Best Online News From Nepal

अनुदानमा ५८ लाख बढीको सुधारिएको चुलो

काभ्रेपलाञ्चोकको छ गाविसमा रु ५८ लाख ८० हजार बराबरको १ हजार ६ सय ८० सुधारिएको चुलो अनुदानमा भूकम्पपीडितलाई वितरण गरिएको छ । दैवी प्रकोप उद्धार समिति, काभ्रेपलाञ्चोकको संयोजनमा सो चुलो वितरण भएको हो । जिल्लाको बेखसिम्लेमा २ सय ८०, च्यासिङखर्कमा ७ सय ५२, च्याम्रेङबेँसीमा २ सय ९८, पोखरी नारायणस्थानमा ६७ र सरमथली गाविसमा २ सय ८३ सुधारिएको चुलो वितरण भएको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमले जानकारी दिए । दुर्गम क्षेत्र, स्रोत तथा साधनको पहुँच नभएको क्षेत्र र भूकम्पका कारण विस्थापित भएका परिवारलाई लक्षित गरेर सुधारिएको चुलो वितरण भएको उल्लेख गर्दै गौतमले जिल्लामा भूकम्पका कारण मात्रै २० हजार सुधारिएको चुलो नष्ट भएको बताए । उनले जिल्लाको मिल्चे, माझिफेदालगायतका अन्य केही दुर्गम गाविसमा पनि अनुदानमा सुधारिएको चुलो माग भएको जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराउने बित्तिकै वितरण गरिने बताए । ३ हजार ५ सय रुपैँया पर्ने सो चुलो प्रयोग वातावरणमैत्री हुने भएकाले जिल्लामा त्यसको माग बढी छ ।

– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *