Best Online News From Nepal

आउनोस पुराण ग्रन्थहरुको महत्व बुझौं | योनि र योनिमा प्रवेश – कसरी ?

प्रवीण अधिकारी॒॒॒॒॒॒॒____

18740158_641558219384017_8993799107007421386_n

=====================
हाम्रो ग्रामिण समाजमा रहने वृद्धवृद्धाहरूले ८४ लाख जीवजन्तुको योनि भेटेपछि मानव स्वरुपमा जन्म हुने गर्दछ भनेर हामी कनिष्ठ पुस्तालाई संधै अशल र कीर्ति फैलिने कर्मगर्न आशिष दिने गर्दछन | यो आशिष दिने परम्परा हाम्रो नेपाली समाजको एउटा विशेषता मात्र हो वा यस भित्र केही सत्यता छ ? हाम्रो समाजमा यो ८४ लाखको अंक कंहाबाट भित्रिएको हो ? किन र कसरी यो अवधारणा भित्र्याइएको हो ? यो अवधारणालाई पुष्टि गर्ने आधारहरु हामी संग आजको दिनमा के के रहेका छन् ? यस भित्रको गुढ रहष्यहरु के हुन सक्छन ? यी पुराण ग्रन्थहरु यी ईशाई र आर्य सामाजी जस्ता दस्ताहरुले बताए जस्तो त्यस वर्गले ठगीखाने मेलो हो ? वा यस ग्रन्थले वेदको व्याख्या नै गरेको छ ? वा यी वाक्यहरु हाम्रो समाजलाई भ्रमितपार्न बोलिएको हो ? वा यो दमदार विषय वस्तु हो ? माथि उल्लेख गरिएका त्यस्ता प्रश्नहरुहुन जसले हाम्रो आधुनिक समाजलाई अन्जानमा अन्धभक्ति श्रीजना गर्न होइन वरु समय सापेक्ष बनाई पूर्ण वैज्ञानिक तवरले ती ग्रन्थहरुको चिरफार गर्न सिकाउने छ भन्ने उद्द्येश्यले यो लेख्ने प्रयाश गरेको छु |

हाम्रो सनातनी समाजमा वैदिक ब्याख्या मानिएका पुराण ग्रन्थहरुको गहिरो छाप रहेको छ | ती ग्रन्थहरुको जतिसुकै उच्छित्तो कढिएपनि त्यसमा प्रसस्त वैज्ञानिक तथ्यहरुको वर्णन विभिन्न कथा ,आख्यान ,उपाख्यान र प्रसिद्ध पुरुषहरुको चरित्र चित्रण गरेर , विभिन्न वंश चरित्रहरुको कथा हालेर प्रष्ट्याउने र तत्कालिन समाजका आदरणीय र प्रसिद्ध पुरुषहरुको गुण र विशेषता केलाएर संकेतात्मक रुपमा गरिएको देखिन्छ | आजको दिनमा वैदिक विद्वान र असल चरित्रको खडेरी पर्दै गएको हाम्रो समाजमा ती ग्रन्थहरुको कथा भित्रको रहश्य अध्ययन अध्यापनको व्यवस्था नभएको परिप्रेक्ष्यमा तथा त्यसलाई बुझ्ने बुझाउने विद्द्वत बर्गको कमीको कारणले गर्दा पुराण ग्रन्थहरु निकै अनर्गल टिका टिप्पणीको मारमा परेको पाइन्छ | तर , पुराण ग्रन्थहरुनै एक मात्र त्यस्तो ग्रन्थ हो जसले हाम्रो जन्म जन्मांतरको अर्थात गोत्र दिने ऋषिहरुको समेत चर्चा गरेर हामीलाई अघिल्लो जन्म, अहिलेको जन्म र पछिल्लो जन्ममा समेत कामलाग्ने सूत्रहरु वर्णन गरिदिएको छ |

पौराणिक ग्रन्थहरुले ८४ लाख योनिको ब्याख्या विशुद्ध रुपमा जीव विज्ञान र त्यसको क्रमिक विकास संग सम्बन्धित गराई प्रष्ट्याएको हामी जो कोहीले पढन सक्छौं | सनातन धर्मका आधार ग्रन्थहरुले यस श्रिष्टिमा जीवन विकास क्रमिक रूपमा हुँदै गएको हो भनेकुरा देखाएको छ | योनिको अर्थ के भन्दा जीवन भन्ने बुझ्नु पर्दछ भने योनिमा प्रवेश भनेको पूनर्जन्म भन्ने पनि बुझ्न सक्नु पर्दछ | अब पुनर्जन्म भनेको के भन्दा अंग्रेजीको Reincarnation हो अर्थात जीवले पुन: नयाँ शरीर पाउनु भन्ने बुझिन आउँछ | हाम्रो सनातनी मान्यतामा प्रत्येक मान्छेको मूल स्वरूप शरीर होइन आत्मालाई ठानिन्छ | उसको त्यस्तो शरीरको प्रत्येक पल्ट मृत्यु हुँदा त्यस्तो शरीरको अंत हुन जान्छ | त्यसैले मृत्युलाई हामीले देहांत अर्थात देह / शरीरको अंत भन्ने गरेका हौँ | हाम्रो मान्यतामा मान्छेको आत्मा आफ्नो पूर्व कर्मको फल भोग्न पुन: नयाँ शरीर प्राप्त गरी मोक्ष नपाउञ्जेल जन्म मृत्युको चक्रमा घुमिरहने गर्दछ भन्ने रहेको छ | त्यसैले त्यो मोक्ष भन्ने शब्दलाई निवार्ण, आत्मज्ञान, पूर्णता ,कैवल्य आदिसंग लगेर जोडिएको हुन्छ | यो पुनर्जन्म सिद्धांत कर्मफलको सिद्धांतपनि हो | मान्छेको मूलस्वरूप आत्माको अंतिम लक्ष्य परमात्मा संग मिल्नु रहेको हुँदा जबसम्म आत्माको परमात्मा संग पुनर्मिलन (मोक्ष) हुन्न सक्दैन तवसम्म जन्म – मृत्यु – पुनर्जन्म – मृत्युको चक्र कुम्हालेको चक्र झैँ घुमी रहने गर्दछ | भगवान श्रीकृष्णले पुनर्जन्मलाई स्वीकार गरी औंल्याउँदै गीतामा अर्जुनलाई सम्झाउन्दै मेरो र तिम्रो धेरैओटा जन्म भई सक्यो भनेर अर्थ्याएका थिए | उनले यो कुरो म जान्दछु तर तिमी जान्दैनौ भनेका थिए | ईसा मसीहलेपनि त्यसैबाट अनुप्राणित भएर म इब्राहीम भन्दा पहिलेपनि थिएँ भन्न पुगेका थिए |

पुराण ग्रन्थहरुमा जन्म-जन्मांतरको कुरो गरेर अघिल्लो जन्म, अहिलेको जन्म र पछिल्लो जन्महरुको सूत्र वर्णन गरिएको छ | वेदाङ्ग मानिएको ज्योतिष शास्त्र अनुसार आजसम्म यो संसारमा कोही त्यस्ता मान्छे जन्मिएका देखिन्नन् जसले जन्मकालमा आफ्नो भूक्त र भोग्य दशा शून्य पारेर जन्मिएको होस् | भन्नुको अर्थ त्यस्ता जातकहरुले आफ्ना पछिल्ला जीवनका सूत्रहरु लिएरै जन्मिएको देखिन्छ | तसर्थ पुनर्जन्म पछिल्लो र अहिलेको जीवनको निरंतर चल्ने प्रक्रिया हो भन्नेकुरा प्रत्येक सनातानिहरुले बुझ्न सक्नु पर्दछ | यस संसारमा प्राणीहरु मात्रले लाखौँ योनिहरु जन्म-जन्मातर सम्म भोग्नुपर्ने हुन्छ | त्यस्तै सर्पले आफ्नो सात जन्मको सम्पूर्ण स्मृति बोकेर हिडछ भन्नेकुरा हाम्रो सनातनी समाजमा प्रचलित हुन पुगेको हो | त्यसरीनै ऊंटलाई आफ्नो तिन जन्मको कुरो पुरै थाहा हुन्छ रे | त्यसैले ऊंटले पहिलो जन्मको मालिक भेटे कुल्चिएर मार्छ अनि सर्पले आफ्नो पूर्व जन्मको वैरी नभेटी ,नचिह्नी टोक्तैन भन्ने गरिएको हो | यसै कारणले पूर्व जन्मको संस्कार सूक्ष्म रूपबाट प्राणीहरुको अन्तर्मनमा प्रवेश गरी सूक्ष्म आत्मा संग घुलमिल हुन पुगेको कारण उ मरेपछि त्यो संस्कार अर्को जन्ममा सर्ने गर्दछ भनिन पुगेको हो |

आउनोस हेरौ पौराणिक ग्रंथहरुका केही ब्यख्याहरु जसले योनि र योनि प्रवेशको मर्महरूलाई बडो वैज्ञानिक ढंगले बुझाउने प्रयाश गरेको छ | धैर्यगरी पढौं –

(क) श्रीमद्भागवत पुराण : –
================
सृष्ट्वा पुराणि विविधान्यजयात्म शक्त्या
वृक्षान् सरीसृपपशून् खगदंशमत्स्यान्।
तैस्तैर अतुष्टहृदय: पुरुषं विधाय
व्रह्मावलोकधिषणं मुदमाप देव:॥ (११ / ९ / २८ श्रीमद्भागवतपुराण)

अर्थात यो विश्व पहिला मूल शक्तिको सृष्टिको रुपमा अभिव्यक्त हुन पुगेको थियो | त्यसै क्रममा वृक्ष, सरीसृप(घस्रिने ), पशु, पक्षी, कीरा, ,माछो आदि अनेकौं जीव जन्तुहरुको विभिन्न स्वरुपमा उत्पत्ति हुन पुगे तर , त्यस उत्पत्तिबाट चेतन स्वरुपको पूर्ण अभिव्यक्ति हुन नसकेको कारण मानव जातिको श्रीजना हुन पुग्यो | मानवलेनै त्यो मूल तत्वलाई बुझ्न सकेकोकारणले गर्दा हाम्रा धर्मग्रन्थहरुले मान्छेको जीवन पाउन ८४ लाख योनि बिताउनु पर्दछ भनेर वर्णन गर्न पुग्यो | यसको गुह्य आशय के थियो भने यो पृथ्वीमा प्राणीहरुको जीवन ज्यादै शुक्ष्म रुपबाट सरल तरिकाले विकसित भएर गएको हो | यो प्रक्रियानै विस्तारै विस्तारै संयुक्त हुँदै ८४ लाख योनि ( चरण ) पुरा गरी मानव जातिको रुपमा विकास हुन पुगेको थियो |

(ख) पद्म पुराणको मूल श्लोक :-
===================
यो पृथ्वीमा एककोषिकिय , वहुकोषिकिय, थलचर, जलचर तथा नभचर आदि अनेक प्रकारका जीव जन्तुहरु रहेका छन् भन्नेकुरा हामी अनुमान गर्न सक्तछौं | इनको संख्या तथा वर्गीकरण हाम्रो पद्म पुराणले निकै गतिलो गरी दिएको देखिन्छ –

जलज नव लक्षाणी, स्थावर लक्ष विंशति , कृमयो रूद्र संख्यकः |
पक्षिणाम दश लक्षणं त्रिम्शल लक्षाणी पशवः चतुर लक्षाणी मानवः ||

यो संसारमा –
जलज = जलीय जिवजन्तु अर्थात जलचर (Water based life forms) – ९ लाख
स्थिर अर्थात रुख ,बिरुवा (Immobile implying plants and trees) – २० लाख
सरीसृप= कृमी/कीरा ,माकुरा (Reptiles) – ११ लाख
पक्षी/नभचर (Birds) – १० लाख 1.0 million
स्थलीय/थलचर (terrestrial animals) – ३० लाख
मानवीय नश्ल (human-like animals) – ४ लाख
कूल = ८४,००,००० लाख ।

यसरी हजारौं बर्ष पुरानो एउटा श्लोकले यस पृथ्वीमा भएका सबै प्रजातिहरुको संख्या उल्लेख मात्र होइन त्यसको बर्गिकरण समेत गरेर हामीलाई बताई दिएर ठूलो गुण लाएको छ | पुराण ग्रन्थ झूठो हो भन्नेले यसलाई राम्ररी मनन गर्नु जरुरी देख्तछु |

(ग) महर्षि कपिलको सांख्यशास्त्र अनुसार :-
===========================

कपिलको सांख्य शास्त्रले जीवजन्तुहरुको शरीरको निर्माण सम्बन्धमा प्रष्ट्याउदै भनेको छ :-

त्रिगुणात्मक प्रकृतिबाट बुद्धि, अहंकार,मन, सात्विक अहंकारबाट पाँच ज्ञानेंद्रिय तामसिक अहंकारबाट पाँच कर्मेंन्द्रिय
पंच भौतिक तत्व (पृथ्वि, अग्नि, जल, वायु, आकाश ) पाँच विषय (रूप,रस,गंध,स्पर्श,दृष्य) र चौबिस प्रकारका अचेतन जगत बाहेक चेतन पुरुष (आत्मा) उत्पत्ति भएको हुन्छ | यस बाहेक हाम्रो शरीर दुई किसिमको हुने गर्दछ , कस्तो भन्दा एउटा सूक्ष्म शरीर अर्थात [ बुद्धि ,अहंकार, मन ] र अर्को स्थूल शरीर अर्थात् [ पाँच ज्ञानेंद्रिय (आँखो , कान , नाक , छाला , जिब्रो ), पाँच कर्मेंन्द्रिय (मुख , हात , खुट्टा , आची र सु गर्ने अंग ), पंच भौतिक तत्व ( पृथ्वी , अग्नि, जल, वायु, आकाश ) ]

(घ) श्रीमदभागवद गीता : –
================
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ।। …गीता २ /२ २

गीता २ /२२ मा भगवान कृष्ण भन्दछन –

जसरी मानिसहरुले पुरानो लुगा फालेर नया लुगा लाउछन त्यसरीनै जीवात्माहरुले पुरानो शरीर त्यागेर नयाँ शरीरमा प्रवेश गर्ने गर्दछन | ८४ लाख जीवजन्तुमा मान्छेनै उत्तम हो बाँकी अरु त् भोग योनीमा रहेका हुन्छन | त्यसकारण मान्छेलाई असल असल काम गर्न प्रेरित गरिएको हो | गीता अनुसार जीवात्माहरु अध्यात्मिक अवस्थामा हुन्छन | उनीहरुले शरीर धारण गर्छन त्यै धारण गरेको शरीर उसले गरेको राम्रो र नराम्रो कर्मको गति अनुसार जिव-जंतु रुख बिरुवा हुँदै पुरै ८४ लाख योनीमा घुम्ने गर्दछ | यसप्रकार मोक्षप्राप्तिसम्म यसै कालचक्रमा आत्मा घुमी रहने हुन्छ |

(ङ्ग) हाम्रो परम्परा र संस्कृतिले कसरी हेरेको छ –
हाम्रा आराध्य ग्रन्थहरुको वर्णन पढेर हाम्रा पूर्वजहरुले शरीर रचनाको आधारमापनि प्राणिहरुको वर्गीकरण गरेर देखाउन पुगेका थिए | जस अनुसार –

(1 ) एक शफ अर्थात एक खुर भएका पशु – खर (गधा), अश्व (घोड़ा), अश्वतर (खच्चर), इत्यादि |
(2) द्विशफ अर्थात दुई खुर भएका पशु – गाई , बाख्रो , भैंसी , कृष्ण मृग इत्यादि |
(3) पांच औंला र नंग भएका पशु – सिंह, बाघ , भालू, श्वान (कुकुर ), स्याल ,विरालो इत्यादि |

यसरी वेदको व्याख्या पुराण तथा अन्याग्रंथाहरुले एउटा एउटा श्लोक राखेर कसरी गर्न सक्यो ? पृथ्वीमा भएका सबै प्राणीका प्रजातिहरुको ब्याख्या र वर्गीकरण कसरी गर्न भ्यायो भनेर एक छिन गम्नोस अनि त्यसलाई राम्ररी बुझ्न अमेरिकीहरुले राखेको यो लिंक हेर्न नभुल्नोस , अवश्य हेर्नोस The New York Times मा छापिएको यो तलको लेख – http://www.nytimes.com/2011/08/30/ science/30species.html?_r=1 & जसले हाम्रा आदर्श ग्रन्थहरुको महत्व बुझ्न ठूलो मद्दत गर्नेछ |

आधुनिक विज्ञानले भन्दछ अमीबाबाट मान्छे बनुनज्याल सम्म चेतना लगभग १ करोड़ ०४ लाख योनि भएर हिंडेको हुन्छ | हाम्रा धर्म ग्रन्थहरु करोडौं बर्ष अघि लेखिए , आधुनिक विज्ञान भर्खर भर्खरै अर्थात १६ औं शताब्दीदेखि शुरु हुन पुगेको हो भन्नुको अर्थ हाम्रो धर्म ग्रन्थ र आधुनिक विज्ञानको तथ्याङ्कमा अन्तर देखिनु मनासिव पनि हो किनभने यो संसारको विकाश एकै चोटि भएको होइन क्रमिक रुपमा हुँदै गएको हो त्यसकारण त्यसरी क्रमिकरुपमा विकास हुँदै जाँदा प्राणीका प्रजातिहरुको संख्यामा वृद्धि वा न्यून हुनु सामान्य कुरो मानिन पुग्यो | अब यै कुरो लाखौँ बर्ष अघि हाम्रा पुर्खाहरुले कसरी चाल पाए ? त्यो कुरो चाहीं ज्यादै महत्वपूर्ण हो | हाम्रा ग्रन्थहरुले ८४ लाख योनिहरुलाई यसरी पनि वर्गीकरण गरेर देखाii दिए | यस क्रममा सबै प्राणिहरुलाई योनिज तथा आयोनिज भनेर दुई भागमा बाँडे अर्थात दुईटाको संयोगले उत्पन्न हुने प्राणीहरु योनिज भनिए , र अनि अमीबा जसरी आफै विकसित हुने प्राणीहरु आयोनिज भनिन पुगे | त्यसरी नै केही पौराणिक ग्रन्थहरुले प्राणिहरुलाई तीन भागमा छुट्याईदिए –

१ . जलचर – पानीमा बस्ने सबै प्राणीहरु ।
२ . थलचर – पृथ्वीमा विचरण गर्ने सबै प्राणीहरु ।
३ . नभचर – आकाशमा रमण गर्ने सबै प्राणीहरु ।

यसबाहेक उनीहरुले प्राणिहरुको उत्पत्तिको आधारमा ८४ लाख योनिहरुलाई चार प्रकारले वर्गीकारण समेत गरे –

१ . जरायुज – आफ्नी आमाको गर्भबाट जन्मिने मान्छे र पशु जरायुज भनिए |
२ . अण्डज – अण्डाबाट उत्पन्न हुने अण्डज भनिए |
३ . स्वदेज- मल, मूत्र, पसीना आदिबाट उत्पन्न हुने क्षुद्र जन्तु स्वेदज भनिए |
४ . उदि्भज- पृथ्वीबाट उत्पन्न प्राणिहरु उदि्भज वर्गमा परे |

यसबाहेक हाम्रा पौराणिक ग्रन्थहरुले औंल्याउँदै के पनि भने भने मान्छे मरेपछि उसको शरीर त रहन्छ तर उसको सूक्ष्म शरीर चाहीं पुरै एक सृष्टिकाल (४३२००००००० वर्ष) सम्म आत्मा संग गएर बस्दछ र अन्त्यमा प्रलयकाल आएको बेलामा आफ्नो मूल कारण सहित त्यो प्रकृतिमा गएर मिसिन्छ | पटक पटकको जन्म र मृत्युको यो क्रम सँधै चलि रहने हुँदा शरीर बदलि रहन पुग्यो | तर, आत्मा शूक्ष्म भई नयाँ शरीरमा गएर सधैं बस्ने भएको कारण अर्थात जुन सृष्टि रचना गर्दा हाम्रो आत्माले पाएको शरीर प्रत्येक नयाँ जन्ममा नया स्थूल शरीरको रुपमा परिणत हुन् पुगी hरेक जन्ममा त्यो शरीरको गुण केही न केही मात्रामा हाम्रो शूक्ष्म बुद्धिमा रही रहन पुग्यो | त्त्यहीकुरा केही मान्छेको कुनै कुनै जन्ममा दृष्टिगोचर हुन पुगेको कारण हामीले उसलाई अवतारी पुरुष भनेर चिन्ने गर्यौं | शरीर विज्ञानका यी स साना कुराहरु थाहा नपाकाहरु तिनै कुरालाई भुत प्रेत सम्झेर दुखी हुने गरेको देखिन्छ भने कहिले काँही मान्छे मरेर अर्को शरीर धारण गरेपछि पनि आफ्नी अघिल्लो शरिर हुँदाको कुनै बिषय बस्तुको पुनरावृत्ति भएर जाँदा पुरानो कुरो सम्झिने गर्दछ , आज सम्म देखिएको भएको यही हो | यसैका उदाहरण हुन् दलाई लामा , साई बाबा इत्यादि | अझ हाम्रो ” लामा धर्म ” परपरामा हेर्यौंभने यसलाई अझ राम्ररी बुझ्न सकिन्छ | भुटानको राजपरिवारको वालकको जन्म यस्तै कुराको पुनरावृत्ति हो |

यस पृथ्वीका हरेक जीवजन्तुहरु मृत्युबाट जोगिने प्रयास गरी रहेका हुन्छन | ती जीवजन्तु हरुलाई त्यसरी जोगिने प्रेरणा के ले दिएको हो ? भन्नु पर्दा उसको पूर्व मृत्युको अनुभवको कारणले गर्दा नै त्यसो भएको हो भनेर हामीले बुझ्न सक्नु पर्दछ | भन्नुको अर्थ त्यो जीवले आफ्नो मृत्युको अनुभव पूर्व जन्ममा पाई सकेको हुँदा र त्यो कुराको अनुभव उ संगै लुकेर शुक्ष्म स्वरुपमा उसको बुद्धिमा टास्सिer बसेको हुन्छ भन्नेकुरा पनि सहजै बुझ्न सकिन्छ र त्यस्तो कुरोको पुनरावृत्ति हुन जाँदा त्यो जीवमा जागृत हुन पुग्दछ त्यसैलेगर्दा हाम्रा ग्रन्थहरुले मृत्यु स्थूल शरीरको मात्र हुन्छ सूक्ष्म शरीरको हुदैन भनेर दर्शाएको हो | त्यस्तो शुक्ष्म शरीर पहिला जे थियो यो जन्ममा पनि त्यहीनै हुने गर्दछ जुनकुरो पुनर्जन्मको सनातनी सिद्धांतका उपरुल्लिखित प्रमाणहरुबाटै प्रमाणित हुन पुग्दछ | लामा लामा कुरा र छलफल गर्नै पर्दैन |

