शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलका अनुसार अनिवार्य नेपालीमा एक सय सात जना आवश्यकता भएपनि ११ हजार तीन सय २८ जनाले आवेदन दिएको उनले बताए । यो बिषयमा पूर्वाञ्चलमा १७ जना आवश्यकता भएकोमा एक हजार आठ सय ८१, मध्यमाञ्चलमा २५ जना माग भएकोमा दुई हजार नौ सय १९, पश्चिमाञ्चलमा ३५ जना चाहिनो तीन हजार चार सय पाँच, मध्यपश्चिममा १४ जना माग भएकोमा एक हजार पाँच सय ८० र सुदुरपश्चिमाञ्चलमा १६ जनाले माग भएकोमा एक हजार पाच सय ४३ जनाले आवेदन दिएका छन् ।
स्थायी अध्यापन अनुमति पत्र लिएका व्यक्तिले मात्रै स्थायी शिक्षकको परीक्षामा सहभागि हुन पाउँछन् । पौडेलका अनुसार आयोगबाट करिब ७ लाख जनाले लाइसेन्स लिएका छन् । ‘यसमध्ये पचास प्रतिशत प्रावि तहमा अध्यापन अनुमति पत्र लिएका छन,’पौडेलले भने । माविको स्थायी शिक्षक हुन स्नातक तह उतिर्ण गरेर लाइसेन्स लिएको हुनुपर्छ । आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, कम्प्यूटर विज्ञान, शिक्षा, संस्कृत भाषा, संस्कृत साहित्य, बेद, कृषि शिक्षा बिषयको लागि ६ सय ११ जना शिक्षकको विज्ञापन गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।