Best Online News From Nepal

अनुदानयोग्य घरधनीको सूची आयो, कोको परे सूचीमा ?

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३ सय ८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ । तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य ३ लाख ९ सय ६१ घरधनीको सूची भूकम्प गएको एक वर्ष पुगेकै मितिमा सार्वजनिक भएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणले जनाएको छ । प्राधीकरणका अनुसार अनुदान पाउनयोग्य घरधनीको सङ्ख्या ओखलढुङ्गामा १५ हजार ५, सिन्धुलीमा २१ हजार १ सय १४, रामेछापमा ३० हजार ५ सय १९, दोलखामा ४९ हजार ७ सय ५१, सिन्धुपाल्चोकमा ३५ हजार ३ सय ८, काभे्रपलाञ्चोकमा ४० हजार २ सय ६४, नुवाकोटमा ३८ हजार २ सय ३५, रसुवामा ५ हजार ४ सय १७, धादिङमा २३ हजार ४ सय ४०, मकवानपुमार ७ हजार ४ सय १२ र गोरखामा ३४ हजार ४ सय ९६ छ ।

तथ्याङ्क सङ्कलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ । गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले करिब आठ लाख घर पूर्ण रुपमा क्षति भएको थियो । अनुदान सम्झौता भएपछि सरकारले तीन किस्तामा क्रमशः ५० हजार, ८० हजार र ७० हजार रुपैँया गरी २ लाख भूकम्पपीडितलाई रकम वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *