प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने कुनै पनि जबर्जस्तो स्वीकार्य नहुने बताएका छन्। संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई अधिकार दिएको उल्लेख गर्दै अब अधिकारप्राप्तिका नाममा हुने जबर्जस्ती स्वीकार नहुने बताए।
अधिकारप्राप्तिको हाम्रो राजनीतिक अभियानमा अब प्रयोगको चरण सकिएको छ’, प्रधानमन्त्रीले भने, ‘प्रयोग गर्न बाँकी भए ‘शीघ्र र तीब्र’ विकासको मोडेलको मात्रै छ। बहस र तर्क बाँकी भए अब यसैमा खर्चिनु पर्छ।’
लोकतन्त्रका लागि भएका आन्दोलनहरू सफलतामा टुंगिएको बताउँदै प्रधानमन्त्रीले अब अधिकार प्राप्तिको नाममा अवाञ्छित उद्देश्य बोकेका तत्वहरूको क्रिडास्थल बनाउन नहुने बताए।
‘मैले भन्दै आएको छु– लोकतन्त्रकालागि हुने हाम्रो आन्दोलन सफलतामा टुंगिएको छ। यस्तो आन्दोलनले असान्दर्भिक पक्षलाई फ्याँक्ने र नयाँ इनोभेटिभ पक्ष लागू गर्ने माग गर्छ। त्यहाँ नागरिक अधिकारको पक्ष प्रमुख हुन्छ’, प्रधानमन्त्रीले भने, ‘तर अब अधिकार प्राप्तिको नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने र अवाञ्छित उद्देश्य बोकेका तत्वहरूको क्रिडास्थल बनाउने कार्य स्वीकार्य हुँदैन।’