पेशलकुमार निरौला
पृथ्वीनारायण शाह हाम्रो नेपाल राष्ट्रका निर्माता हुन् । जुन बेला हिमवत्खण्ड टुक्रिरहेको थियो, त्यसबेला उनले एक अखण्ड राष्ट्रको सपना देखे । जुन बेला एसियावासीहरू पराधीन हुँदै गइरहेका थिए, त्यसबेला उनले आफ्नो स्वतन्त्र अस्तित्वलाई अझ सुदृढ बनाए भन्ने कविवर माधव घिमिरेको भनाइले पृथ्वीनारायण शाहको व्यक्तित्व झल्किन्छ । वास्तवमा पृथ्वीनारायण शाह घोर यथार्थवादी व्यक्तित्वका स्वामी थिए । सङ्कटका बेलामा पनि उनको अदम्य साहस र अतिरिक्त विश्वासले काम गरेको देखिन्छ । उनले चार हजार वर्षको नेपालको अपराजित इतिहास र भूगोलको एकताबद्ध क्षेत्रको एकीकरणमा जोड दिएका थिए । वास्तवमा ‘पृथ्वी’ (नेपाल भूमि) र ‘नारायण’ (जनता) लाई एकाकार गर्ने व्यक्ति नै ‘पृथ्वीनारायण’ हुन् । यसैले पृथ्वीनारायण शाह हाम्रा मुहान हुन् ।
यसैगरी, उनी अगाडि लेख्छन्– राष्ट्रको निर्माण एक अनन्त प्रक्रिया हो । आज यो भू–प्रदेशको विस्तारमा हैन, राष्ट्रियआत्माको परिष्कारमा हुन्छ । राष्ट्रजन जीवित हुन्जेलसम्म यो प्रक्रिया कहिल्यै सकिँदैन । अझ भनुँ भने राष्ट्र निर्माणको जोश रहुञ्जेलसम्म नै राष्ट्रजन जीवित रहन्छन् । राष्ट्रको विखण्डनको पनि राष्ट्रभित्रै प्रारम्भ हुन्छ– हामीभित्र दलमर्दन शाहजस्ता व्यक्ति जन्मन्छन्, जो व्यक्ति र वर्गको स्वार्थको निमित्त काम गर्छन् र एकदिन राष्ट्रलाई पनि टुक्रा पारेर खान खोज्छन् । परन्तु राष्ट्र त एक अखण्डीय तत्व हो । यसबाट सबैलाई समान अवसर प्राप्त हुन्छ । जसले सम्पूर्ण राष्ट्रजनको भविष्यभित्र आफ्नो पनि भविष्य देख्छ, त्यही नै सच्चा स्रष्टा हो र यस्तै स्रष्टाबाट नै राष्ट्रिय हितको सृष्टि हुन सक्छ (घिमिरे, माधव, राष्ट्र निर्माता पृ. १–२) ।
पृथ्वीनारायण शाह नेपाल र नेपालीका गौरव र प्रेरणास्रोत हुनुपर्ने स्थितिमा उनको इतिहासलाई उपव्याख्या गर्दै आफ्नै इतिहासलाई कलङ्कित पारिरहेकै अवस्था छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा । क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर गर्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अराष्ट्रिय हुन्छ । यस्ता कार्यहरू पराइहरूको नियोजन, प्रायोजन, षड्यन्त्र र लगानीमा भएका छन् । मानौँ नेपाल एकीकरण गरेको हुनाले नेपालको स्वतन्त्र अस्तित्व रह्यो, अङ्ग्रेजको दास बन्नु परेन । त्यस कारण नेपालीहरू दुःखी भइरहेका छन्, नेपालीहरू पश्चातापमा छन् । देशको चार किल्ला पृथ्वीनारायण शाहले ठोकेका कारण नेपाल र नेपाली हुन पाउनुको अपराधबोध गर्नेहरू आन्तरिक फिरङ्गीलाई पश्चाताप होला तर हामी नेपाली हुनुको गौरव गरिरहेका छौँ र गरिरहनेछौँ । विविधता, साँस्कृतिक जीवन्तता र सामाजिक गतिशीलतालाई जन्म दिने शक्तिका रुपमा रहेको शुद्ध र रैथाने संस्कृति निरन्तर आक्रमणको सिकार भएको छ । जो राष्ट्रहरूको शताब्दीयौँदेखिको प्रयासको उपज हो, सौन्दर्यप्रतिको अगाध भावना र प्रेमको सूचक हो । र, आज रैथाने संस्कृति लोप हुने अति संवेदनशील अवस्थामा पुगेको छ । प्रेम र मानवताको मुहान रहेको समाजको सबभन्दा उत्तम संस्था अर्थात् परिवारलाई आज अत्यन्त कमजोर बनाइएको छ । परिवारको रचनात्मक भूमिकामा क्षय भइरहेको छ भन्ने महमुद अहमदिनेजादको भनाइ अहिलेको नेपालमा चरितार्थ हुँदै गइरहेको छ (सं. मैनाली, सुजित, विश्वका चर्चित भाषण, पृ. १५७) । त्यसैले नेपाल अत्यन्त दयनीय, अस्थिर र कमजोर राज्यका रूपमा रूपान्तरित हुँदै गइरहेछ । राष्ट्रकै अस्मितामाथि सुनियोजित रूपमा प्रहार हुनु र नेपालीत्वमाथि नै निरन्तर आक्रमण भइरहँदा र आफ्नो राष्ट्रिय अस्मिता नामेट हुने स्थितिमा पनि हामी मुकदर्शक बन्न बाध्य र विवश छौँ । नेपाल बनाउने देशभक्त राष्ट्रनिर्माता पृथ्वीनारायण शाहजस्ता वीर–वीराङ्गनाहरू जुन हाम्रा आदर्श हुनुपथ्र्यो तिनीहरूको बद्नामी हामी गरिरहेका छौँ । संसारकै सामु नेपाली जाति आफ्नै वीरताले चिनिएको छ । नेपाल डरछेरुवाहरूको मुलुक होइन, ऊसँग आफ्नो युद्धप्रिय जातिहरू खस, मगर, गुरुङ, मुसलमान, राई, लिम्बु, मधेशी आदिका व्यक्तिगत साहसका कथाहरूले भरिएको छ । त्यस्ता व्यक्तिहरूको सहयोगको उदार भावना र बलिदानी इच्छापूर्ण कार्यहरूले नै नेपाल राष्ट्रले दीर्घजीवन प्राप्त गरेको हो ।
वयं राष्ट्रे जागृयाम पुरोहिताः । (यजुर्वेद ९–२३)
हामी, सबै मिलेर राष्ट्रको जागरण र रक्षाका लागि जुटौँ । वैदिक वाङ्मयमा ‘राष्ट्र’ शब्द प्रशस्त उल्लेख भएका छन् । राष्ट्र भनेको विराट स्वरुप हो । धर्म, संस्कृति, परम्परा तथा नैतिक सदाचारले युक्त न्यायपूर्ण र गतिशील जीवन पद्धति नै राष्ट्र हो । राष्ट्रोन्नतिका लागि प्रत्येक नागरिक जागरुक बन्नु पर्छ ।
तर, अहिले हामी नेपाली माटोका लागि लड्ने वीर–वीराङ्गनाहरूलाई तथानाम गालीगलौज गरी आपूmलाई भूइँफुट्टा लोकतन्त्रवादी, क्रान्तिकारी र प्रगतिशीलताको मुकुण्डो लगाई आत्मरतिमा मनमग्न छौँ । यथार्थमा उनीहरूले नै यस देशलाई साम्राज्यवादको अधीन हुनबाट रोकेर हामीलाई यो मातृभूमि सुम्पेका थिए । भनिन्छ, इतिहास यस्तो तासको खेल हो, जसमा जोकर बेगर खेल खेलिन्छ भन्ने भनाइ वर्तमान नेपालमा व्यङ्ग्यझैँ लाग्छ । वर्तमान नेपाली राजनीतिमा यस्तो तास खेलमा जोकरहरूकै बाहुल्यता देखिन्छ । यसो लेखिरहँदा इतिहासमा रहेका चार्लमेन, या चंगेज खाँ या हिटलर वा स्टालिन आदिले गरेका उनीहरूको नरमेधको भने जोडदार रूपमा निन्दा गर्नै पर्दछ भने अर्कोतर्फ इतिहासका तथ्यहरूका क्रिया प्रतिक्रियाको अनवरत प्रक्रियामा अतीत र वर्तमानबीचको अन्त्यहीन संवाद्मा हामीले भाग लिनै पर्दछ । अर्कोतर्फ इतिहास भनेको आफ्नो कमजोरी, असक्षमता र दोष फ्याक्ने फोहोरको डुङ्गुर नभएर गौरवमय गाथा–कथाले भरिएको धरोहर हो भन्ने कुरा पनि कदापि बिर्सनु हुँदैन ।
आज हरेक व्यक्तिका मुखमा झुण्डिएको एउटा शब्द ‘सामन्तवाद’ रहेको छ । तर, हाम्रा नेताहरूलाई हेक्का रहनुपर्ने हो, इतिहासमै लामो समय शासन गरेको सामन्तवाद कुनै बेला प्रगतिशील व्यवस्था थियो भन्ने कुरा कार्लमाक्र्सले भनेका थिए भन्दा स्वयंघोषित नेपाली राजनीतिज्ञ, बुद्धिजीवी अचम्मित हुन सक्छन् । संसारकै इतिहासमा देशको भौगोलिक एकीकरण, भाषा, साहित्य, कला, संस्कृति आदिको विकासमा सामन्तवादी व्यवस्थाले गरेको अनुपम योगदानलाई भने हामीले कदापि बिर्सनु हुँदैन । यसो भनिरहँदा सामन्तवादका कमीकमजोरीहरूमाथि प्रहार गर्नै हुँदैन भन्ने चाहिँ कदापि होइन । त्यसैले इतिहासको निष्पक्ष विश्लेषण नगर्ने र इतिहासको अपव्याख्या गर्ने अनि इतिहासलाई आफ्नो सुविधाका लागि व्याख्या र विश्लेषण गर्ने वर्तमान प्रवृत्ति अत्यन्तै घातक छ । यसले तत्काल समस्या समाधान गरेझैँ लागे पनि समस्याको दलदलमा हामी फस्छौँ र फस्दै जानेछौँ भन्ने वर्तमान राजनीतिको अस्पष्ट गन्तव्यले देखाउँदै गरेझैँ लाग्छ । माथिको स्थितिमा हामी पृथ्वीनारायण शाहको २९५ औँ पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस जनस्तरमा मनाउन गइरहेको सन्दर्भ छ । लामो समयदेखि राष्ट्रिय एकता दिवस मनाइरहेको सन्दर्भमा २०६२÷०६३ को आन्दोलनपछि बनेको सरकारका तात्कालीक गृहमन्त्री श्रीकृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकता दिवस कसको अभीष्ट पूरा गर्न खारेजीको प्रस्ताव अघि सारी राष्ट्रिय दिवसविहीन देशमा परिणत गराउनु र पृथ्वीनारायण शाहका पालादेखि नै नेपालीहरूले लगाउँदै आएको र राष्ट्रिय पोशाकको रूपमा मान्यता पाएको दौरा–सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्णय राष्ट्रियताको सम्बद्र्धन र राष्ट्रिय संस्कृतिको जगेर्नाका दृष्टिले अत्यन्त घातक हुन गएको छ । उनीहरूका आ–आफ्नै निर्णयले भविष्यमा आफैं कलङ्कित हुने र इतिहासको कठघरामा उनीहरू उभिनुपर्ने कुराको पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । नेपाललाई राष्ट्रिय दिवसविहीन बनाउने सिटौला र साँस्कृतिक महत्व बोकेको राष्ट्रिय पोशाक दौरा–सुरुवाल हटाउने भट्टराईजस्ता घातक परजीवि प्रवृत्तिको मुखुण्डो बिस्तारै उघ्रँदै जाने नै छ । यसरी आज आन्तरिक फिरङ्गीहरूबाट राष्ट्रिय एकता दिवस र राष्ट्रिय पोशाक समाप्त पारिएको छ । नेपाल र नेपालीको मूल पहिचान दिने पृृथ्वीनारायण शाहप्रतिको यिनीहरूको प्रहार नेपालको चिनारी खरानी बनाउने रणनीति यिनीहरूबाट अगाडि बढेको देखिन्छ । तर, यो जनताको लालमोहर होइन । इसाई साम्राज्यवादीहरूको षड्यन्त्रको उपज हो । अनि इतिहास र आफ्ना पूर्वजका बलिदानमाथिकै घोर प्रहार हो । अझ कठोर शब्दमा भन्ने हो भने यिनीहरूको राष्ट्रियता प्रवद्र्धनको अवधारणा कस्तो देखिन्छ भने टाउको काटेर टुप्पीको पूजा गर्नेजस्तै हो । यस्तो भष्मासुर प्रवृत्तिबाट कदापि राष्ट्रको कल्याण हुँदैन ।
इतिहासलाई कलङ्कित गर्दै वर्तमानको हत्याहिंसा कदापि प्रशंसित हुँदैन । पृथ्वीनारायण शाहलाई घृणा गरेर जातीय राज्य माग्नेहरू पृथ्वीनारायण शाहले निर्माण गरेको ४ वर्ण ३६ जातको पूmलबारीलाई भताभुङ्ग पार्न चाहन्छन् । क्रिश्चियन मेसिनरीको पैसा खाएर पृथ्वीनारायण शाहलाई कलङ्कित गर्नु थियो, बदला लिनु थियो किनभने पृथ्वीनारायणले पादरीहरूलाई नेपालबाट धपाए र सिन्धुलीगढीको युद्धमा फिरङ्गीका १७०० फौजलाई युद्धमा ढालेका थिए ।
नेपालको हिमवत्खण्डमा कुनै कारणले मर्ने विदेशी, विधर्मी, नीचकर्मको पापी नै रहेछ भने पनि यस पुण्य भूमिमा जन्म लिने अवसर पाउँदा मानव भएर जन्मिए पनि उसको नीच संस्कार पुरानै रहनाले नेपाली भएर पनि विधर्मी र विदेशीहरूको सबै षड्यन्त्र प्रगतिशील, अग्रगामी लाग्छ तर नेपालको मौलिकता बचाउन गरिने सबै कदम प्रतिगामी हुन्छन् । तर, अहिले उहिलेका इसाई पादरीको प्रेतको काँचो वायुले नेपाल कब्जा गरिरहेछ । त्यस्ता, पुनर्जन्म पाउनेहरू नेपाली मूल र कुलको भए पनि विदेशी विधर्मीभन्दा कट्टर नेपालका विरोधी भएको उनीहरूको व्यवहारबाट नै सबै कुरा स्पष्ट देखिन्छ ।
यस्ता नेपालका नेता, वृद्धिजीवि कसैको टाङमुनि छिरेर आफ्नो क्षुद्र स्वार्थ सिद्धि गर्न मात्र तल्लीन छन् । ‘आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञान नभएको मान्छे जराबिनाको रुखजस्तै हो’ भन्ने माक्र्स गर्भेई जमैकन नेताको भनाइ स्मरणीय छ ।
यसैगरी, फर्जी एजेण्डा धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्र (आयातित एजेण्डा) को जोशमा आफ्नै इतिहास, भाषा, धर्म, संस्कृतिको मूल चिनारीमाथि गरिएको विनाशले राष्ट्रको व्यक्तित्व आज घुमिल हुन पुगेको छ । यसका कथित नायकहरू दुःखका मुहान बनेका छन् । साथै, यी हास्यपात्र इतिहासका दुश्मनका रूपमा देखिएका छन् । पृथ्वीनारायण शाहले बाह्य फिरङ्गीविरुद्ध लडेर निर्माण गरेको यो राष्ट्र आज आन्तरिक फिरङ्गीबाट प्रताडित भइरहेछ । अब सबैको सामूहिक भावनाबाट ‘आन्तरिक फिरङ्गीलाई भगाऔंँ, नेपाल राष्ट्र बचाऔँ’को शङ्खघोष आवश्यक भई सकेको छ ।
मूलभूत विषयकै यस सन्दर्भ कुन र कस्तो परिस्थितिमा आधुनिक नेपाल राष्ट्रको एकीकरण पृथ्वीनारायण शाहले गरे भन्ने बुझी कुन र कस्तो परिस्थितिमा उनले आफ्नो महान् अभियानलाई अगाडि बढाए भन्ने चर्चा गर्नु नै बढी सान्दर्भिक छ ।
पृथ्वीनारायण शाहको उदयपूर्व काठमाडौँ उपत्यकाका तीन राज्य, बाईसे, चौबीसे राज्यहरू, मकवानपुर, चौदण्डी, विजयपुर, जसमा पल्लो किरात, माझ किरात आदि राई र लिम्बूहरूका नाउँमा रहेका स्थानीय ठाउँहरूको अस्पष्ट भौगोलिक, प्रशासनिक, राजनीतिक क्षेत्र रहेको पाइन्छ । सोह्रौँ शताब्दीतिर जाने हो भने सेनराज्य, त्यसभन्दा अगाडिको पाटो हेर्ने हो भने खस साम्राज्य, तिरहुत (डोय वा कर्नाटक), नेपाल मण्डल आदि राज्यको अस्तित्व रहेको ऐतिहासिकता छ । अझ त्यसअगाडि रहेको लिच्छविकालको तथ्यपूर्ण इतिहासका साथै त्यस अगाडिको कोलीय, विदेह, किरात, गोपाल आदिको मिथकीय इतिहास तथ्यपूर्ण बनाउने काम भने बाँकी नै रहेको हामी पाउँछौँ । यसरी पहिलो शताब्दीदेखि अठार सय वर्षको अवधिमा नेपाल भू–खण्डमा विभिन्न मानव–मानवबीचको सम्पर्क र अन्तरक्रिया जारी रहेको यथार्थ छँदै छ नै ।
यसरी नेपाल प्राचीनकालदेखि नै राजनीतिक एकीकरण र पुनः खण्डीकरणको लामो इतिहासको शृङ्खलाबाट गुज्रिएको पाइन्छ । किरातकालमा यलम्बर अनि मानदेव, अंशुवर्मा, खस राजा अरि मल्ल, पाल्पाली राजा मणिमुकुन्द सेनका सद्प्रयासलाई पृथ्वीनारायण शाहले पूरा गरी नेपालको गौरवशाली इतिहासलाई निरन्तरता दिएका थिए । हामीले नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेकै इतिहास हो, त्यो नै ध्वंश गरे भोलि के दिने ? त्यसैले अहिले ढलेका शालिकमात्र उठाउने होइन, ढलेका आस्था र गौरवशाली इतिहास उठाउने पालो हाम्रो काँधमा आएको छ । पुर्खाको कदर हामीले गरेनौं भने सन्ततिले हाम्रो भयानक अपमान गर्नेछन् । यस्तो मूर्खता हामीले गर्नु हुँदैन ।
पछिल्लो समय अर्थात् पृथ्वीनारायण शाहको आगमनपूर्व स–साना भुरे–टाकुरे राज्यको निर्माण र त्यस्तो विखण्डनको प्रक्रियाले आमजनताको जीवनशैलीमा समेत चरम असुरक्षा र अस्थिरताले यस क्षेत्रका जनता वाक्क–दिक्क भइसकेको स्थिति थियो भने ठीक यसै समयमा दक्षिणतिरबाट कहिल्यै सूर्यास्त नहुने बेलायती इसाई साम्राज्यको राप–ताप बढ्न थालिरहेको थियो । यही खतराको मर्मबाट सचेत गराउँदै सबै मानिसहरूमा एकताको भावना विकास गरी पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारको अभियान बढाएको देखिन्छ । जुन कुरा उनको दिव्योपदेशबाट हामी बुझ्न सक्छौँ । ‘दषिनको समुन्द्रका बादसाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ, हिन्दुस्थाना दबाई राषेछ. सरजिमीमा परिरहेछ. हिन्दुस्थाना जाम्यो भन्या कठिन् पर्ला भनि किल्ला षोजन आउन्याछ, सन्धीसर्पन् हेरि गडि तुल्याई राष्नु र रस्ता रस्तामा भाजा हारि राष्नु र यक दिन त्यो बल आउन्याछ. जाइ कटक् नगर्नु, झिकी कटक् गर्नु र चुरेघाटीमा षुपै काटिन्याछ, श्रीगंगाजिको साध पनि लाग्नैछ लडाईमा पुकेन भन्या लोलोपोतो अनेक कल छल गरिकन पनि.” भन्ने पृथ्वीनारायण शाहको कथनमा तथ्य र सत्यको महानता लुकेको छ । उनको दिव्योपदेश नेपाली राष्ट्रियताको मूल वर्णमालाका रुपमा मानी नेपाल अगाडि बढ्नु ज्यादै सान्दर्भिक हुन्छ ।
वास्तवमा दिव्योपदेश पृथ्वीनारायण शाहको जीवनको एकीकृत निचोड भन्न सक्छौँ । यसमा नेपालको अवस्थिति, विदेश नीति, रणनीति, उद्योगधन्दा, कला, संस्कृति आदि समेटिएका छन् । आफ्ना कुराहरू जनतासामु नलुकाई उनले भनेका छन् ।
यसरी उनले तात्कालीक स्थिति राम्ररी आँकलन गरी राज्य विस्तारको अभियानलाई अगाडि बढाएको पाइन्छ । वि.सं. १७९९ मा पृथ्वीनारायण शाह सिंहासनारुढ भएपछि विजय अभियान अगाडि बढाए । त्यस बेला जनधनमा गोरखा केही कमजोरै थियो तापनि पृथ्वीनारायण शाहको उत्साह, कार्य, योजनाले गर्दा उनलाई सफलता मिल्यो । फलस्वरूप वि.सं. १८०१ मा उनले कान्तिपुर राज्य क्षेत्रभित्र पर्ने नुवाकोट विजय गरे । यिनले गोरखाबाट नेपालका अन्य राज्यहरूमा गएर त्यहाँका जनताको मनोभावना, सामाजिक, राजनीतिक, आर्थिक तथा धार्मिक अवस्थाको राम्रो अध्ययन गर्नुका साथै भारतमा गई त्यहाँको स्थितिको राम्ररी अवलोकन गरे । जुन वनारस यात्राको रूपमा चर्चित रहेको पाइन्छ । यी सबै तथ्यहरूका आधारमा नेपालको राष्ट्रियताको लागि अङ्ग्रेजविरोधी भावनाको प्रचारलाई भने उनले साँच्चिकै अगाडि बढाएको पाइन्छ । त्यसताका नेपाल र भारतका जनताहरू आ–आफ्नो कुलधर्मका पक्का अनुयायी भएका हुँदा क्रिश्चियन धर्मका पक्का विरोधी रहेका थिए ।
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय गरेलगत्तै केपुचित पादरीहरू र धर्म परिवर्तन गरेका यहाँका व्यक्तिहरूलाई देश छोड्नका लागि दिएको दबाव यहाँ उल्लेखनीय हुन आउँछ । आज आएर उनको दूरदृष्टि २०६२÷०६३ पछिको आन्दोलनमा राजसंस्था हटाउने सन्दर्भमा बाह्य र आन्तरिक राजनीतिक शक्ति केन्द्रहरू र क्रिश्चियनहरूको भूमिका यहाँ कसरी मिल्न पुगेको र उनीहरूबाट नेपालका बौद्ध, वैदिक एवम् किरात धर्म–संस्कृतिको अन्त्य गरी क्रिश्चियन धर्म परिवर्तन तीव्र गतिमा भइरहेको र नेपालमा रहेका प्राचीन धर्म–संस्कृतिको विनाश भइरहँदा हामीले पृथ्वीनारायण शाहको दूरदृष्टिलाई यहाँ उल्लेख गर्नु अहिले अझ सान्दर्भिक ठहर्छ । दक्षिणको महाचतुर बादशाह र तिनै फिरङ्गी केपुचिनहरूले शाह राजाहरूको अन्त्य गर्न खेलेको भूमिका र नेपाली नेताहरू उनीहरूका पछाडि कसरी जानी नजानी सहयोगी बन्न पुगे भन्ने कुरा ठूलै रहस्यको विषय बन्न पुगेको छ ।
अब पुनः इतिहासतर्फ नै दृष्टि दिउँ, यसैगरी पृथ्वीनारायण शाह साम्राज्यवादीहरूको विरुद्ध सर्वप्रथम नेपालमा स्वदेशी आन्दोलन चलाई आपूmले देशैमा बनेको कपडा लगाई नेपालका नेवारहरूकै नाचगान हेर्नेतिर जोड दिएको पाइन्छ ।
दिव्योपदेशअनुसार ‘आफ्ना देसका कपरा बन्न ज्यान्यालाई नमुना देषाइ सघाउनु र बन्न लाउनु र यस्व भया नगद देश (विदेश) जादैन’ ले स्पष्टै पार्दछ । उनको अभियानको करिब एक सय सतहत्तर वर्षपछि भारतमा महात्मा गान्धी चर्खा कात्ने अभियानका साथै स्वदेशी सामानको प्रयोगमा जोड दिई अङ्ग्रेजी मालसामानको बहिष्कार अभियान अगाडि बढाई भारतबाट अङ्ग्रेजहरूलाई लेखेटेको घटना ज्यादै महत्वपूर्ण मानिन्छ । अर्कोतर्फ सुरुका दिनमा गान्धी अङ्ग्रेजका पक्का समर्थक रहेका र उनको व्यक्तित्व विकासमा ब्रिटिशहरूको ठूलो हात रहेको पाइन्छ । यता, पृथ्वीनारायण शाह भने अङ्ग्रेजहरूको विरोध गरेर नेपाल राष्ट्रको निर्माण गरी अगाडि बढ्न दूरदृष्टि भएका व्यक्तित्व भएको सन्दर्भलाई हेर्दा गान्धीभन्दा ठूला यो क्षेत्रकै नेता भएको स्पष्ट हुन्छ । गान्धीलाई भारतीय र अङ्ग्रेजहरूको सहयोगले अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको छ भने पृथ्वीनारायण शाह राम्रा र हाम्रा हुन् भन्ने महत्व हामीले नबुझी उल्टै तथानाम गालीगलौज गरिरहेका छौँ भने अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगको अपेक्षा कसरी गर्ने ? यसरी गान्धीको स्तुति गाएर नथाक्ने राजनीतिज्ञ, बुद्धिजीवि, पत्रकार आदि सबैले गान्धीको भन्दा पृथ्वीनारायण शाहको साहस, कार्यकुशलता एवम् नीति (दिव्योपदेश) लगायतको समग्र विश्लेषण गर्ने हो भने ज्यादै उच्च कोटीका व्यक्तित्व देखिन्छ ।
यसैगरी, पृथ्वीनारायण शाहको राज्य विस्तारकै क्रममा अर्को महत्वपूर्ण पक्ष मकवानपुर र सिन्धुली गढीमा बङ्गालका मीरकासिमका सेना तथा इष्ट इण्डिया कम्पनीबाट जयप्रकाश मल्लको सहायतार्थ पठाइएको कप्तान किनलकको सेनालाई हराई तिनीहरूबाट यथेष्ट मात्रामा हातहतियार प्राप्त गरे, जसका कारण काठमाडौँ उपत्यका जित्न उनलाई सजिलो भएको थियो । ती सिन्धुलीगढी तथा मकवानपुरका लडाकुका हतियारहरू नेपाल म्यूजियममा अहिले पनि देख्न सकिन्छ । यहाँनेर अर्को छिमेकी देश चीनको प्रसङ्ग पनि स्मरणीय हुन आउँछ । चीनमा साम्रज्यवादी शक्तिहरूको विरुद्धमा लामो लडाइँ लडी माओत्सेतुङले चीनलाई स्वतन्त्र गराए । पृथ्वीनारायण शाहले यस घटनाभन्दा करिब १८० वर्षअघि नै जाइ कटक नगर्नू, झिकि कटक गर्नू भन्ने नीतिले साम्राज्यवादीहरूलाई पराजित गरी उनीहरूकै हतियारको बलमा नेपाल एकीकरण अभियानलाई अगाडि बढाएको पाइन्छ । अर्कोतर्फ ती दुवै युद्धमा पृथ्वीनारायण शाहले सफल गुरिल्ला युद्धको राम्रो रणकौशल पनि अपनाएको पाइन्छ । अब प्रश्न उठ्छ, गान्धीको स्वदेशी उद्योग र स्वदेशीपनको प्रचार र माओको साम्राज्यवाद विरोधी आन्दोलनका नेता र प्रेरणाका स्रोत पृथ्वीनारायण शाह भएनन् र ? हाम्रा देशका कथित लोकतन्त्रवादी र कम्युनिष्ट भनाउँदाहरूले भारतमा गान्धीलाई दिइएको सम्मान र चीनमा माओलाई दिइएको मान जति पनि पृथ्वीनारायण शाहलाई दिन किन चाहँदैनन् ? अनि हाम्रा बुद्धिजीवीहरू यहाँकै रैथाने पृथ्वीनारायणभन्दा गान्धी र माओका उक्तिहरू उद्धृृत गर्दा गौरवको अनुभव गर्छन् भने के उनीहरू साँच्चिकै राष्ट्रवादी हुन् त ? रैथाने पृथ्वीनारायण शाहलाई उपेक्षा गर्नु के नेपाल र नेपालीको हितमा रहेको मान्न सकिन्छ आदि प्रश्नहरू अहिले झन् सान्दर्भिक हुन गइरहेका छन् ।
यसैगरी, पृथ्वीनारायण शाहले हाम्रो धर्म–संस्कृति मासे भनी विदेशीहरूको उक्साहटमा जातीय र क्षेत्रीय मुद्दा बनाउने हाम्रा बुद्धिजीविहरूलाई पृथ्वीनारायण शाहको दिव्योपदेश एकपटक पढेमा र अनि कसरी उनले यस क्षेत्रको धर्म–संस्कृतिको संरक्षण गरेको कुरा स्पष्ट हुन्छ, आ–आफ्ना जात विशेषको कर्म गर्नु ‘तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हे¥या पनि हुन्छ इनमा ता दियाको पनि आफ्नै देशमा रहन्छ, यस्व भया आफनु देश गमन रहन्छ’ भन्ने भनाइले कसरी धर्म, भाषा, संस्कृति आदिको पृथ्वीनारायण विरोधी नभई पक्का समर्थक रहेबाटै काठमाडौँ उपत्यका मल्ल राजा तथा यिनमा कुनै विशेष भिन्नता नरहेका हुनाले उनीप्रति उपत्यकावासी सजिलै आकृष्ट भए । त्यसैगरी, काठमाडौँ उपत्यका विजय गरेलगत्तै शाक्य कुलकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरी सत्तारोहण गरेको इतिहास र काठमाडौँ उपत्यका विजयपछि यहाँका मन्दिरहरू, मल्ल राजाका शालिकहरू, दरबारहरू आदिको जीर्णोद्वार एवम् संरक्षण गर्नुले उनको स्थानीय कला संस्कृतिप्रतिको अपार स्नेह एवम् सम्मान रहेको स्पष्टै हुन्छ । साथै, यहाँका रीतिरिवाजहरूमा आपूmलाई नेवार मल्ल राजाभन्दा बढी घुलमिल गर्ने कामको पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ ।
अर्को कुरा गोरखाको राज्य विस्तार अभियान काठमाडौँ उपत्यका विस्तारपछि नेपाल एकीकरणको अभियानमा रूपान्तरण भएको पाइन्छ । उनले भक्तपुर विजयपछि आफ्ना भाइहरू दलर्मदन शाह र शूरप्रताप शाहले राज्य पाउने कुराको चर्चा गर्दा त्यो कुरा ठाडै इन्कार गरी राज्य विभाजन गर्ने कुरा सुन्नै नचाही आफ्नो एकीकरण अभियानलाई अगाडि बढाएको, गोरखा नाउँ नराखी नेपाल नाउँ राख्नुका साथै काठमाडौँ उपत्यकामा नै राजधानी राख्नुले पनि नेपालमा गोर्खालाई विलय गरेको देखिन्छ । यसरी हेर्दा गोर्खाको राज्य विस्तार अभियान भक्तपुर विजय (वि.सं. १८२६) पछि नेपाल एकीकरणको रूप लिएको त्यसपछिको घटनाले स्पष्ट पार्दछ ।
काठमाडौँ उपत्यका विजयपछि उनी पूर्व विजय गर्न लागे । धेरै शताब्दी पहिलेदेखि विभिन्न समयमा नेपालको एकीकरणको प्रक्रियाले उनका पालामा आएर भने स्थायित्व लियो । इतिहासबाट पृथ्वीनारायण शाहले पाठ सिकी राज्यको खण्डीकरण गर्नुभन्दा बरु आफ्ना सहोदर भाइहरूलाई सजिलै त्याग गरेको घटना के सानो घटना हो ? अवश्य होइन । यसैगरी, धेरै वर्ष पहिलेदेखि भाषा, धर्म, संस्कृतिका माध्यमले एकता सूत्रमा बाँधिएको नेपाल राष्ट्र पृथ्वीनारायणको राजनीतिक एकतामा पनि आवद्ध हुन पुग्यो । उनले काठमाडौँ विजय (वि.सं. १८२५) अनि त्यसताका चीन र भारत साम्राज्यवादीहरूको अधिनतामा दासताको जीवन व्यतित गरिरहेका थिए । नेपालमा भने पृथ्वीनारायणको अभियानपछि विश्वमानचित्रका आधुनिक नेपाली राज्यको सग्लो इतिहास सुरु भएको पाइन्छ । जे होस् नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह हुन् र आज हामीले आपूmलाई नेपाल र नेपालीका रूपमा गौरवान्वित हुनुमा उनकै योगदान रहेको कदापि भुल्नु हुँदैन । अर्कोतर्फ उनको सम्मान गर्नु भनेको वर्तमान सङ्घीय भनिने व्यवस्थाको अपमान भन्ने बुझाइ हाम्रा नेताहरूलाई रहनु यो राष्ट्रघाती एवम् विभाजनकारी सोंच हो भन्ने हेक्का हामीले राखेनौँ भने यो राष्ट्रको अस्मितामाथि नै प्रश्न लाग्ने स्थितिमा हामी पुगेको आभास हुन थालेको स्थिति छ । नेपाल र नेपालीको परिचय दिने पृथ्वीनारायण शाहलाई एकोहोरो गाली गर्नेहरूबाट के हामी अखण्डित नेपालको आशा गर्न सक्छौँ ?
माथि उल्लेख भएअनुसार वि.सं. १८२५ बाट आधुनिक नेपाली राज्यको सुरुवात भएको हो । यो एकीकरणको अभियानले निश्चित गरेको सीमारेखाभित्र विभिन्न जातजाति, भाषाभाषी, धार्मिक एवम् साँस्कृतिक समूहलाई एउटै परिचयले परिचित हुन हामीलाई अभ्यस्त बनाएको यथार्थ इतिहासदेखि वर्तमानसम्म नै रहेको तथ्य बिर्सनु हुँदैन । यो गौरवशाली परिचय नै आज नेपाली राष्ट्रको परिचय भएको छ र यसको समान हकदार यसभित्र बसोबास गर्ने सबै नागरिक हुन् । तसर्थ, वर्तमान राज्य पुनःसंरचनाको औचित्य, सङ्घीयताको सन्दर्भ र इतिहासलाई सम्मान गरी भविष्यको मार्ग दर्शनको विश्लेषण र समीक्षा यही बिन्दुबाट सुरु गरिनुपर्छ । त्यसो भए पृथ्वीनारायणप्रति हामीले सम्मान गरेको ठहर्छ ।
आधुनिक राष्ट्रिय राज्यको एकीकरणका नमूनाको रूपमा जर्मनी र इटालीलाई लिइन्छ । ती राज्यहरूको एकीकरणपछि नै संसारमा राष्ट्रियता र एकीकरणको अभियान चल्यो भन्ने पश्चिमा प्रचार यथावत छ । तर, कुनै पनि आधुनिक एकीकरणको मूर्तधारणा नहुँदाकै अवस्थामा पनि पृथ्वीनारायण शाहले ती राज्यहरूको एकीकरणभन्दा ठ्याक्कै १०० वर्षअगाडि नै उनीहरूको साधन र माध्यमभन्दा अत्यन्त अहिंसात्मक तरिकाले एकीकरण गरेको हुँदा संसारभरका लागि नै पृथ्वीनारायण शाहको एकीकरणको अभियान नमूना भएको छ । नेपालको इतिहासमात्र नभएर संसारकै इतिहासमा नेपालकै गौतम बुद्धभन्दा पृथ्वीनारायण शाहको व्यक्तित्व एवम् कृतित्व कुनै अर्थमा पनि कम छैन । उनले एकीकरणका क्रममा युद्धभन्दा पनि सन्धि–सम्झौता, सूचनाको बढी प्रयोग, स्थानीय व्यक्तिहरूलाई आफ्नो पक्षमा पार्ने अनेकौँ उपायहरू, आर्थिक नाकाबन्दी आदि गैह्रसैनिक उपायहरूको बढी प्रयोग गरेको पाइएबाट जर्मनी र इटालीजस्ता राज्यले गरेको हिंसात्मक सैन्य अभियानभन्दा उनको अभियान लोकभावनाअनुरूप हुनुका साथै कम हिंसाजन्य भएको कुरा यहाँ बिर्सनु हुँदैन । यसरी उनको एकीकरणको अभियान आफ्नै प्रकारको रहनुका साथै संसारका एकीकरणभन्दा पृथक रहनुका साथै ज्यादै लोकतान्त्रिक प्रकारको थियो भन्ने कुराको चिन्तन गर्नु इतिहासप्रति न्याय ठहर्छ । यो हाम्रा लागि ज्यादै गौरवको विषय हो ।
त्यसैले अहिले उठेका विभिन्न समस्याहरू जातीय विभेद, भाषिक विभेद, क्षेत्रीय विभेद, लैङ्गिक विभेद आदि समस्याहरूको व्याख्या र विश्लेषण इतिहासको निष्पक्ष व्याख्या र वर्तमानको यथार्थ तथ्यका आधारमा समस्याको समाधान खोजिनुपर्छ । नत्र महाभारतको अभिमन्युझैँ समस्याको चक्रव्यूहमा फँस्ने तर समाधानको उपाय नभएको निरूपाय पात्रझैँ वर्तमान लोकतान्त्रिक सङ्घीय गणतान्त्रिक व्यवस्थामा रहन हामी विवश हुनेछाँै । ‘सबैलाई चेतना भया यो मेरा साना दुःखले आज्र्याको मुलुक हैन’ भन्ने पृथ्वीनारायण शाहले मन र मुटुबाटै माटोरुपी नेपाल राष्ट्रको भौगोलिक संरचना खडा गरे भन्ने कुरा जीवित यथार्थ हो सबैलाई चेतना भया । मानिस जाग्दछ आफ्नै अस्तित्वलाई चिनेपछि । यो नै अहिलेको जीवन–मरणको प्रश्न हो । आफ्नो जीवन आफै बनाऊ, आफ्नो अस्तित्वको खातिर काम गर, आफैलाई सहयोग गर अनिमात्र ईश्वरले तिमीलाई सहयोग गर्नेछन् भन्ने एकजना दार्शनिकको भनाइ हाम्रा लागि ज्यादै सान्दर्भिक छ । अन्त्यमा एउटा कविता उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
मन्द विष, फिरङ्गीको नीति
यहाँ छर्ने होइन ।
पृथ्वीको राष्ट्रनीति देशैभरि छर्नुपर्छ ।
फिरङ्गीका विरुद्धमा
मेची–काली जाग्नुपर्छ ।
सन्ततिलाई नेपाल दिन
आजैदेखि लाग्नुपर्छ ।।
आजैदेखि लाग्नुपर्छ ।।
किम अधिकम् ।।
सन्दर्भसामग्री
(१) घिमिरे, माधवप्रसाद, राष्ट्रनिर्माता, साझा प्रकाशन, वि.सं. २०६९ ।
(२) सं. मैनाली सुजित, विश्वका चर्चित भाषण काठमाडौं ः बिएन पुस्तक संसार प्रा.लि., वि.सं. २०७१ ।
(३) पोखरेल, वालकृष्ण, पाँच सय वर्ष, साझा प्रकाशन, छैटौ संस्करण वि.सं. २०६७ ।
(४) जोशी हरिराम, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको व्यक्तित्व, शिक्षा मन्त्रालय, पुरातत्व विभाग, नेपाल म्यूजियम, वि.सं. २०२३ ।
(५) मानवअधिकार, वार्षिक प्रकाशन, नेपाल मानवअधिकार संगठन वि.सं. २०६७ ।
(६) मानवअधिकार, वार्षिक प्रकाशन, नेपाल मानवअधिकार सङ्गठन, वि.सं. २०६८ ।
(७) पृथ्वीनारायण शाहको दिव्योपदेश, द एक्सप्लोर नेपाल, वि.सं. २०६६ ।
(८) पर्चाः राष्ट्रिय एकता तथा २९० औँ पृथ्वी जयन्ती, नागरिक मूल समारोह समिति २०७१ (संयोजकः भरत बस्नेत)
स्रोत-http://www.milapnews.com