Best Online News From Nepal

आफ्नै पौरखमा विश्वास गर्ने बागलुङका जनता : यसरी बने उर्जामा आत्मनिर्भर

बागलुङ जिल्लाको दुदिलाभाटी गाविसमा मात्रै छ वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग र स्थानीय उपभोक्ताको समेत लगानीमा बागलुङलाई उज्यालोयुक्त जिल्ला बनाउने लक्ष्य पूरा गर्न ती आयोजनाहरू सञ्चालनमा आएका हुन् । जिल्ला विकास समिति, जिविस माताहातकै ऊर्जा तथा वातावरण शाखा र गाविससमेतको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण भई सञ्चालनमा आएका हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रतिआयोजनाका लागि ७० प्रतिशत आर्थिक लगानी गर्ने गरेको हो । बाँकी आयोजना जिविस, गाविस र स्थानीयको आर्थिक लगानी तथा श्रमदानबाट बनाइएको बताइएको छ ।

स्थानीय गौंदीखोला, चिप्लेदीखोला र काउले खोलाको स्रोत प्रयोग गरी आयोजना निर्माण गरिएको अध्यक्ष थापाले बताए । ६ वटै आयोजनाबाट हिउँदमा १०४ र बर्खायाममा १६० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरिएको छ । गाविसभरका करिब ९०० घरधुरीमा ती आयोजनाबाट निस्केको विद्युत् पुगेको छ । वडा नं २ का ८० घरधुरीले मात्रै केन्द्रीय प्रसारणको विद्युत् उपभोग गर्दै आएका छन् । सञ्चालित आयोजनामध्ये गौंदीखोला प्रथम लघुजलविद्युत् आयोजनाबाट २४, गौंदीखोला द्वितीयबाट १८, गौंदीखोला तृतीयबाट २१ र गौंदीखोला चौथोबाट १५ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै चिप्लेदीखोला लघुजलविद्युत् आयोजनाबाट १७ र काउले खोलाबाट नौ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । सोही स्थानमा तीन किलोवाट क्षमताको पेल्ट्रिक सेट पनि सञ्चालित छ ।

ग्रामीण भेगमा विद्युत् सेवा विस्तार गर्न सरकारले अनुदान दिएपछि स्थानीय आयोजना बनाउन कस्सिएका थिए । आयोजना बनेपछि दुदिलाभाटीका सबै घरधुरीमा उज्यालो पुगेको छ । केन्द्रीय प्रसारणको विद्युत् भएका ठाउँमा दैनिक विद्युत्भार कटौती हुने गरे पनि यस क्षेत्रमा २४ सै घण्टा विद्युत् सेवा सञ्चालनमा छ । लघुजलविद्युत् आयोजना बनेपछि हामीलाई कहिल्यै अँध्यारोमा बस्नु परेको छैन, जुनसुकै बेला पनि विद्युत् सेवा लिन पाएका छौँ, गौंदीखोला दोस्रो आयोजनाका पूर्वप्रबन्धक जीवन भण्डारीले भने । आयोजनाले उपभोक्ताबाट महसुल पनि उठाउने गरेका छन् । महसुलको रकम प्राविधिक तथा अन्य कर्मचारीको तलबमा खर्च हुने आयोजना व्यवस्थापनले जनाएको छ ।

बेलाबखत आइपर्ने प्राविधिक समस्या सुल्झाउन र मर्मतसम्भारका लागि भने बजेट अभाव हुने गरेको छ । छ वटै आयोजनालाई एउटै मिनी ग्रिड परियोजना बनाएर सञ्चालन गर्ने विषयमा पनि छलफल चलेको छ । छरिएका आयोजनालाई एकै ठाउँमा गाभेर मिनी ग्रिड बनाउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सम्भाव्यता अध्ययनको काम गरेको थियो । त्यस्तै दुई साताअघि मात्रै केन्द्रका प्राविधिकसहितको टोलीले स्थलगत सर्वे पनि गरिसकेको जनाएको छ । मिनी ग्रिड बनेपछि केन्द्रीय प्रसारणमा जोड्न सकिने छ । गाउँमा खपत भएर बाँकी रहेको विद्युत् सोही प्रणालीबाट सरकारलाई बेच्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *