए पनि अपरेटरले पानी तान्ने मोटर अन गरिदिन्छ र पानी बन्द भए वा ट्यांकी भरिएमा अफ गरिदिन्छ ।’

from-Livingwithict.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *