Best Online News From Nepal

अन्तिम आलेख – अभागी भीष्म पितामह |

प्रवीण अधिकारी

19396811_652955058244333_3746795671212678976_n

==========================
भीष्म पितामह कुरू राजा शन्तनुका गङ्गा पट्टिका छोरा थिए जो प्रख्यात राजनीतिक एवं रणनीतिक शास्त्रज्ञ मानिन्थे | यिनी अष्टवसुहरु मध्ये आठौँ वसु द्दौको अंशबाट जन्मिएका थिए भनेर वर्णन पाइन्छ [म.आ.९०.५०] | यिनको मूल नाउँ ‘देवव्रत’ मानिन्थ्यो | गंगाको छोरो भएका कारण इनलाई ‘गांगेय’ ‘जाह्रवीपुत्र,’ ‘भागीरथीपुत्र’ आदिपनि भन्ने गरिएको थियो | शव्दकोष अनुसार भीष्मको शाब्दिक अर्थ ‘भयंकर’ भन्ने जनिन्छ | यसको अर्थ इनले आफ्ना बाबु शन्तनुको सुखभोगकोलागि आजंम अविवाहित रहने निर्णयगरी राज्याधिकार नलिने प्रण गर्नसकेको कारण इनलाई ‘भीष्म’ भनिएको हो भन्नेकुरामा सबैको मतैक्यता रहेको पाइन्छ | यिनी राजकुमारपनि हुन | यिनलाई युवराज घोषणा गरिएपनि इनी आफ्नो जीवनमा लगभग १८६ बर्ष बाँचेरपनि कहिल्यै राजा हुन सकेनन , परिस्थितिले त्यो मौका आउन दिएन | यसवाहेक जुन कुरुवंशकोलागि उनी आजीवन ब्रह्मचारी भएर बसे , जस्कोलागि बोल्न सक्ने कुरोपनि बोलेनन् र मौन भएर त्यस वंशको चिरायूकोलागि टार्ने प्रयास गरे त्यै कुरूवंश यिनका आँखो अगाडि भष्म भएर गयो | आफ्नो नश्वर जीवन लगभग १८७ बर्ष वाचन सफल देखिएका इनको सम्पूर्ण कोशिश इनकै आँखो अघि सकिएको थियो | चित्रांगद, विचित्रवीर्य, पाण्डु, धृतराष्ट्र जस्ता अल्पायु, कमजोर एवं शारिरीक रुपमा रोगी राजाहरुलाई सँधै आफ्नो काँध थापेर सम्हालेका भीष्मलाई त्यो महाभारतको युद्धले जोगाउन सकेंन | मरणासन्न अवस्थामा पुगेपनि प्राण त्याग्न सकेनन | यिनी घाइते हुँदा सूर्य दक्षिणायनमा थियो | उनले आफ्ना बाबुबाट ईक्षामृत्यु वरदान पाएका कारण प्राणलाई रोकेर राखी माघ शुल्क अष्टमीमा अर्थात सूर्य उत्तरायण भएपछि मात्र इनको प्राण पखेरु उडेको थियो [म.अनु.१६८.७] ,[निर्णयसिंधु पृ.१६३] | इनको मृत्यु विनशन क्षेत्रमा भएको मानिन्छ [भा.१.९.१] | इनी उमेरमा आफ्नी सौतेनी आमा सत्यवतीको समतुल्य थिएभने तिनकै सत्यवती पुत्र व्यास, उनको कौमार्य अवस्थामा जन्मिन पुगेका थिए जो इनि भन्दा निकै कान्छा मानिन्थे |

अटल व्यक्तित्त्व
=============
महाभारतमा महर्षि व्यासले भीष्मलाई पराक्रमी एवं ध्येयनिष्ठ राजर्षिको रुपमा चरित्रचित्रण गरेका छन् | जमादग्निका छोरा परशुराम जस्तै इनले धेरैलाई युद्धमा हराएका हुँदा भीष्म महाभारतकालीन समयका सर्वश्रेष्ठ पराक्रमी क्षत्रियमा गनिन पुगेका हुन् | कुरुकुलको संरक्षण गरी त्यस कुलको प्रतिष्ठा बढाउनु भीष्मको आफ्नो जीवन भरीको उद्देश्य रहेको थियो | कुरुवंशीय राजा शंतनुदेखि चित्रांगद, विचित्रवीर्य, पाण्डु, धृतराष्ट्र ,दुर्योधन सम्म कौरववंशको ‘संरक्षकको रुपमा देखा परेका भीष्मले आफ्नो पूर्ण तरुणकालमापनि भोग विलासमा कहिल्यै लाग्न पाएनन र वृद्धावस्थामापनि मोक्षप्राप्त गर्न लालायित भएको देखिएनन | उनको चाहना कुरुवंशको कल्याण र प्रतिष्ठा राख्नमै वितेको थियो | त्यसैले युद्धको दशौँ दिन अर्जुनलाई मलाई युद्धमा हराउन दुनियाँको कुनै शक्तिले सक्तैन | तर , मेरो दुर्भाग्य नै हो कि म हारेर मात्र मृत्यु प्राप्त गर्न सक्छु भन्न पुगेका थिए | त्यसैले तिमी मलाई हरेक हथकण्डा अपनाई हराएर विजय प्राप्त गर भनेर आफ्नो मृत्युको जानकारी गराउन उनले संकोच मानेनन् |

योग्यता
======

भीष्म सर्वशास्त्रवेत्ता, परमज्ञानी एवं तत्त्वज्ञानका महापंडित नै मानिन्थे | कुनैपनि विषय वस्तुको समस्या तुरुन्त सुल्झाउन सक्ने क्षमता उनमा सुरक्षित रहेको थियो | जुनसुकै विषयवस्तुको शंका निवारण गर्न उनी सक्तथे | उनी सात्त्विक विचारधाराका उदार महापुरुष मानिन्थे | इनको रणकुशलता , राजनीति, अर्थशास्त्र, एवं अध्यात्मज्ञान , धर्म, नीति, एवं दर्शनको ज्ञान तत्कालिन समयमा वहु प्रचारित हुन् पुगेको थियो | इनि हरेक विषयका परमवेत्ता मानिन्थे | इनकि आमा गंगाले इनलाई वसिष्ठ ऋषिको आश्रममा राखेर समस्त वेदमा पारंगत बनाउन लाएकी थिइन भने बृहस्पति तथा शुक्राचार्यले इनलाई अस्त्रशस्त्रको ज्ञान दिएका थिए | परशुरामबाट इनले अस्त्रशास्त्रका साथ धनुर्वेद, राजधर्म पढेका थिए [म.आ.९४.३१-३६] | यस वाहेक च्यवन र भार्गव ऋषिबाट सामवेद, वसिष्टबाट अध्यात्म, एवं मार्कण्डेय ऋषिबाट यतिधर्मको ज्ञानपनि पाएका थिए | शुक्र तथा बृहापतिका त् यी साक्षात् शिष्य नै मानिन्थे | इनलाई मार्न सक्ने कुसलता कसैसंग थिएन कारण इनले इच्छामृत्यु वर् आफ्ना बाबुबाट पाएका थिए | अर्थात इनले चाहेमा मात्र इनको मृत्यु सम्भव थियो [म.शां.३८.५-१६,४६.१५-२३] ।

जन्म
===
ब्रह्माको श्राप पाएका कारण गंगा पूरुवंशीय राजा शंतनुकी पत्नी बन्न पुगेकी थिइन् | वसिष्ठ ऋषिको श्रापको कारण जव इंद्रको आज्ञा पाएर अष्टवसुहरुले गंगाको पेटमा जन्म लिन पुगे त्यसमध्ये तिनका सात छोराहरु गंगामा फ्यालिए आठौँ छोरो द्द्यु नाउँ गरेको वसुको अंश थियो जसलाई फ्याल्न जाँदा शंतनुले विरोध गरेपछि तिनै भीष्म भनेर चिह्निंन पुगेका थिए | गंगा भीष्मलाई लिएर अन्तर्धान हुनपुगेकि थिइन | यी आठौँलाई ती वसुहरुले निःसंतान हुने श्राप दिएका थिए |आफ्नो छोरा भीष्म गंगालाई दिएर पठाएको करीब छत्तीस वर्षपछि एकदिन शंतनु हरिणलाई पिछागर्दै गंगानदी नजिक पुग्दा एकाएक गंगाको पानी कम हुन पुगेको देखे |उनी आश्चर्यमा परे | एउटा केटोले आफ्नो अचूक अश्त्रद्वारा गंगाको पानीको प्रवाह रोकेको देखेपछि उनी त्यस बच्चाको अस्त्रविद्या देखेर चकित भए [म.आ.९४.२२-२५] | त्यो बच्चो शंतनुपुत्र भीष्म नै थियो |तर उनले चिन्न सकेनन |त्यो केटो उनको दृष्टिबाट तुरुन्त ओझेल भयो | उनी छक्क परे तर कतै यो मेरै छोरो त होइन भन्ने उनको मनमा शंकापनि पह्लायो | त्यसैले उनले गंगालाई सम्बोधन गरेर पुनः देखाउने आग्रह गरे | त्यतिखेर गङ्गा सेतो पहिरनमा छोरो लिई निस्किन र पूर्वकथन दोहोर्याउदै भीष्म राजा शंतनुलाई सुम्पर अन्तर्ध्यान भइन [म.आ.९४.३१] |

भीष्मप्रतिज्ञा
========
शंतनुले गांगेय (भीष्म) लाई आफ्नो राजधानी हस्तिनापुर ल्याई तिनको युवराज्याभिषेक गरे [म.आ.९४.३८] | तर गंगाको विरहमा विरक्तिदै गएका शंतनु पुनः शिकार खेल्न जाँदा माझी कन्या सत्यवतीसंग नजिकिन पुगे | शंतनु उसलाई देखेर लोभिए र माझीलाई भेटि उसलाई प्राप्त गर्ने इच्छा जनाए तर माझीले ‘भीष्म हुँदा हुँदै सत्यवतीका छोराहरुले राज्य पाउन नसक्ने भएकोले दिन्न भनेपछि तिनका जन्मिने सन्तानलाई नै राज्याधिकार दिनेछु भन्ने भिष्म समेतको सहमतिमा प्रतिज्ञा गरिएपछि भीष्म आजंम ब्रह्मचारी रहने निर्णय गर्न पुगे र सधैं सत्यवतीको छोराछोरीको रक्षा गर्नमै तल्लिन भए [म.आ.९४.७९] | भीष्मले सत्यवतीलाई ल्याई दिएपछि तिमीले इक्षा मृत्यु पाउनेछौ भन्ने वरदान शन्तनुले भीष्मलाई दिन पुगेका थिए |[म.आ.९४.९४] |

उग्रायुधवध
========
शन्तनु वितेपछि तरुणी सत्यवतीलाई पाउन उग्रायुधले आशौच वारेको वेलामा भीष्मसंग लडाइ गर्यो | तीन दिनसम्म चलेको सो युद्धमा भीष्मले उग्रायुधको वध गरे [ह.वं.१.२०.४९-७१];[ म.शां.२७.१] | विचित्रवीर्यको विहे योग्य उमेर भएपछि एकदिन भीष्म काशिराजका स्वयम्वर गर्न ठिक पारिएका तीन छोरीहरु त्यहाँ एकत्रित भएका राजाहरुलाई हराई हरण गरेर ल्याउन सफल भएका थिए |तर जेठी अंबा छोडी विचित्रवीर्यको बिहे अंबिका एवं अंबालिका संग भयो |अंबाले विचित्रवीर्य संग बिहे गर्न मानिनन किनभने उनी शाल्वलाई चाहान्थिन | अंबा शाल्वनिर गइन | शाल्वले अस्विकार गरेपछि उनी फर्केर भीष्मका नजिकमा आई – म शाल्वसंग बिहे गर्न चाहान्थे तर तिमी बाधक भयौ अब तिमीले मेरो हरण गरेकोले तिमी म संग बिहे गर भन्दा भीष्म तयार भएनन् | एकदिन अंबाको भेट आफ्ना हजुर्वा होत्रवाहन सृंजय संग हुँदा सहयोग मागिन | उनले परशुराम कहाँ जाने सल्लाह दिए | परशुरामले म भीष्म संग युद्ध गर्दिन मैले ब्राह्मणको रक्षार्थ मात्र शास्त्र छुने प्रतिज्ञा गरेको छु भने | तर , म उसको गुरु भएकोले भीष्मलाई सम्झाउने कुरो गर्नेछु भनेपछि परिस्थितिले उनको भिष्म संग युद्ध भएरै छाड्यो | गंगाले युद्ध रोक्न प्रयत्न गरिन | परशुराम र भीष्म विच ४ दिन युद्ध भयो [म.उ.१७६-१८६] | ‘प्रस्वाय अस्त्र’ को बलले भीष्मले परशुरामलाई हराए [म.उ.१८७.४] | त्यै पनि अंबाले छोडिनन | गंगाले अम्वालाई टेढो हुने श्राप दिइन | अम्वाले शिवको उपासना गरेर अर्को जन्ममा शिखण्डी भएर जन्मी भीष्मको मृत्युको कारण बन्ने बरदान पाईन [म.उ.१७०-१९३] |

विचित्रवीर्यको मृत्यु
=============

सात वर्ष राज्यभोग गर्दागर्दै अति भोगविलासमा मग्न हुन पुगेको विचित्रवीर्य राजयक्ष्मा रोगले पीडित भई मरे | तिनका कुनै सन्तान भएका थिएनन |यो अवस्था देखेर कुरू वंश मासिने चिन्ता बढेर गयो | सत्यवती वहुलाउन थालिन | भीष्म छटपटिए | क्यै उपाय नभएको अवस्थामा नियोग प्रथालाई आपतकालीन धर्म मानेर प्रयोग गर्ने निधो भयो अनि सत्यवतीले व्यास मार्फत नियोग गराई विचित्रवीर्यका राज्य उत्तराधिकारीको रुपमा दुईटा छोराहरु प्राप्त गरिन |

धृतराष्ट्र र पाण्डुको जन्म
================
विचित्रवीर्यका जेठा छोरा धृतराष्ट्र जन्मांध हुन पुगे |त्यसैले भीष्मले विचित्रवीर्यको ठाउँमा पाण्डुलाई बसाए | उनी बाँचेनन उनीपनि छिटै मरे | धृतराष्ट्रको व्यबहार आफ्ना र पाण्डु सन्तानप्रति भिन्न हुन पुगेको कारण कौरव र पाण्डुका छोराहरु विच खाडल हुन पुग्यो | शंतनुका कालखण्ड देखिनै हस्तिनापुरलाई डोर्याउँदै आएका भीष्म धृतराष्ट्रको पक्षपाती व्यवहार महशुश गर्दै गरेको वेला द्रुपद राजाको पुरोहितले भीष्म संग धृतराष्ट्रले आफ्ना छोरा प्रति सजग र पाण्डवहरु प्रति उपेक्षित व्यवहार गरेको कुरो गरेपछि त्यो कुरो स्वीकार्दै पाण्डवहरु पट्टि पुरा ध्यान दिने आश्वासन दिनेछु भन्न बाध्य भए [म.उ.२१] । युधिष्ठिरले गरेको राजसूययज्ञमा पाण्डवहरुले चतुर्दिश दिग्विजय प्राप्त गरेर यशःकीर्ति प्राप्त गरेको वर्णन हुन पुग्यो | पाण्डवहरुको यो दिग्विजय देखेर भीष्मले कर्णलाई भनेका थिए , ‘अर्जुन तिमी भन्दा पराक्रमी छ भन्नेकुराको उदाहरण अझै दिई रहनु पर्छ र ? पाण्डवहरुको यो दिग्विजयको कारण अर्जुन नै हो | भीष्मको यस्तो कठोर वचन सुनेर कर्ण असह्य हुने पुगे , र भन्न थाले उ अर्जुन भन्दा निकै श्रेष्ठ हो यति भन्दै कर्ण दिग्विजय गर्न निस्के [म.व.परि१. क्र.२४] |

महाभारत युद्ध
==========
पाण्डव संग वन्धुत्व भाव राख भनेर भीष्मले अनेकौं पल्ट दुर्योधनलाई सम्झाउँदापनि केई लागेन |आखिर कुरो युद्धको मोडमा आई पुग्यो | दुर्योधनको यस्तै मनमानी चल्दा भीष्मले आफ्ना विचारहरु आफै हत्या गरेको देखियो , उनले दुर्योधनलाई कहिल्यै भन्न सकेनन , राजालाई हप्काउन सकेनन |झन् कौरवपक्षको सेनापतित्वको भारपनि ग्रहण गर्नु पर्यो | त्यो भार वहन गर्नु अघि उनले दुर्योधनका सामू दुई शर्त राखे | पहिलो शर्त – पाण्डवहरु संग युद्ध गरेर तिनलाई अवश्य पराजित गर्नेछन तर युद्धमा कुनै पाण्डवको हत्या गर्ने छैनन | अर्को शर्त के थियो भने उसले युद्ध गरेको बेला कर्णले पाण्डवहरु संग युद्ध गर्न पाउने छैनन [म.उ.१५३.२१-२४] | कौरवसेनाको अधिपत्य स्विकार्दा भीष्मले दुर्योधनलाई ,म सेनाकर्म, व्यूहरचना, भृत एवं अभृत मान्छे द्वारा काम गर्न ,चलाउन सक्छु , सैन्य संचालन एवं आक्रमण काममा प्रवीण पनि छु | युद्धशास्त्रको ज्ञान मैले देवगुरु बृहस्पतिबाट पाएको हो |हेर दुर्योधन तिम्रो दायित्व म राम्ररी निभाउंला | एक महिना वित्नु भन्दा पहिलानै पांडवसेना ध्वस्त बनाउँला [म.उ.१९४] |

कौरव एवं पांडव सेनाको बलाबल
======================
महाभारत युद्ध शुरु हुनुभन्दा पहिला सेनापति भीष्मले कौरव एवं पांडवका चतुरंगिणी सेनाको विस्तृत जानकारी एवं बलाबल दुर्योधनलाई सुनाए [म.उ.१६४] | महाभारतको ‘रहसंख्यान’ पर्व [म.उ.१६१-१६९] मा प्राप्त जानकारी अनुसार जसरी पदिक , अश्वदल आदिमा सैनिकहरुको विभिन्न श्रेणी थियो ,त्यसरीनै कुशलताको हिसावमा रथसेनामापनि निकै श्रेणीहरु रहेको थियो | भीष्मले बताएको श्रेणी यस्तो थियो -रथयूथपयूथप, महारथ, अतिरथ, अर्धरथ तथा रथोदर | त्यस मध्ये रथयूथपयूथप सबै भन्दा ठूलो पद थियो भने रथीदार सबै भन्दा स्यानो |

कर्ण-भीष्म विरोध
===========
भीष्मले गरेको रथी महारथी वर्णनमा कर्णलाई रथी अथवा महारथी नभनेर केवल अर्धरथमा गणना गर्दा र द्रोणाचार्यले समेत त्यसमा सहमति जनाउँदा कर्णले आफ्नो अपमान सम्झेर क्रोधित हुन पुगे | अनि कर्णले दुर्योधनलाई बुढ्यौली लागेको कारण भीष्म मतिभ्रष्ट भएको बताए र यस्ता मतिभ्रष्ट मान्छेको सल्लाह लिनु मूर्खता हुने कुरो गरे | दुष्टबुद्धि भएका भीष्म कौरवमा फूट ल्याउँदै छन भनेर कर्ण उफ्रिए | उनले दुर्योधनलाई यस्ता मतिभ्रष्ट एवं दुष्टबुद्धि भएका बूढालाई अहिलेनै छोड भन्ने सल्लाह दिए | जबसम्म भीष्म कौरवसेनाका सेनापति रहन्छन तवसम्म म युद्धमा भाग लिन्न भनेर कर्णले उदघोष गर्न भ्याए [म.उ.१६५.१०-२७] | यो सुनेर भीष्मलेपनि क्रुद्धहुँदै दुर्योधनलाई भने ‘कवचकुंडल आदि त्याग गरेर निर्बल, एवं परशुराम तथा ब्राह्मणहरुको श्रापले इंद्रियदुर्बल हुन पुगेको पापी कर्णकोलागि , अर्धरथ जस्तो नीच श्रेणी नै योग हो | मलाई बुढो भन्ने हिम्मत तैले कसरी पोखिस | तलाई मेरो चुनौती छ र युद्धमा तलाई हराउने तागत अझै मेरो जर्जर पाखुरामा छंदैछ भनेर हाँक दिए | परशुराम जामदग्न्यलाई मैले रणभूमिमा हराएको हो |तँ जस्तालाई पराजित गर्नु मेरो बायाँ हातको खेल हो भनेर सुनाउन पुगे |आफ्ना गुरु भीष्म अनि परममित्र कर्ण विच भएको यस्तो वाकयुद्धले दुर्योधनलाई चिन्तामा डुबायो [म.उ.१६६.१-१०] |

सेनापत्य
======
महाभारत युद्धमा पहिलो १० दिन यिनी कौरव सेनाको अधिपति रहे | यिनको रथको पताका चिह्न ताडवृक्ष रहेको थियो [म.वि.१४८.५] | यिनले विरता पूर्ण लडे भन्ने कुरो कौरव पक्षले भन्दै भनेंन , सैन्यसंचालन गरेर पांडव सेनालाई ध्वस्त वा जर्जर बनाउन सक्ने खुवी भएपनि उनले जित्न सक्ने आशापनि निमिट्यान्न पार्न पुगे भन्ने आरोप लगायो | तर , इनकै कारण युद्धभूमिमा अस्त्र उठाउँदिन भनेका कृष्णले अस्त्र उठाउनु परेको थियो | त्यस युद्धको तेश्रो एवं नवौं दिन अर्जुनको रक्षा गर्न कृष्णले आफ्नो सुदर्शन चक्र बोकेर युद्ध भूमिमा निस्कनै पर्यो [म.भी.५५, १०२] | युद्धको तेश्रो दिन इनी र अर्जुन विच घनघोर युद्ध भयो , जसमा अर्जुन घाइते भएर मूर्च्छित हुन पुगे | यो देखेर कृष्ण अत्यधिक क्रुद्ध हुन पुगे र अर्जुनको रक्षाको खातिर हातमा सुदर्शन चक्र लिएर युद्धभूमिमा प्रवेश गरे | कृष्णको यस्तो रौद्ररुप देखेर भीष्मले आफ्नो अस्त्र शत्र भूईमा राखे , श्रद्धावान हुँदै कृष्णलाई भने , ‘स्वयं कृष्ण भगवान् बाटै मेरो हत्या हुँदैछ यो मेरो सौभाग्य हो | यस्तो भन्दै इनले भगवान कृष्णको स्तुति गरे | यसै विच अर्जुनको होस् फिर्यो र उनले कृष्णलाई तिमी युद्ध नगर म नै काफी छु भनेर अनुनय गरे |

दुर्योधनको आक्षेप
============
महाभारत युद्धको दशौँ दिन दुर्योधनले भीष्मलाई आक्षेप लाउँदै भने , ‘तपाइंको मन पाण्डवहरुप्रति अनुरक्त छ ,त्यसकारण हामीलाई तपाइंले जित दिलाउन सक्नु हुन्न | त्यो कुरो सुनेर भीष्मले चिन्तित हुँदै गंभीर मूद्रामा भने म बूढो भै सकेको छु त्यैपनि सकेको गर्दैछु | म मेरो कर्तव्यबाट च्यूत भएको चाहिं छुइन | पाण्डवहरुको बल र पुरुषार्थ उत्तम छ र यस रणभूमिकोलागि अजेय छ | त्यै पनि तिमी मेरो रणकौशल हेर्न चाहान्छौ भने भोली हेर | भोली कि त पाण्डवहरुको हार हुन्छ , या मेरो मृत्यु [म.भी.१०५.२६] | पाण्डवविहीन पृथ्वी बनाउने भीष्मप्रतिज्ञा सुनेर सबै पाण्डवहरु भयभीत हुन पुगे | किनभने तिनको सोचमा समस्त कौरवसेना भीष्मकै शक्तिको सिक्का मानिन्थ्यो | भगवान कृष्णले पाण्डवहरुलाई जोगाउन तिनीहरुको अगाडि आफ्नो विचार राख्दै भने -तिमीहरु आफ्नो जीवन चाहान्छौ भने भीष्मलाई मार्न सक्ने उपाय सोच , अन्यथा तिमीहरुले पराजित भएर प्राण उत्सर्ग गर्नु पर्नेछ |

कृष्ण र भीष्मको भेट
==============
नवौं दिन रातिको समय पारेर भगवान कृष्ण पाण्डवलाई साथ् लिई भीष्मलाई भेट्न उनको शिबिरमा पुगे | त्यतिखेर भगवान कृष्णले भीष्मलाई भने , तपाइंको प्रतिज्ञा सुनेर सबै पाण्डव आतंकित भएका छन |अब तपाइंको मृत्यु कसरी सम्भव हुन सक्छ बताउनोस , जसका कारण पाण्डवको रक्षा गर्न सकियोस | भीष्मले कृष्णका प्रश्नको उत्तर दिंदै भने – जसको रथको ध्वजा अभद्र छ , जो हीन जातिको हो , अथवा जो स्त्री हो त्यो संग म युद्ध गर्दिन | द्रुपद राजाको छोरा शिखण्डी पूर्वकालमा स्त्री थिए , पछि पुरुष बने | तसर्थ तिनलाई अगाडि राखेर अर्जुनले म संग युद्ध गर्न सक्यो भने मैले केहि गर्न सक्तिन र मलाई अर्जुनले सहजै यस युद्धमा जित्न सक्छ | यसो गरे पाण्डवले मलाई रणभूमिमा हराउन सक्छन र कौरवलाई जिती आफ्नो राज्य प्राप्त गर्न सक्छन [म.भी.१०३] | त्यसको भोलीपल्ट भीष्मले बताएको बाटो अनुशरण गरी शिखण्डीलाई अघि राखेर अर्जुनले पितामह भीष्मलाई पराजित गरे [म.भी.११३-११४] | भारतसावित्री ग्रन्थले भीष्मको शरीर पतन भएको दिन पौष कृष्णपक्ष सप्तमी तिथि र पूर्वा फ़ाङ्गुणी नक्षत्र हो भनेर बताएको छ बताएको छ |

शरशय्या
======
भीष्मको घाइते हुँदा उनको शरीर बाणद्वारा सजिएको थियो | रथबाट झरेर उनी बाणमै पल्टिएको देखियो |उनको टाउकोमा वाण लागेको थिएन तर झुण्डी रहेको देखेर अर्जुनले त्यहाँ तीन बाण थपेर सिरानी बनाई दिएका थिए | भीष्मले तिर्खा लाग्यो भन्दा अर्जुनले एक वाण हानेर गंगा नदीको प्रवाह त्यहाँ तानेर ल्याई भीष्मको तीर्खा मेटाएका थिए | [म.भी.११५] | भीष्म पितामह पल्टेको वखत धेरै ऋषि, मुनि, देवी देउतादि इनको दर्शन गर्न आएका थिए |त्यतिखेर उनले ऋषिंमुनि सहित सबैलाई उपदेश दिएका थिए |त्यतिखेर दुर्योधनले मेरो मृत्यु कौरव पाण्डव बीच हुन पुगेको वैरभावको अन्तिम आहुति हुन पुगे हुन्थ्यो भन्न पुगे |यसो भए तिमीहरु सबै मर्नबाट जोगिनेछौ |

इनले आजीवन कर्णलाई हेय दृष्टिले मात्र हेरे , कारण उ जन्मले हीन थियो | कर्णपनि हृदय देखिनै यी बुढाको आदर सत्कार गर्न सक्तैनथ्यो | तर , अन्तिम समयमा जब कर्ण यिनलाई भेट्न आयो त्यतिखेर उसले सारा भेदभाव विर्सेर दृढ आलिंगन गर्दै सदुपदेश दिए र भने कि तिमी कौरव पाण्डव बीच मित्रता गराउ ,कि कौरवहरु छोडेर पाण्डव संग मिल | त्यतिखेर दुर्योधन प्रति समर्पित कर्णले भिष्मलाई भने दुर्योधन मेरो साथी हो त्यसैले सक्नुहुन्छ भने कौरवकै पक्षबाट लडेर पाण्डवहरुलाई हराउन सक्ने बरदान दिनोस भन्न पुगेको थियो | भीष्मले कर्णको त्यो कुरो सुनेर वास्ता गरेनन [म.भी.११६-११७] | महाभारत युद्धमा कुरुवंश बन्धुहरु विनाश भएको देखेर युधिष्ठिर निकै शोकमग्न हुन पुगे | युधिष्ठिरलाई यो अवस्थामा देखेर भीष्मले उनलाई धर्मोपदेश दिए | युधिष्ठिरलाई धर्मोपदेश दिंदा भीष्म शक्तिहीन हुन पुगे तो देखेर कृष्णले उनलाई आफ्नो शक्ति दिएर उपदेश दिने योग्य बनाइ दिए [म.शां.५२];[ भा.१.९,९.२२.१९] | यो संवाद महाभारतमा ‘शान्ति’ एवं ‘अनुशासन’ पर्वमा परेको छ जसलाई जीवनको परम सत्य प्राप्त गर्न पथनिर्देश गर्ने सर्वश्रेष्ठ ज्ञान मानिएको छ |

भीष्मचरित्र कलंकित क्षण
===============
भीष्म कौरववंशको प्रकाशस्तम्भ थिए , उनले जीवन भरी आफ्नो चरित्र, काम , रीतिनीतिले आलोकित गरेर संमार्ग मात्र बताए तर कौरव पाण्डवको सभामा निर्वस्त्र गराउन लागेकि द्रौपदीले विलाप गरेर भीष्म संग न्याय माग्दा भीष्मले तिनको दीनहीन दशा तिर ध्यान नदिई तिनलाई त्यो अवस्थामा पत्नीधर्म पाठ पढाउन खोजे | द्यूत खेलमा धर्म अर्थात युधिष्ठिरले आफुलाई , समस्त पाण्डवलाई र द्रौपदीलाई हार्दापनि यिनी चुपै लागेर बसे | कौरव द्रौपदीको लोकलज्जा हरण गर्दा तिनको उपहास गर्न थाले , त्यो देखेरपनि अरु बुढा सरह उनीपनि चुपो लागेर बसे | द्रौपदीले न्यायको भिख माग्दा इनी क्यै बोल्न सकेनन | इनी पाण्डव तथा कौरव दुबैका आफ्ना थिए , परम धर्मात्मा, न्यायी एवं उचित अनुचित सम्झिनेपनि थिए ,त्यो भन्दा नि ठूलो कुरो उनी सबै भन्दा बूढो , कौरववंशको कर्ताधर्ता प्रमुख व्यक्तिपनि थिए | द्रौपदीले इनलाई प्रश्न गरिन , ‘धर्मराज जब कौरव संग हारी सकेका छन् , तब उनी संग के अधिकार छ र तिनले मलाई दाउमा लाए ? भीष्मले आलटाल गर्ने जवाफ दिएका थिए – हो अधिकार छैन , उनले तिमीलाई दाउमा लाउनु हुदैन थ्यो त्यसैले तिमीलाई कसैले जित्न सक्तैन तर तिमीले एउटि स्त्री संधै आफ्ना पतिका अधिनमा रहन्छिन त्यस्ले गर्दा उसको आफ्नी पत्नीमा संधै अधिकार रहन्छ भन्नेकुरा बुझ्न सक्नु पर्छ भन्न पुगेका थिए | आज तिम्रा पति युधिष्ठिर कौरवहरुको दास हो , अब एउटी आर्यपत्नी भएको कारण तिमीपनि ती दासकि दासी हौ [म.स.६०.४०-४२] | भीष्मको यो कुरो सुनेर द्रौपदी सन्तोष गर्न सक्नुको साटो अझ उद्विग्न बन्न पुगिन | उनको चाहना भीष्मले त्यसरी आर्तनाद गर्ने कुलवधूको लुटिदो लज्जा देख्दा , दुर्योधनले गरेको उनीप्रतिको व्यवहारको खण्डन गर्लान र उनको नारीत्वको रक्षा गर्लान भन्ने ररहेको थियो | तर ,भीष्मले त पतिको आज्ञा पालन गर भन्दा उनी खिन्न भइन [म.वि.परि.१.६०.२५-४५] |

भीष्मको धमिलो व्यवहार
================
भीष्मको चरित्र जति उज्ज्वल देखिन्छ त्यतिकै धमिलो पनि | कौरवले द्यूतमा पाण्डवहरुलाई बोलाएर कपटपूर्ण झेल गरेर जित्ने योजना बनाएको कुरो उनलाई थाहा भएपनि उनले दुर्योधनलाई रोक्ने प्रयाश कुनै बेला गरेनन | दुर्योधनले हजारौं पल्ट मेरो बाटो न्यायको होइन अन्यायको हो ,त्यसैले म अन्यायी हुँ भन्दापनि उनले आफ्नो आदर्श विपरित भएको जान्दाजान्दैपनि महाभारतको युद्ध लडन गए |दुर्योधनलाई आफ्नो राजानै माने ,उनलाई साथ् नै दिए | अर्कोतर्फ युद्धनीति विरुद्ध, इनले आफु मर्ने रहश्य कृष्ण र युधिष्ठिरलाई बताई दिएका थिए जो त्यस युद्धका विपक्षी थिए | यिनै कमजोरी देखेर इनको प्रसस्त आलोचना हुने गर्दछ |

अर्थस्य पुरुषो दासः
============
कौरव पक्ष अन्यायी छन भन्ने कुरा थाहा पाएरपनि इनले किन तिनीहरुको साथ दिए त भन्दा त्यसको स्पष्टीकरणमा भीष्मले महाभारतमा यस्तो भनेको देखिन्छ –

अर्थस्य पुरुषो दास:’ दासस्त्वर्थो न कस्यचित् ।
इति सत्यं महाराज, बद्धोऽस्म्यर्थेन कौरवैः॥

(पुरुष अर्थको दास हो , त्यो भनेको अरुकसैको दास होइन , हे महाराज, यो सत्य हो , कौरवले मलाई अर्थले बाँधेका छन् ) उनको भनाई साधारण रुपमा अर्थ (धन, संपत्ति) नै भन्ने बुझिन्छ तर , यदि हामीले इनले भनेको कुरो विचार्दा भीष्मले भनेको शब्द इनको आदर्शात्मक जीवनको ध्वाँसो हो जसले उनको सम्पूर्ण व्यक्तित्व ढाकेको छ | तर, ‘अर्थस्य पुरुषो दासः’ शब्दको अर्थ त्यो होइन जुन भीष्मले बोले र आफ्नो विवशताको रुपमा अर्थ्याए किनभने त्यो कुरो संपत्तिको विषयमा नभएर राजनैतिक कुरोसंग सम्बन्धित थियो |कौटिल्यको अर्थशास्त्र’ ले अर्थको व्याख्या ‘राजनैतिक कर्तव्य’ हो भनेको छ |यसरी राजनैतिक कर्तव्यले बाँधिएका भीष्म आफ्नो व्रत अनुसार, आजीवन कौरव पक्षको दुःखसुखमा सदैव सक्रिय र क्रियाशील भएर कर्ताधर्ता हुन पुगेका थिए | यसरी हेर्दा उनको भनाई अनुचित देखिन्न | भीष्मले जस्तै द्रोण, कृप एवं शल्य आदिले पनि ‘अर्थेन बद्ध;’ नै भनेर दुर्योधनको पक्ष स्वीकारेका थिए | द्रोण दक्षिणपांचाल देशका राजा थिए , शल्य युधिष्ठिरका मामा तथा मद्रका राजा रहेका थिए |यी सबै राजा महाराजाहरु ‘अर्थेन बद्ध;’ कथनको तात्पर्य , ती सबै दुर्योधन संग वचनबद्ध थिए भनेको हो , त्यसैकारण उनीहरु दुर्योधनको पक्षमा सामेल हुन पुगेका थिए [म.भी.४१.३६-३७, ५१-५२, ६६-६७, ७७-७८] |

अन्य धूमिल स्थल
===========
आधुनिक दृष्टिकोण राखेर हेर्न सक्दा आफ्ना बाबुको भोगपिपासा तृप्ति गर्ने भीष्मले यत्रो ठूलो ब्रह्मचर्य व्रत पुरा गर्ने निर्णय किन गरे ? त्यसैकारण, उनले आफ्नो कर्तव्य निकैपल्ट उपेक्षा गर्न पुगे | तर जिन्दगी भरी जोगी जस्तो भएर बसेपनि उनी आफ्नो प्रतिज्ञामा अटलनै रहन पुगेका थिए | इनले आजन्म ब्रह्मचर्य व्रत नलिएको भए कुरुवंश दुई भागमा बाँडिएर झगडिदै समाप्त हुन सक्ने थिएन |चित्रांगद तथा विचित्रवीर्य जस्ता सन्तान जन्मिने थिएनन जो अल्पायु मै मर्न पुगे | पांडु तथा धृतराष्ट्र जस्ता छोराहरु जन्मिने थिएनन |एउटा क्षय रोगले मरे अर्को जन्माध जन्मिए |यसको कारण एउटै थियो , ती सबै नियोगद्वारा जन्मिएका थिए | उनीहरुमा तेज, बल तथा शक्ति थिएन | भीष्म त्यस्तो शक्ति थियो तर , उनले कर्मपथमै हठ भित्र्याएर निष्क्रिय धर्मपथ अपनाउन पुगेका थिए | अस्तु -प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *