स्लोभेनियाले आप्रवासीहरु ग्रीसबाट पश्चिम युरोप प्रवेश गर्ने बाल्कनको बाटो बन्द गर्नको निम्ति आफ्ना सीमाहरुमा नयाँ प्रतिवन्धहरु लगाइदिएको छ।
स्लोभेनिया सरकारले भनेको छ स्थानीय समय अनुसार मध्यराति देखि प्रतिवन्ध लागू गरिएको छ।
उसले अब स्लोभेनियामा शरण खोज्ने वा स्पष्ट मानवीय सहायता आवश्यक भएकाहरुलाई मात्र आफ्नो देश प्रवेश गर्न दिन सक्ने बताएको छ।
लगत्तै स्लोभेनियाको छिमेकी सर्बियाले पनि आफ्ना सीमाहरु आप्रवासीहरुका निम्ति बन्द गरिदिने बताएको छ।
इयुको एक सदस्य राष्ट्र स्लोभेनियाको भूभाग हुँदै आप्रवासीहरु जर्मनी र अन्य युरोपेली राष्ट्रहरु जाने गर्दथे।
‘पूरै बन्द’
स्लोभेनियाका प्रधानमन्त्री मिरो सेरारको भनाइमा अब बाल्कनको बाटो आप्रवासीहरुको लागि “पूरै बन्द” भएको छ।
स्लोभेनियाको कदमले छिमेकी सर्बियाको कदमले म्यासेडोनिया र बुल्गेरियातर्फको बाटोमा अब आप्रवासीहरुको लागि कडाइ हुने देखिन्छ।
त्यहाँबाट अब आवश्यक यात्रा कागजात भएकालाई मात्र प्रवेश अनुमति दिइने सर्बियाले बताएको छ।
अहिले नै इयुको राहदानी नचाहिने शेन्गेन क्षेत्रको भविष्य संकटमा परिसकेको छ।
शेन्गेन सम्झौताका आठ सदस्य राष्ट्रहरु मध्ये अष्ट्रिया, हंगेरी र स्लोभाकियाले सीमामा कडाइ गरिसकेका छन्, जसका कारण हजारौं आप्रवासीहरु ग्रीसमा अलपत्र परिरहेका छन्।
युरोपले अहिले दोस्रो विश्व युद्ध पछिकै सबभन्दा ठूलो शरणार्थी संकटको समाना गरिरहेको छ।
गत वर्ष दशलाखभन्दा बढी मानिसरुले गैरकानुनी रुपमा डुंगामा चढी यात्रा गरेर युरोप प्रवेश गरेका थिए।
ती मध्ये अधिकांश गृह युद्धको चपेटामा परेका सिरियाली नागरिक थिए।