Best Online News From Nepal

आयोजना पहिचान भएको २७ वर्षपछि डीपीआर सम्झौता, ३० महिनाको अल्टिमेटम

मध्यपश्चिमको विकास र समृद्धिसँग जोडिएको खगेनकोटस्थित नलसिंहगाड जलविद्युत् आयोजनाको डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माणका लागि परामर्शदाता कम्पनीसँग सम्झौता भएको छ । आयोजना पहिचान भएको २७ वर्षपछि डीपीआरका लागि सम्झौता भएको हो । आयोजना र परामर्शदाता कम्पनीहरू अस्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्ट्रक्सन प्रालि जेभीबीच आर्थिक तथा प्राविधिक उत्कृष्टताका आधारमा ९४ करोड ८ लाख रुपैयाँको सम्झौता भएको आयोजना विकास समितिले जनाएको छ । समितिका अनुसार परामर्शदाता कम्पनीले सम्झौता गरेको मितिले ३० महिनाभित्र आयोजनाको डीपीआर निर्माण गरिसक्नु पर्नेछ । परामर्शदाता कम्पनीले निर्माण गर्ने डीपीआरमा आयोजना निर्माण गर्नका लागि आर्थिक तथा प्राविधिक डिजाइन इस्टिमेट निर्माण हुनेछ । डीपीआर निर्माणपछि आयोजनाको निर्माण कार्यका लागि फाइनाइन्समा जान सहज हुनेछ ।

आयोजनाको पावर हाउसदेखि जलाशय स्थलसम्म १०.८ किलोमिटर पहुँच मार्ग निर्माणाधीन अवस्थामा छ । आयोजनाका लागि खगेनकोटको दल्लीमा दुइटा भवनको निर्माण कार्य भइरहेको छ । हालसम्म आयोजनाले ५ किलोमिटर दल्लीदेखि सर्ज ट्यांकसम्मको पहुँच सडकको ट्रयाक खोलिसकेको छ भने ५ सय ३१ रोपनी जग्गा अधिग्रहण पनि गरिसकेको छ ।

४ सय १० मेगावाट क्षमताको जलाशययुक्त नलसिंहगाड जलविद्युत् आयोजनाको निर्माण अबको ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाले हाल गेजिङ स्टेसन स्थापना गरी हाइड्रो मेट्रो लोकल प्रविधि जडान गरेर नलसिंह गाडको दैनिक हावापानीको बहाव तथा मौसम र जलवायु परिवर्तनको अवस्थालाई अध्ययन गरिरहेको छ । त्यस्तै दैनिक वातावरणीय परीक्षणका लागि स्तरीय उपकरण प्रयोग गरिरहेको र आवश्यकताअनुसार अन्य उपकरण जडान गरेर भूगर्भ मापन तथा भूकम्पको दैनिक अध्ययनसमेत गरिने आयोजनाले जनाएको छ ।
आयोजनाको निर्माणका लागि आवश्यक विद्युत् आपूर्ति गर्न ३.५ मेगावाट क्षमताको साना जलविद्युत् आयोजना निर्माणका लागि रग्दा गाविसको ताँसुगाडको विस्तृत अध्ययन कार्य सम्पन्न भइसकेको छ । यो परियोजनाको निर्माण कार्य तत्काल अगाडि बढाइने विकास समितिले जानकारी दिएको छ ।

पूर्व अनुमानित प्रतिवेदनअनुसार आयोजनाको कुल लागत ६४ अर्ब १५ करोड रुपैयाँ छ । आयोजनाबाट ५ सय ८८ घरपरिवार प्रभावित हुनेछन् भने ३ सय १४ हेक्टर कृषियोग्य जमिन र २ सय ९० हेक्टर वनजन्य जमिनको क्षति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *