Best Online News From Nepal

आयात बढ्दो, निर्यात सुध्रिएन

चालु आर्थिक वर्षमा नेपालमा नाकाबन्दी खुलेपछि आयात बढेको देखिए पनि निर्यातमा सुधार हुन सकेको छैन । आयात गत वर्षको नजिक पुगेको छ भने निर्यात अन्तर धेरै छ । दैनिक झन्डै २ अर्ब ६० करोड रुपैयाँको हुन थालेको छ । निर्यात भने २० करोड रुपैयाँ मात्र छ । नेपालको आयात र निर्यातबीचको अनुपात ८.८ गुणाबाट बढेर १०.९ गुणा पुगेको छ । यो अवधिमा निर्यात ह्वात्तै घटेको छ भने आयात न्यून परिमाणमा मात्रै घटेको छ । निर्यात २२.३७ प्रतिशत र आयात ३.९ प्रतिशतले घटेको देखिन्छ ।

समग्र वैदेशिक व्यापार ५.७८ प्रतिशतले घटेको छ । निकासीभन्दा आयात अत्यधिक बढेपछि चालू आर्थिक वर्षको १० महिनासम्म व्यापारघाटा बढेर साढे ५ खर्ब रुपैयाँ भएको छ । भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको व्यापारघाटा ५ खर्ब ४४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षभन्दा १.५४ प्रतिशत कम हो । गत वर्षको १० महिनामा व्यापारघाटा ५ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ थियो । आव २०६९/७० मा ५ खर्ब २३ अर्ब, २०७०/७१ मा ६ खर्ब ३१ अर्ब र २०७१/७२ मा ६ खर्ब ९७ अर्ब रुपैयाँ व्यापारघाटा भएको तथ्यांक छ । चालू आवमा ५ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँको आयात भएको थियो । निर्यात ७० अर्ब ७६ करोडबाट घटेर ५४ अर्ब ५३ करोडमा झरेको छ । कुल व्यापार ६ खर्ब ९४ अर्ब ४५ करोडबाट घटेर ६ खर्ब ५४ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ । खाद्यान्नदेखि विलाशी वस्तुसम्म आयात गर्नुपर्ने अवस्था छ ।

स्वदेश मै उत्पादन भइरहेका कृषिजन्य वस्तु पनि आयात 
स्वदेशमै उत्पादन हुने कृषिजन्य वस्तुको पनि पछिल्लो समय आयात बढ्न थालेको छ । झन्डै ५ महिनासम्म नाकाबन्दीले भारतसँग तथा भारत ट्रान्जिट हुँदै आउने व्यापारमा कमी आउँदा आयात र निर्यात दुवै घटेको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा निरन्तर गिरावट आएकाले पनि आयात घटेको हो । झन्डै ४० प्रतिशत पेट्रोलियम पदार्थको आयात घटेको छ । १ खर्ब ४ अर्बबाट घटेर ६२ अर्ब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । सवारी साधन तथा तिनका पार्टपुर्जाको आयात भने बढेको छ । यसको आयात ३९ अर्ब ७३ करोडबाट बढेर ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

वैशाखमा मात्रै ५ अर्बको खाद्यान्न आयात
वैशाख महिनामा मात्र ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको खाद्यान्न  आयात भएको छ । चालू आवको १० महिनासम्म खाद्यान्न आयात ३१ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा २८ अर्बको खाद्यान्न आयात भएको थियो । प्राप्त जानारी अनुसार सबैभन्दा बढी १९ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको छ । मकै ७ अर्ब, गहुँ ४ अर्ब रुपैयाँको आयात भएको छ । अन्य कृषिजन्य वस्तु पनि १ खर्ब १८ अर्ब रुपैयाँ आयात भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ९ अर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *