Best Online News From Nepal

आज कुशे औँसी

हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश आज घरघरमा भित्र्याएका छन् ।kush 1

प्रत्येक वर्ष कुशे औँसीका दिन पूजा गरी भित्रइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा पीतृकार्यमा प्रयोग गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान विष्णुको प्रतिकका रुपका स्वीकारिएको छ ।

श्रीस्वस्थानीको कथा अनुसार भगवान विष्णुले पतिब्रता बृन्दालाई छल गरी अस्तित्व लुटेपछि बृन्दाले विष्णुलाई चार किसिमका श्राप दिएकी थिइन् । त्यसमध्ये घाँस हुनुपर्ने श्राप पूरागर्नका लागि विष्णुले कुशको रुप धारण गरेको धार्मिक जनविश्वास छ ।
पुरोहितले आ–आफ्ना यजमानका घरमा कुश ल्याइदिने र त्यसलाई पूजा गरी पूजा कोठामा राखिने परम्परा छ । यसरी कुश घरभित्र ल्याउँदा शुभ हुने मान्यता राखिएको छ ।

मानिस जन्मँदा, मर्दा तथा पूजा आजाका कार्यमा कुशलाई पवित्र पूजासामग्रीका रुपमा लिइएको छ । कुशविना पूजालगायत गरिने कार्य पूर्ण मानिँदैन ।

यसैबीच, कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाउँ विकास समितिमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

बुबाआमालाई आफ्ना सर्वश्व मान्ने र आमाबुबाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् ।

जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडा–९ मा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवम् धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीयवासीहरु बताउछन

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किंवदन्ती रहेको छ ।

 

रामायणकालमा मातापिताका अनन्य भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडा–९ स्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुर–४ स्थित कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएको बेला आफ्ना छोरा मरेको सुनेर अन्धाअन्धी पनि यसै ठाउँमा प्राण त्याग गरेको किंवदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवम् चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो ।

तर सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण संवद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको छ । स्थानीयवासीले धार्मिक एवम् ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, संवद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गरेको छ ।