वैज्ञानिक तथ्य
=========

पुनर्जन्म एउटो धार्मिक सिद्धान्त र अंधविश्वास होइन यो त वैज्ञानिक तथ्यको रुपमा स्वीकारिएको पुनरागमन प्रमाणित गर्ने सिद्धान्तपनि हो भन्नेकुरा हामीले बुझ्न सक्नु पर्दछ | यसलाई आजको युगमा आएर प्रमाणित गर्न सक्ने विज्ञानको ” ऊर्जा संरक्षण सिद्धांत ” हो | आधुनिक विज्ञानको सर्वमान्य संरक्षण सिद्धांतअनुसार ऊर्जा कहिल्यैपनि सिद्धिएर जाँदैन , त्यसको स्वरुप मात्र परिवर्तन हुने गर्दछ अर्थात जसरी उर्जा नष्ट हुन्न त्यसरी नै हाम्रो चेतनापनि कहिल्यै नासिन्न , भन्नुको अर्थ चेतनानै वैज्ञानिक शब्दावलीमा ऊर्जाको शुद्धतम अवस्था हो भन्दा हुन्छ | चेतनसत्ता पुरानो शरीरबाट निस्की नयाँ शरीरमा प्रवेश हुन जानु नै पुनर्जन्मको सिद्धान्त हो भन्दा हुन्छ | यस संसारमा भौतिक ऊर्जा र आत्म ऊर्जा गरी दुईटा उर्जा भएको मानिन्छ | यसको आधारभूत फरक के हो भने आत्म ऊर्जा चेतना युक्त हुने गर्दछ भने भौतिक ऊर्जा चेतना रहित हुन्छ | कर्मफल तथा जन्ममरण चक्र अनुसार पुनर्जन्मको वास्तविक अर्थ आत्माले आफ्नो आवश्यकता अनुसार नया शरीर धारण गर्नु हो | हाम्रो भौतिक शरीर पांच तत्व पृथ्वी, जल, अग्नि, वायु र आकाश मिलेर बन्दछ |मृत्यु पश्चात शरीर पुन: त्यै पांच तत्वमा विलिन हुन पुग्दछ | आत्मा शरीर त्यागेर मुक्त हुन्छ र निर्धारित समय सम्म मूक्त भएपछि आत्मा आफ्नो पूर्व कर्म एवं संस्कार अनुसार पुन: नयाँ शरीरमा देखा पर्दछ , त्यो नै हाम्रो आत्म सिद्धान्त हो |

आधुनिक जीव विज्ञानी अध्येताहरुले यस पृथ्वीमा लगभग १३ लाख जीव जन्तु तथा त्यसका प्रजातिहरू पत्ता लगाएको कुरो सगौरव प्रस्तुत गरेकाछन | उनीहरुको खोज अझै जारी छ र उनीहरुले सबै प्रजातिहरुको नाम समेत पत्ता लगाएका छन् | अझैपनि लाखौँ प्रजातिहरुको नाम खोज्दैछन अध्ययन गर्न बाँकीनै छ | प्रतिवर्ष लगभग थप १५००० नयाँ प्रजातिहरु भेटिंदैपनि छन् | पछिल्लो २०० बर्ष सम्ममा १३ लाख प्राजातिहरु खोजियो भनिएको छ , अझै खोज्न बाँकीनै छ | गणितीय हिसाबले बैज्ञानिकहरुले लगभग ८७ लाख जीवजन्तु हुनसक्ने आंकलन गरेको पढ्न पाइएको छ |

निष्कर्ष
======

अब मेरो कुरो थपम | आधुनिक विज्ञानले ८७ लाख जीव जन्तुको कुरो कोट्याएको छ | आजका दिनमा हाम्रा पूर्खाले उल्लेख गरेको संख्या विज्ञानले प्रमाणित गर्ला , किनभने महाभारतकाल भन्दा अघिको 8४ लाख योनिको अवधारणा पद्म पुराणहरुले ल्यायो | सनातन हिन्दू अवधारणामा शृष्टिको प्रक्रिया अनन्तकाल देखि अनन्तकाल सम्म चल्ने प्रक्रियापनि हो जसको अन्त्य महाप्रलयकालमा मात्र हुने मानिन्छ | त्यसैले यतिका समयपछि पृथ्वीमा आएको वातावरणीय तथा जैविक परिवर्तनको कारणले गर्दा पशु र जीवात्माहरुको संख्यामा घटी वा वृद्धि हुनु ठूलो कुरा हुन सक्दैन |

आधुनिक विज्ञानको मत :
================
Einstein को सिधांतले भन्छ :

” Energy cannot be created or destroyed, it can only be changed from one form to another ”
उर्जा ( शक्ति ) उत्पादन गर्न वा नष्ट गर्न सकिन्न तर एक रुपबाट अर्को रुपमा परिवर्तन गर्न सकिन्छ |

उदहारणको लागि :-
विधुत शक्तिलाइ प्रकाश शक्तिमा :- बल्ब द्वारा |
विधुत शक्तिलाइ गतिको शक्तिमा :- पंखा, पानीको मोटर आदि|

त्यसरी नै हाम्रो भौतिक शरीर चलाउने शक्ति जसलाई आत्मापनि भनिन्छ त्यो एक रूपबाट अर्को रुपमा प्रवेश गर्दछ |

उपरोक्त सिधांत Einstein ले हाम्रो गीताबाट चोरेका थिए भन्दा के चाहीं बिग्रला र ?किनभने ,

न जायते म्रियते वा कदाचिन्-
नायं भूत्वा भविता वा न भूय: ।
अजो नित्य: शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।। … गीता २ /२ ०

यो आत्मा कुनै काल खण्डमा न जन्मिन्छ न मर्छ न उत्पन्न नै हुन्छ किनभने यो अजन्मा, नित्य, सनातन र पुरातन छ | शरीर मरेर गएपनि यो कहिल्यैपनि मर्दैन |

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ।। …गीता २ /२ २

जसरी मान्छे पुरानो लुगा फेर्छन त्यसरीनै जीवात्मा पुरानो शरीर त्यागेर नया शरीर प्राप्त गर्दछ |

Einstein ले उपरोक्त दुवै श्लोकहरु मिलाए Soul लाई energy भने बाँकी साराकुरा जस्ताको त्यस्तै राखीदिए अब यी चोर नभए के हुन् आफै बिचार गर्नोस |

“When I read the Bhagavad-Gita and reflect about how God created this universe everything else seems so superfluous.”
― Albert Einstein

माथिका कुराहरुले के कुरा स्पष्ट तुल्याएको छ भने हाम्रा प्राचिन ग्रन्थहरुमा वर्णित यी जानकरीहरु हाम्रा पुर्खाहरुको हजारौं बर्षको खोज हो | उनीहरुले पृथ्वी ,आकाश र समुद्रको गहिराइमा भएका अनेकौं जीव जन्तुहरुकोपनि अध्ययन गरेका थिए | उनीहरुले विमान बनाएका थिए भने पानीमा डुब्ने जहाज(submarine) पनि बनाएका थिए होलान नत्र समुन्द्रका अथाह गहिराइमा उत्पन्न हुन पुगेका तमाम जीवजन्तुहरूको वर्णन ती ग्रन्थहरुमा गर्न सक्ने थिएनन भन्नेकुरा हामी सहजै अनुमान गर्न सक्दछौं | पर्याप्त अध्ययन , जानकारी र भाषागत कठिनाइको कारण सनातनी हिंदूहरु अहिले आएर अल्प ज्ञानले ग्रसित भएर अविश्वास गर्दै विभिन्न पन्थहरुमा बाँडिन पुगेका छन् | कोही वेद मान्दछन पुराण झूठो हो भन्दछन ,कोही कृष्ण बाहेक कसैलाई मान्दैनन तर स्मार्त सनातनीहरु सबै ग्रन्थहरुप्रति उत्तिकै श्रद्धा राख्दछन | हामीले आफ्ना पौराणिक र अन्य ग्रन्थहरुको ज्ञान र त्यसप्रति श्रद्धा राख्नै पर्दछ ताकि आर्थिक समृद्धि र ज्ञानले पुनः यो पवित्र भूमि यस हिमवतखण्ड आजको विश्वको आँखाको नानी हुन सकोस | अस्तु -प्रवीण अधिकारी

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *