Best Online News From Nepal

अन्तरिक्षमा चिनको दोस्रो प्रयोगशाला, मानवयुक्त यान पठाइँदै

चीनले आइतबार चालु वर्षको उत्तराद्र्धमा पृथ्वी कक्षमा दोस्रो अन्तरिक्ष प्रयोगशाला पठाउने घोषणा गरेको छ । उक्त प्रयोगशालामा एउटा मानवयुक्त यान पनि पठाइने भएको छ । टियानगोङ–२ पाँच वर्षको बीचमा चीनले स्थापना गर्न लागेको दोस्रो अन्तरिक्ष प्रयोगशाला हो । प्रयोगशाला प्रक्षेपण सफल भएमा सेनझाउ–११ नामक यान दुई अन्तरिक्ष यात्री बोकेर पृथ्वी कक्षतर्फ जानेछ । त्यसले त्यहाँ टियानगोङसँग जोडिन कोसिस गर्नेछ ।

त्यसअघि चीनले लङ मार्च ७ नामक रकेट परीक्षण गर्दै छ, जुन सन् २०१७ को सुरुआतमा टियानगोङका लागि कार्गो बोकेर जानेछ । ‘लङ मार्च ७ हाम्रो मानवयुक्त अन्तरिक्ष कार्यक्रमका लागि विकास गरिएको पछिल्लो रकेट हो,’ चिनियाँ अन्तरिक्ष कार्यक्रमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘हाम्रो मध्यम आकारका रकेटका पछिल्लो पिँढीका लागि यो प्राथमिक मोडल हो । यसको प्रक्षेपणबाट चीनको अन्तरिक्ष क्षमतामा व्यापक सुधार आउनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यी सबै परीक्षण सन् २०२० सम्म आफ्नै अन्तरिक्ष स्टेसन बनाउने चीनको बृहत्तर लक्ष्यसँग जोडिन्छन् । टियानगोङ शृंखला अन्तरिक्ष केन्द्रकै प्रारूप हुन् । विज्ञप्तिमा अन्तरिक्ष कार्यक्रम योजनाअनुसार अगाडि बढिरहेको उल्लेख छ । टियानगोङ–१ लाई २०११ को सेप्टेम्बरमा पृथ्वी कक्षमा पठाइएको थियो । एउटा मानवरहित यान केही सातापछि त्यसमा गएर जोडिएको थियो । मानवयुक्त यानहरूचाहिँ पछिल्ला दुई वर्षमा लगातार जोडिन पुगे ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *