Best Online News From Nepal

आन्तरिक पर्यटकले धानेको अन्नपुर्ण पदमार्ग

गत वैशाखको भूकम्प,मधेस आन्दोलन र नाकाबन्दीका कारण बाह्य पर्यटकबाट थलिएको अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यटनलाई गएको वर्षभरि आन्तरिक पर्यटकले धानेको छ । भूकम्पपछि दशैं तिहारको विदाको समयमा दैनिक दुई–तीन सयको अनुपातमा आन्तरिक पर्यटक अन्नपूर्ण पदमार्गको प्रथम पर्यटकीय विश्रामस्थल घान्द्रुक भित्रिएका थिए । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांश पर्यटकको प्रमुख रोजाइ घान्द्रुक क्षेत्र नै थियो । यस वर्षको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण विदेशमा नकारात्मक सन्देश प्रवाह भई घान्द्रुकको पर्यटनलाई नराम्रो सँग असर पारेको घान्द्रुकका होटल व्यवसायीहरु बताउँछन् । भूकम्प र नाकाबन्दीबाट विदेशी पर्यटकहरुको आगमनमा अझै पनि सुधार हुन नसकेको व्यवसायीहरुको दुखेसो छ । भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएको भएपनि यसलाई पूरै धान्ने गरी आन्तरिक पर्यटकहरुको घुइँचो निक्कै बढेर ‘दिगो पर्यटनको मुख्य आधार नै आन्तरिक पर्यटन हो’ भन्ने राम्रो पाठ भूकम्प र नाकाबन्दीले घान्द्रुकका पर्यटन व्यवसायीलाई सिकाएको छ ।

घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता हो – समुदायमा आधारित पर्यटन । यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धले नै यहाँको पर्यटन व्यवसायले फड्को मारेको मारिसकेको छ । यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको राम्रो सम्बन्धले नै यहाँका सबैमा घान्द्रुक आउने पर्यटक आफ्नै पाहुना हुन् भन्ने अनुभूति दिलाएको छ । छ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल पुगेर गाडीबाट ओर्लिएपछि करिव पाँच घन्टा पैदल हिँड्नुपर्छ । यो मार्गबाट हिँडेर घान्द्रुक पुग्न धेरै पर्यटकहरु लालायित हुने गरेका छन् । अझ यो महिनामा घान्द्रुक पुग्ने पर्यटकले वनपाखामा फुल्ने राताम्मे गुराँसको मोहकता पनि देख्न पाउँछन् ।

यहाँका सबै होटलको सेवा सुविधामा एकै किसिमको दर तय गरिएको छ । घान्द्रुकमा पुग्ने कोही पनि पर्यटकले आफ्नै रोजाइमा सेवा र सुविधा प्राप्त गर्न सक्दछ । भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण गत वर्ष भन्दा यस वर्ष बाह्य पर्यटक आगमनमा ठूलो कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र घान्द्रुकको तथ्याङ्क छ । कार्यालयको तथ्याङ्क अनुसार सन् २०१४ मा अन्नपूर्ण आधार शिविरको पदयात्रामा लागि १ लाख २९ हजार ६ सय २४ विदेशी पर्यटक आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *