Best Online News From Nepal

अग्रणी अग्नि ,यज्ञ पुज्ने नेपाली समाजको विश्वलाई देन

प्रविण अधिकारी————

 

16797229_10154419612603753_8950852498602695295_o 18342331_10154656087758753_7330440500986138751_n (1)

 

18342331_10154656087758753_7330440500986138751_n

 

अग्रणी अग्नि र नेपाली समाज |
अग्निको परिचय
===========
अग्नि उर्जाको शसक्त श्रोत हो ,जसले हामीलाई उष्णता दिन्छ,प्रकाशित हुन्छ र जसलाई कुनै बस्तु डढदा , बल्दा वा अरणि मन्थन गरिंदा प्राप्त गर्न सकिन्छ | वैयाकरणिय हिसावले यो स्त्रीवाचक संज्ञा हो | यो पृथ्वी, जल, वायु, आकाश आदि पंचमहाभौतिक तत्वमध्ये एउटामा गनिन्छ | आयुर्वेदको हिसावमा भौमाग्नि जो झारपात काठ बल्दा उप्नन्न हुन्छन , दिव्याग्नि जो आकाशमा विजुली चम्किँदा देखिन्छन र उदर या जठराग्नि , जो पित्तको रुपमा मानवको नाइटो माथि र मुटुको विचमा रही खाएको कुरो पचाउँने काम गर्दछ भनेर वर्णन गरिएको पाइन्छ उहिले बुधको छोरो पुरूरवाले अरणि मन्थन गर्दा अग्नि तीन रूप लिएर प्रकट भएको थियो जसलाई आवहनिय , दक्षिणाग्नि र गार्हसपत्य अग्निहरु नाउँ राखी कर्मकांड विधामा स्थापित गरिएको थियो भन्ने भनाइ छ | अग्निलाई अग्रणी देव मानिन्छ तसर्थ वेदका मुख्य देउता मध्ये एक हुन | ऋग्वेदको प्रादुर्भाव अग्नि शब्दबाटै हुन पुगेको देखिन्छ | अग्नि देउता अग्निकोण अर्थात दक्षिण पूर्व कुनोका अधिपति मानिएका छन् जो आठ लोकपालहरु मध्येका एकमा गनिन्छन | पुराण ग्रन्थहरुले अग्निलाई वसुबाट उत्पन्न भएको धर्मको छोरोको रुपमा चिह्नाएको छ | आधुनिकता तिर फर्किंदा अग्नि शब्द ल्याटिनको ” इग्निस् ” , लिथुएनियाई ” उग्निस् ” हो | प्रज्वलित हुँन नसकेको अवस्थामा धूवाँ मात्र निस्किने भएकोले अग्निलाई धूमकेतुपनि भनिएको छ | वैदिक साहित्यमा अग्नि जातवेदस् भनिएका छन् | यहाँ जातवेदस् भनेको अग्निको त्यो रुप जसले वेद, ज्ञान, चेतना जन्मलिने ,समाधिबाट उत्थान तर्फ डोर्याउने , निद्राबाट जाग्ने अवस्था हो | अग्निलाई कहीँ द्यावापृथिवीको छोरा र कहीं द्यौ: वसुको सूनु (पुत्र) भनिएकोपनि भेटिन्छ | ज्योतिष शास्त्रको हिसावले अग्नि मंगल ग्रहको रुप मानिएको छ (अग्निको सूक्ष्म रूप वायु हो , वायुको सूक्ष्म रूप आकाश ठानिएको छ ) त्यसैले अग्नि अर्थात मंगल कल्याणकारी , विनाशकारी, रौद्र स्वरुपको मानिएको हो |स्वर्ग, वायु तथा पृथ्वी अग्निका तीन शिर मानिन्छन | इनको तीन ओटा जीव्रो तीन पाउ भएको ठानिन्छ तसर्थ अग्नी -स्वर्ग, पृथ्वी तथा पानी तीनै ठाउँमा विद्दमान रहेको मानिन्छ | अग्निको पूजा नेपाली संस्कृतिको प्रमुख कृत्य हो |त्यसैले अग्निलाई ‘गृहा’, ‘गृहपति’ (घरको मालिक ) तथा ‘विश्वपति’ (जनको रक्षक) मानिएको हो | पाँच महाभौतिक तत्वहरु – पृथिवी, जल, अग्नि, वायु र आकाश यस ब्रह्माण्डको श्रिष्टि भएको वर्णन पौराणिक र ब्राह्मण ग्रन्थहरुले गर्दछ | वैदिक र पौराणिक साहित्यले मंगल ग्रह पृथिवीको सन्तान मानिएको र त्यै पृथिवीको सूक्ष्म रूप अग्नि भएको बताउँदछ (अग्निः पृथिव्याः उदैत् – जैमिनीय ब्राह्मण १,३५७, अग्निमेवास्यै पृथिव्यै वत्सं प्रजापतिः प्रायच्छत् – जै.ब्रा. ३.१०७)| यै पंच महाभौतिक तत्वको अर्को पक्ष आकाश, वायु, अग्नि, जल र पृथ्वीको सूक्ष्मतम मात्राहरुनै शब्द, स्पर्श, रूप, रस व गन्ध भनिन पुगेका हुन | यसरी सर्वप्रथम उत्पन्न भएको चेतना परिस्कृत गर्न पुग्दा वैदिक कर्मकाण्ड सुरु हुन पुगेको हो |त्यस्तो चेतना जसमा अन्य सवै चेतना लीन हुन पुग्दछ त्यसलाई समाधि तर्फ प्रस्थान भनिएको छ | यसैलाई रात र निन्द्रापनि भनिएको हो |

वेदमा अग्नि
========
अग्निलाई अग्रणी देउता भनिएको छ , यहाँ अग्रणीको अर्थ अगुवा भन्ने हो | सबै देवी देउताहरू यज्ञका अंग मानिन्छन | यसर्थ अग्निको पूजा गरेर देविदेउताको स्तुति र आराधना गर्ने चलन सनातनी समाजमा प्रचलित हुन पुगेको हो | सर्वत्र प्रकाशित गर्न सक्ने र मानव जातिलाई पुरुषार्थ दिन सक्ने भएको कारणले गर्दा ऋग्वेदको प्रथम मण्डलको प्रथम सूक्तको प्रथम ऋचामा अग्निले स्थान पाउनसकि सम्पूर्ण विश्व साहित्यको पहिलो शब्दको रुपमा चिह्निन सकेको हो | यै कुरो दिग्दर्शन गराउँदै ऐतरेय ब्राह्मण भन्दछ देवी देउताहरुमा प्रथम देव अग्नि हुन | महर्षि यास्क र सायणाचार्य जस्ता वेद भाष्यकारहरु अग्निलाई देववर्गमा अग्रणी बनाउनु पर्ने कारणमा प्राचीन देवासुर संग्राममा अग्निले सेनापति भई देउताहरुलाई असुरहरुमाथि विजय दिलाउन अग्रणी भूमिका खेलेकाकारण अग्निलाई अग्रणी भन्नुपरेको कुरा उल्लेख गर्दछन भने पुराण ग्रन्थहरुलेपनि यही व्याख्यालाई समर्थन गर्दै ती अग्निकि शक्ति स्वरुप स्वाहा नाउँले चिह्निएकि र उनले स्वहाकार स्वरुपमा सबै देवी देउताकिलागि हवि पुर्याउने जिम्मेवारी बोकेकी हुँदा नेपाली समाजलेपनि त्यहीकुरो अङ्गीकार गरी स्वाहा शब्द उच्चारण गर्दै देवी देउताहरुलाई यज्ञाहुति दिंदै आएको देखिन्छ भने ऋग्वेद , यजुर्वेद, सामवेद र अथर्ववेदमा अग्निको प्रसस्त सूक्त तथा ऋचाहरु भएकोकारण तिनलाई प्रष्ट्याउन अग्निपुराणनै लेख्नु परेको कुरो अग्निको अग्रणी महत्व प्रष्ट्याउन यथेष्ट हुन पुगेको छ |

ऋग्वेदमा अग्निको महत्व दर्शाउँने करिव २०० सूक्तहरु रहेकाछन् | ऋग्वेदमा लगभग १४ सय मन्त्रहरु अग्नि र यज्ञकै स्तुतिमा समर्पित हुन पुगेको देखिन्छ | माथि उल्लेख गरे अनुसार ऋग्वेदको प्रथम मण्डलको प्रथम सूक्तको प्रथम ऋचाले ” ॐ अग्निमिडे पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातमम् ।।१।। ” अर्थात् यज्ञका अग्रणी, ऋतुअनुसार यज्ञ गर्ने, देवताहरूलाई आह्वान गर्ने, अत्यन्त श्रेष्ठ धन दिने अग्निदेवलाई म स्तुति गर्दछु भनेर शुरु गरिएको तथा त्यस वेदको अधिकांश ऋचामा अग्निको प्रसंग राखिएको महत्व बुझेर तत्कालिन हाम्रा पुर्खाहरुले अग्निलाई गृह देवताको रूपमा स्थापित गरेका थिए तसर्थ भान्सामा खानेकुरा पकाउने काम सकिएपछि ,पकाएको कुरो भर्सेलीमा अग्निलाई अर्पणगरी नेपाली समाज खान शुरु गर्ने गर्दथ्यो | हाम्रा प्राचिन पुर्खाहरुको मूख्य काम ‘यज्ञ’ गर्नु , अग्निलाई हवि प्रदान गर्नु आदि आफ्नो मुख्य दैनिक कृत्य सम्झन्थे | त्यो समाज प्रकृतिमा रहेका जुन जुन विषय बस्तुमा अपरिमेय शक्ति भएको ठान्दथ्यो र त्यो शक्तिले मानवहरुलाई सहयोग पुर्याउथ्यो ती सबै शक्तिहरुमा देवत्वको गुण देखेर तिनको आराधना र स्तुति गर्ने गर्दथ्यो | उनीहरुले यज्ञ र अग्निलाई यसरी महत्व दिनुको कारण अग्नि नहुँदा मानव जीवन चल्न नसक्ने अनि त्यै अग्नि शक्तिशाली हुँदा विध्वंशकारी भई सम्पूर्ण कुरा सखाप पार्ने भएकोले त्यो देवत्व गुण स्थापित गर्न उनीहरुले हरेककार्यको सुभारम्भ गरिंदा दीप प्रज्वलन गर्ने चलन चलाएका थिए | वेदका कर्महरुको सम्बन्ध कर्मकाण्डसँग गाँसिएको तत्कालिन अवस्थामा यज्ञादि कर्मले बृहत् रूप लिन पुगेको थियो |

सनातनी हिंदूहरुका महत्पूर्ण घटना, अवसरहरू , जन्म, मरण ,न्वारन, चूडाकर्म, विवाह लगायतका यावत संस्कारजन्य कार्यहरूमा अनिवार्य रुपमा यज्ञ गरिनु पर्ने नियम बसालिएको छ | त्यो कार्य अन्य वेद मर्मज्ञ जनद्वारा सम्पन्न गराउनुपर्ने भएकोले त्यो जिम्मेवारी वहन गर्ने काम ब्राह्मणवर्गलाई सुम्पिएको थियो | वैदिक समाजले विवाहपश्चातको गृहस्थ जीवन सुखपूर्ण बनाउन ‘अग्न्याधान’ , गृहस्थ जीवन सुखमय बनाउन ‘अग्निहोत्र’ , कृषि कर्म गर्न पानीको कमी नहोस भनेर सोमयाग गर्ने चलन बसाए | यसै कारणले ऋग्वेदको पहिलो ऋचा ‘अग्नि मीडे पुरोहितं’ को अर्थ महत्वपूर्ण हुन पुग्यो भने हामी नेपालीहरुले अग्निको महत्व बुझेर यसपृथ्वीका अपरिमेय शक्तिहरुलाई आफ्ना अधिनमा राख्न तथा अग्निलेनै समस्त भौतिक विज्ञानको प्रगतिको बाटो खोल्न सक्ने कुरो बुझेर हाम्रो सनातनी हिंदू समाजले अग्निपूजालाई आफ्नो दैनन्दीनी कार्य सम्झी कुनै न कुनै रुपमा दैनिकै आजसम्म पूज्दै आएको छ | अग्निको वहुगुणकारी स्वरुपलाई औंल्याउँदै विश्वामित्र ऋषिका छोरा मधुच्छन्दा ऋषिले -म सर्वप्रथम यज्ञका पुरोहित राजाका आचार्य अग्निदेउताको स्तुति गर्दछु र उनले मेरा तथा याजकका सबै ईक्षा /अभीष्ट पुरा गर्दछन भनेर स्तुति गरेका थिए | अग्निका ७ ओटा जिव्रो भएको मानिएको छ जसलाई – काली, कराली, मनोजवा, सुलोहिता, धूम्रवर्णी, स्फुलिंगी तथा विश्वरुचि भनेर चिह्निन्छ | पुराणग्रन्थहरुमा वायु पुराणमा अग्निको वर्णन धेरै गरिएको छ | अग्निपुराण अनुसार अग्निकि पत्नी स्वाहा र तिनका पावक, पवमान र शुचि नाउँ गरेका संतानहरु भएको र तिनै सन्तानहरुको कारण तिनको परिवार संख्या वृद्धि भई उनंचास जना पुगेको बताइएको छ | लौकिक कर्ममा अग्निको प्रथम नाम पावक हो | गृहप्रवेश आदि कार्य गरिदा निम्नांकित नाम राख्ने गरिएको छ |

अग्नेस्तु मारुतो नाम गर्भाधाने विधीयते।
पुंसवने चन्द्रनामा शुगांकर्मणि शोभन:।।
सीमन्ते मंगलो नाम प्रगल्भो जातकर्मणि।
नाग्नि स्यात्पार्थिवी ह्यग्नि: प्राशने च शुचिस्तथा।।
सत्यनामाथ चूडायां व्रतादेशे समुद्भव:।
गोदाने सूर्यनामा च केशान्ते ह्यग्निरुच्यते।।
वैश्वानरो विसर्गे तु विवाहे योजक: स्मृत:।
चतुर्थ्यान्तु शिखी नाम धृतिरग्निस्तथा परे।।
प्रायश्चित्ते विधुश्चैव पाकयज्ञे तु साहस:।
लक्षहोमे तु वह्नि:स्यात कोटिहोमे हुताश्न:।।
पूर्णाहुत्यां मृडो नाम शान्तिके वरदस्तथा।
पौष्टिके बलदश्चैव क्रोधाग्निश्चाभिचारिके।।
वश्यर्थे शमनी नाम वरदानेऽभिदूषक:।
कोष्ठे तु जठरी नाम क्रव्यादो मृतभक्षणे।।

गर्भाधान कर्ममा अग्निको नाम “मारुत” हुन्छ , पुंसवनमा “चन्द्रमा’, शुभ कर्ममा “शोभन”, सीमान्त कर्ममा “मंगल”, जातकर्ममा ‘प्रगल्भ”, नामकरणमा “पार्थिव”, अन्नप्राशनमा ‘शुचि”, चूड़ाकर्ममा “सत्य”, व्रतबन्ध (उपनयन)मा “समुद्भव”, गोदानमा “सूर्य”, केशान्त (समावर्तन) मा”अग्नि”, विसर्ग (अर्थात् अग्निहोत्रादिक्रियाकलाप) मा”वैश्वानर’, विवाहमा “योजक”, चतुर्थीमा “शिखी” धृतिमा “अग्नि”, प्रायश्चित (अर्थात् प्रायश्चित्तात्मक महाव्याहृतिहोम)मा “विधु’, पाकयज्ञ (अर्थात् पाकांग होम, वृषोत्सर्ग, गृहप्रतिष्ठा आदिमा) ‘साहस’, लक्षहोममा “वह्नि”, कोटिहोममा “हुताशन”, पूर्णाहुतिमा “मृड”, शान्तिमा “वरद”, पौष्टिकमा “बलद”, आभिचारिकमा “क्रोधाग्नि”, वशीकरणमा “शमन”, वरदानमा “अभिदूषक”, कोष्ठमा “जठर” र मृत भक्षणमा “क्रव्याद” भनिएको छ | भगवान कार्तिकेय , स्वरोचिष अग्निकै सन्तान मानिएका छन् भने स्वरोचिषलाई आग्नेय कोणका अधिपति भनेर चिह्नाइएको छ | उनलाई अग्नि पुराणका वक्तापनि हुन भनेर अर्थ्याइएको छ | यिनीहरुको तीर्थ सरस्वती नदी किनार हो भनेर वताइएको देखिन्छ |

अग्निको रूप
=========
अग्निको रूपको वर्णन यसप्रकार गरिएको छ –

पिंगभ्रूश्मश्रुकेशाक्ष: पीनांगजठरोऽरुण:।
छागस्थ: साक्षसूत्रोऽग्नि: सप्तार्चि: शक्तिधारक:।।

अग्निको आँखी भौ, दारी , केश र आँखा पहेँलो भएका स्थूल अङ्ग औ शरीर , रातो भूँडी , बोकोमाथि सवार , हातमा अक्षमाला लिएका , सूर्यका झैँ सात ज्वालाहरु भएका र शक्ति धारण गरेका हुन्छन भनेर पुराण ग्रन्थमा वर्णन गरिएको छ |

स्थापित अग्निको शुभ लक्षण
==================
हामीले हूमादी कार्य गर्दा अग्निको स्वरुप यस्तो होओस भनेर देखाईएको पाइन्छ | त्यस्तो अग्नि निम्न गुणहरु युक्त होओस भनेर कल्पना गरिएको छ –

अर्चिष्मान् पिण्डितशिख: सर्पि:काञ्चनसन्निभ:।
स्निग्ध: प्रदक्षिणश्चैव वह्नि: स्यात् कार्यसिद्धये।।

ज्वालायुक्त, पिण्डित शिख, घ्यू एवं सूवर्ण समान देखिने , चिल्लो र दाहिने फर्किएको गतिशील अग्नि सिद्धिदायक मानिन्छ |

अग्नि र यज्ञको विशेषता
================
पौराणिककालमा संस्कृतको यज धातुबाट बनेको यज्ञ शब्द देवपूजा , दान एवं यो संसारलाई सशक्त बनाउने सत्ताको द्द्योतक भनेर बुझिन्थ्यो | तसर्थ यज्ञ गरेपछि मान्छेले उत्कृष्टता पाउछ र देवत्व प्राप्ति गर्ने बाटामा डोरिञ्छ भन्ने भावना मानव समाजमा बस्यो | हाम्रा पौराणिक पात्र राजा दशरथको पुत्रेष्टि यज्ञ , राजा ईन्द्रको स्वर्ग प्राप्तिको सय यज्ञ ,पाप प्रायश्चित तथा अनिष्ट तथा प्रारब्धजन्य दूर्भाग्य स्वस्ति शांतिकालागि पौष्टिकादि यज्ञ , वायुमण्डलमा भएका अस्वस्थ्यकर तत्वहरुको उन्मूलन गर्न ,ठूलठूला रोग निवारण गर्न तत अनुरुपका समिधा, शाकल्य तथा मंत्रहरु छनौट गरी यज्ञ गर्नुपर्ने चलन बस्न पुग्यो | पर्यावरण संशोधन गर्न , वायु मण्डलको प्रदूषण हटाउन ,मानवले भोग्नु पर्ने हरेक स्थूल-सूक्ष्म-कारण निदानकोलागि यज्ञ सर्वांगरुपमा एक उपचार पद्धति हुन पुगेको छ भने मानवीय चेतनामा भरिएको विषादी सफा गर्न गुणसूत्र, क्रोमोजोम्स ,जीन्स सबै क्षेत्रमा यज्ञ प्रक्रियाले आफ्नो प्रभाव पारेको पनि पाइन्छ |

अग्निको गुण र अग्निबाट पाइने शिक्षा
=========================

अग्निका सात गुण हुन्छन | पहिलो यस्को गति सँधै मास्तिर फर्किएको हुन्छ , यसले दायाँवायाँ तलतिर जान जान्दैन | दश्रो , अग्नि सङ्ग उज्यालोको संबंध सँधै गाँसिएको हुन्छ | तेश्रो ,अग्नि उष्णताको परिचायका हो | चौथो , प्राणधारी जीव जन्तु जति छन यस विश्वमा तिनको शरिरमा अग्निको उष्णता मातृका रुपमा सँधै रहन सकेको कारण ती जीवित ठानिएका हुन , त्यसैले शरिरब्बट उष्णता सकिएपछि ती जीव जन्तुहरु मरेको ठानिन्छन | पाँचौ , अग्निको गुण सँधै प्रसारित र विस्तारित हुने हुन्छ तसर्थ अग्नि प्रज्वलित भएपछि त्यस क्षेत्रको वायुमा गति र कम्पन आउँन पुग्दा गाउँ घरमा प्रचन्ड अग्निकाण्ड मच्चिने , अलि ठूलो रफ्तारमा बायु चल्ने गरेको हुन्छ | छैठौं, अग्नि अफ्नो स्वभावले सर्वग्राही हुन्छ | त्यसैकारणा अग्निमा राखिने सबै चिजबिज निश्चित समयपछि भष्महुन पुग्दछन | धेरै रोगका किटाणु नष्ट गर्न सक्ने क्षमता भएको अग्नि सर्वोत्तम मानवीय साधनपनि हो | सातौं ,अग्नि सङ्ग सम्बन्ध गासिएपछि सानो वस्तुमा पनि शक्ति संचार हुन पुगेको हुन्छ | त्यसै कारणले रातो खुर्सानी अग्निमा राखिंदा टाढा टाढा बसेका मान्छेमा पनि खोकी लाग्न सुरु हुन्छ भने अग्निमा राखिएको घ्यू टाढा टाढा सम्मकोलागि रोगनाशक, दूर्गन्ध निवारक र सुगंध प्रसारक हुन जाने ठानिन्छ |

अग्निमा अर्पण गरिएका बहुमूल्य पदार्थहरु हामी सर्वसाधारण मानवहरुले वायुमण्डलबाट पाउँने गरेका हुन्छौं | अग्निमा पर्ने चिजविज अग्नि जस्तै हुन पुग्दछन | अग्निलाई जति दबाव परे पनि अग्नि अधोमूखि नहुने भएकोले जस्तो सुकै विषम परिस्थितिमापनि मानवले आफ्नो संकल्प ,मनोबल अग्नि शिखा जस्तै मास्तिर हेर्ने गर्न सक्ने होओस , प्रत्येक मान्छे आफ्नो जीवनमा संधै मास्तिर उक्लिन सकोस भन्ने अग्निबाट पाउने पहिलो शिक्षा हो | मानव जीवन ज्ञानले प्रकाशित होओस र उसले जीवनमा तेजश्विता सँधै प्राप्त गर्न सकोस भन्ने अग्निबाट पाइने दोश्रो शिक्षा हो | अग्नि ननिभिउञ्जेल सम्म त्यसले आफ्नो उष्णता एवं प्रकाश दिने विशेषताबाट कहिल्यै पछि फर्किंदैन | तसर्थ कुनै पनि मान्छेले आफ्नो ओज अर्थात चम्किलो पन सँधै राख्न सकोस र आफ्नो गतिशीलता र धर्म परायणताको प्रकाश कहिल्यै नगुमाओस भन्ने अग्नि बाट पाइने चौथो शिक्षा हो | मान्छेले अग्नि जस्तै आफ्नो प्रभाव यस संसारमा चारैतिर फैलाउन सकुन अर्थात आफ्ना सद्गुणहरु विश्वमा फैलाउन सकोस र आफ्नो जीवन भरी पुरुषार्थी र कर्त्तव्यनिष्ठ भई जीवन विताउनु पर्दछ भन्ने अग्निबाट पाइने पाँचौ शिक्षा हो | अग्नि झैँ मान्छे उर्द्धगामी उत्तम विचार र गुणहरुले सुसज्जित होओस र उसले आफुमा सबैकुरा समाहित गर्न सकोस भन्ने अग्निबाट पाइने छैठौं शिक्षा हो | यजमान र यज्ञवेदीमा भएका सबैब्यक्ति यति सशक्त र आत्मबल युक्त होउन कि तिनका सम्पर्कमा आउने सबै धार्मिक र सत्यनिष्ठ हुन सकुन भन्ने ग्निबाट पाइने सातौँ शिक्षा हो | यसबाहेक यज्ञाग्निको भष्म कोहीपनि मान्छेले आफ्नो निंधारमा लाउने गर्दा उसको मानव जीवनको अन्त उसकै मुट्ठीभरी अँटिने खरानीको समतूल्य हुन पुग्दछ | तसर्थ प्रत्येक मानवले आफ्नो अन्त सम्झिनेगरी आफ्नो हरेक पल सदुपयोग गर्न सकोस भन्ने अग्नि निभेपछि हामी मानव जातिलाई दिने सबै भन्दा महत्वपूर्ण शिक्षा हो |

नेपाली परम्परामा यज्ञको धेरै महत्व रहनुको कारण यसले अज्ञान रुपी अंधकारलाई ज्ञानले मेटाउछ भन्ने संदेश छोडेको हुन्छ | कर्म शक्ति ज्ञानबाट पाइन्छ र जो ज्ञान नजिक पुग्छ त्यो स्वतः ज्ञानमय हुन् जान्छ | संसारको प्रत्येक मान्छेे आफुमा गुण र त्यो गुणहरु ” असतोमा सद गमय ” , ” तमसोमा ज्योतिर्गमय ” “मृत्योर्माSमृतं गमय ” को रुपमा प्रकट हुन पुगोस भन्ने चाहान्छ | ज्ञान पाउन ऊँच-नीच, सानो -ठूलो , धनि -गरिवको भेद भाव छैन | ज्ञानको उपासना गर्ने स्वतः ज्ञानी भनिन्छ | सनातनी नेपालीहरुले यज्ञ-कुंडमा प्रज्वलित गरेको अग्नि त्यै ज्ञानको प्रतीक हो | त्यो त्यस्तो ज्ञान हो जसलाई प्रत्येक सनातनी हिन्दूले आफ्नो अन्तःष्करणमा प्रज्वलित गर्ने गर्दछ | वेदले सूत्र दिएको हुन्छ त्यसकारण त्यो सूत्र हाम्रो जनजीवनको ज्ञानको श्रोत भनिन पुगेको हो | परिवर्तन त आधुनिक विज्ञानले गरेकै छ तर मान्छेलाई पवित्र गर्ने ज्ञान बिज्ञानले दिन सकेन | अग्निले हरेक कुरा डढाएर सुद्ध गरेझै ज्ञान पाएपछि मान्छेको अन्तष्करण शुद्ध हुन पुग्ने भएकोले गीतामा भनियो ” नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ” अर्थात ज्ञान जस्तो मान्छेलाई पवित्र गर्ने वस्तु यो संसारमा केही छैन | ज्ञानको डुङ्गामा चढेपछि मात्र मानव यो भव- सागरबाट पार हुन सक्छ | त्यसैले सनातन हिंदू दर्शनले मूक्ति पाउने माध्यम ज्ञान मात्र हो भन्न सकेको हो | ज्ञानबाट मात्र मानव मुक्ति सम्भब हुन्छ भन्ने ठानिएको हो |अग्निले जुनसुकै बस्तु वायुरूपबाट प्रवाह गरी पृथ्वीका समस्त जड़-चेतन प्राणिसम्म बिना कुनै भेदभावले पुर्याउने गर्दछ तसर्थ कम खर्चमा सबैलाई सन्तुष्टि पुर्याउने काम अग्निलेनै गरेको हुन्छ | अग्नि जगाई गरिने यज्ञ सामुहिकताको प्रतिक हो | एकल भन्दा समूहको माध्यमले गरिने यज्ञ बढि उपयोगी हुन्छ भन्ने गुप्त मन्त्र मानव समुदायलाई दिने अग्नि नै हो | यज्ञ भन्ने वितिकै त्यसले सामूहिकता, सहकारिता और एकताको भावना प्रतिविम्वित गर्न पुगेको हुन्छ |

माटोमा छरीने अन्न मानव जातिकोलागि सय गुणा उपकारी हुन पुगेझै अग्निमा होमिने पदार्थ लाख गुणा लाभ प्रद हुने गर्दछ | अग्निमा डढेका कुरा सूक्ष्म भएर वातावरणमा मिसिई हामी हाम्रो शरीरमा प्रवेश हुने गर्दछ | अग्निले आफ्नो अलौकिक गुणले सबैकुरामा आफ्नो प्रभाव देखाउने गर्दछ | जसरी रातो खुर्सानी अग्निमा हालिदा त्यसले आफ्नो गुणले मान्छेलाई खाँ खाँ र खुँ खुँ गराउन पुग्छ त्यसरीनै स्वास्थ्य वर्धक गुण युक्त वनौषधिहरु अग्निमा हालिदा त्यसले आफ्नो औषधीय प्रभाव देखाउदै हामी मानव जातिको स्थूल वा सूक्ष्म शरीरमा प्रभाव पार्दा स्वास्थ्यमा उत्कृष्टता , निरोगिता तर्फ डोरिन मानव शरीरको स्नायु , श्वाश प्रस्वाश , पाचन प्रणाली , प्रजनन स्वास्थ्य , मलमूत्र प्रक्रिया , शरीर व्यवस्थापन , रक्त प्रवाह सहित अन्य अंगहरुलाई क्रियाशील बनाइ दिन्छ | त्यसैले नेपाली समाजमा यज्ञ आयु, आरोग्यता, तेजस्विता, विद्या, यश, पराक्रम, वंशवृद्धि, धन-धन्यादि, राज-भोग, ऐश्वर्य, लौकिक एवं पारलौकिक वस्तु प्राप्ति गर्न यज्ञ उपयुक्त माध्यम र मानव कल्याणको उपयुक्त श्रोत ठानिएको हो |

नेपाली समाजले पुज्ने अग्नि र यज्ञ
=======================
नेपाली धार्मिक समाज शारीरिक जंमलाई यस संसारको नियमित विधिमात्र मान्दछ भने वास्तविक जन्म हाम्रो अन्तःष्करणको प्रज्ञालाई ठान्दछ र अन्तः स्करणको प्रज्ञा जगाउने उपयुक्त माध्यम ‘यज्ञ’ लाई मान्दछ | त्यसैले यज्ञ परमात्मा सम्म पुग्ने सोपान भनिन पुगेको हो |नेपाली समाजमा यज्ञको महत्व कति छ भन्ने कुरा बुझ्न जन्मदेखि मृत्यु सम्मका सम्पूर्ण कुराहरु अग्नि स्थापना गरी गरिनुले बुझ्न सकिन्छ | नेपाली प्राचीन संस्कृतिलाई यदि एउटा शब्दमै समेटेर भन्नु पर्दा ” यज्ञ ” भनिदिदा पुग्ने देखिएको हो | पंचतत्वहरुद्वारा बनेका हाम्रो शरीरमा पृथ्वी तत्वको प्रधानता बढी रहेको मानिन्छ तथा त्यो पृथ्वीले वायु मार्फत गंध ग्रहण गर्ने भएकोले यज्ञले ती गंध तत्व उपयोग गरी पृथ्वीमा उत्पत्ति भएका वनौषधिहरुद्वारा हाम्रो शरीरको कमी कमजोरीहरुको आपूर्ति गरिदिने तथा विकारहरु हटाइदिने भएकोले नेपाली समाजले यज्ञाग्नि र प्राणाग्निलाई परस्पर संबद्ध ठानेका हुन | यज्ञको महिमा गाएर गाउँन सकिन्न किनभने यज्ञ शब्द नेपाली संस्कृतिलाई हाम्रा पूर्वज ऋषिमुनिहरुले हस्तान्तरण गरिदिएका हुन | यो वातावरण सन्तुलनकोलागि नगरी नहुने कृत्य हो | यज्ञले देव तत्त्वहरुलाई संतुष्टि प्रदान गर्दै यो सृष्टि संतुलन गर्ने शक्तिहरुको पारस्परिक संतुलन मिलाई अर्थात दैवी प्रकोपबाट जोगिन वैज्ञानिक आधार तयार पार्ने भएकोले यज्ञको महिमा वेद , उपनिषद, गीता , रामायण , श्रीमद्भागवत , महाभारत , पुराण , गुरु ग्रन्थ साहब आदि सबै ग्रन्थहरुमा गरिएको हो | यज्ञ मानव जातिको समस्त कामनाहरु पूर्ति मार्ग मात्र होइन वरु ”यज्ञोऽयं सर्वकामधुक्” वरु जीवन जीउने विज्ञानसम्मत श्रेष्ठतम पद्धतिपनि हो |

त्यसैले हाम्रा पूर्वजहरुले भने –

“: अयं यज्ञो विश्वस्य भुवनस्य नाभिः”
(अथर्ववेद ९ .१५ .१४ ) अर्थात् यज्ञ संसारको सृष्टिको आधार हो |

त्यसैलाई पछ्याउदै भगवान श्रीकृष्णले भने :

सहयज्ञाः प्रजाः सृष्टा पुरोवाच प्रजापतिः।
अनेन प्रसविष्यध्वमेष वोडस्त्विष्ट कामधुक्‌॥

त्यस्तै ” अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्न संभवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्म समुद्भवः । “(३ /१४ )

अर्थात् ”संपूर्ण प्राणी अन्न बाटै उत्पन्न हुन्छन , अन्नको उत्पत्ति वृष्टिबाट हुन्छ , वृष्टियज्ञको कारणले हुन्छ र यज्ञ याज्ञिक कर्म गरिदा हुन्छ | सर्वव्यापी परम अक्षर ओमको वास यज्ञमै रहेको हुन्छ | त्यसैले प्रजापति ब्रह्माले कल्पको सुरुमा यज्ञ ,मान्छे जीव जन्तु इत्यादिको रचना यज्ञ कर्म गरेपछि फैलिने र भोग गर्ने वरदान दिएका थिए | त्यसैले यज्ञ नेपाली संस्कृतिको तत्कालिन संस्कृतिको यो वसुन्धरालाई दिएको देन हुन पुग्यो जो सर्वाधिक फलदायी एवं पर्यावरण अर्थात इको सिस्टम सन्तुलित बनाउने आधार ठानिएको हो | ज्ञानको जगमा अध्यात्म अडिएको छ | त्यसैले भनिन्छ ” सत्यं ज्ञानमनंतं ब्रह्म ” | उपनिषदको यो उक्तिको अर्थ -ज्ञान नै ईश्वर हो | त्यसैले वैदिक धर्मले ज्ञानको सर्वोच्चता स्वीकार गर्दै भन्यो ” ज्ञान नै ब्रह्म हो र ब्रह्म नै ज्ञान हो ” | ऋषि मूनिहरुले ज्ञानले निष्ठा प्रकट गरेको देखाए | प्रकाश नभई अंधकार मेटिन्न ! उनीहरुले यस जीवन जगतको अंधकार अग्निको उज्यालो / सूर्यको प्रकाशले मात्र मेटाउन सक्ने बताए | अग्नि नभई अंधकार मेट्न नसकिने बताउदा अग्निको ऊष्मा / ताप नै ऊर्जा हो , त्यै उर्जाले गति दिन्छ भन्नेकुरा प्रष्ट्याउँन पछि परेनन् | जसले गर्दा अग्निको महत्व यस विश्व-ब्रह्माण्डमा एकदम व्यापक हुन् पुग्यो | अग्निले आफ्ना नजिकका हरेक चिजलाई आफ्नो रुपको बनाई दिन्छ | त्यस्ता बस्तु सुन हुन् या ढुंगा | जसरी अग्नि संक्रमित भएर नजिक आएका बस्तुमा मिसिन्छ त्यसरीनै ज्ञानीको ज्ञान पनि नजिक आउनेमा संक्रमित हुन् पुग्छ | यही गुण सादृश्यताको कारणले गर्दा अग्निलाई ज्ञानको अर्थमा प्रयोग गरिएको हो |

हिंजोको नेपालको यो विश्वलाई देन
=========================
नेपालको पहाड ,पर्वत , कन्दरा, गुफा तथा नदीकिनारमा बसेर साधना गर्ने ऋषिहरूले यो विश्वलाई हजारौं वर्षअघि मानव दायित्व निर्वाह गर्ने पाठ सिकाउँदै आएका थिए | त्यतिखेरनै कौशिकी नदीको किनारमा बस्ने कौशिक अर्थात् विश्वामित्रका छोरा मधुच्छन्दा ऋषिले ” अग्निमीळे पुरोहितं यज्ञस्य देवं रत्वीजम | होतारं रत्नधातमम || ” -ऋग्वेद १।१।१) ऋचाको उद्गार पोखेर यस संसारको प्राचीनतम ग्रन्थ ऋग्वेदको पहिलो मन्त्र उच्चारण गर्दा अग्निको प्रार्थना मात्र गरेका थिएनन बरु त्यतिखेरको मानवसमाजलाई अग्निको स्थान, महत्व र आवश्यकताबोध गराउने काम गर्न पुगेका थिए | उनलेनै “वायवा याहि दर्शतेमे सोमा अरंक्र्ताः | तेषां पाहि शरुधी हवम ||” -ऋग्वेद १।२।१) भनेर वायुको प्रार्थना गर्दै यस संसारलाई वायुको महत्वको वोध गराइत्यस्लाई दूषित नगर भनेर झक झक्याएका थिए | नेपाली समाज आजका दिनमापनि आफ्नो दैनन्दिनीमा प्रत्येक शुभ कार्य, चाड पर्व ,संस्कारादी कर्ममा यज्ञ र अग्निलाई आवश्यक ठान्दछ |त्यसैले यज्ञ नेपाली संस्कृतिको अमूल्य भाग ठानिएको हो |नेपाली मान्यतामा वैदिक अग्नि उपासनापनि हो | धार्मिक एकता एवं भावनात्मक एकता जोगाउने गरिने याज्ञिक विधान दूरदर्शितापूर्ण एकताको प्रतिक पनि हो | त्यसै कारणले हाम्रा पूर्वजहरुए नेपाली परम्परामा सबै कर्मकाण्ड, धर्मानुष्ठान, संस्कार, पर्व आदिमा यज्ञ गरिनु पर्ने चलन बसाउन पुगेका हुन | लोक कल्याणकोलागि , जन जागरणकोलागि , वातावरण परिशोधनकोलागि यज्ञ आयोजना गरिनु अति उत्तम मानिएको हो | त्यसैले भगवदगीताको चौथो अध्यायमा भगवान श्रीकृष्ण अर्जुनलाई भन्दछन अर्पण ब्रह्म हो , हवि ब्रह्म हो , अग्नि ब्रह्म हो , आहुति ब्रह्म हो , कर्म रूपी समाधिपनि ब्रह्म हो र व्रत गरिने चिजपनि व्रह्म हो | यज्ञ परब्रह्म हो | यस श्रिष्टिबाट प्राप्त भएका ,अर्पण गरिएका ,हुँदै गरेका ,भईरहेका सबै कुरा ब्रह्म स्वरूप हुन अर्थात यस शृष्टि र नेपाली समाजको प्रत्येक भावमा , कण कणमा ब्रह्म भाव अभिव्यक्त हुन् सकेको छ त्यसैबाट ब्रह्म स्वरूपको ज्ञान सबैले पाउन सकेका छन् |

त्यसैगरी विश्वामित्रकै धर्मपुत्र शुनशेप आजिगर्तिले ” कस्य नूनं कतमस्याम्र्तानां मनामहे चारु देवस्य नाम | को नो मह्या अदितये पुनर्दात पितरं च दर्शेयं मातरं च ||” -ऋग्वेद १।२४।१) मन्त्र उच्चारण गर्दै वरुण देuताको प्रार्थना मात्र गरिरहेका थिएनन वरु यस संसारलाई बाबुआमा जस्ता पुज्यनियहरुको महत्ववोध समेत गराई रहेका थिए | विश्वामित्र आफैले पनि ” यान वो नरो देवयन्तो निमिम्युर्वनस्पते सवधितिर्वा ततक्ष | ते देवासः सवरवस्तस्थिवांसः परजावदस्मे दिधिषन्तु रत्नम ||” -ऋग्वेद ३।८।६) मन्त्र उदघोष गर्दा वनस्पति देउताको प्रार्थना मात्र गरिरहेका थिएनन यस विश्वलाई मानवजीवनमा रूख, विरुवा, वनस्पतिको स्थान र महत्व बताउने काम समेत गरी रा थे | त्यस्तै नेपालकै ऋषि गोतम राहुगणले ” इत्था हि सोम इन मदे बरह्मा चकार वर्धनम | शविष्ठ वज्रिन्नोजसा पर्थिव्या निः शशा अहिमर्चन्ननु सवराज्यम || ” -ऋग्वेद १।८०।१) वेद मन्त्र साक्षात्कार गरिरहँदा ईन्द्रको प्रार्थना मात्र गरिरहेका थिएनन घना अन्धकारमा रहेको समाजलाई ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अध्याँरोबाट उज्यालोतर्फ आउन आग्रहसमेत गरिरहेका थिए भने मित्रावरुणपुत्र वशिष्ठ मैत्रावरुणिले ” शं नो धाता शमु धर्ता नो अस्तु शं न उरूची भवतुस्वधाभिः | शं रोदसी बर्हती शं नो अद्रिः शं नोदेवानां सुहवानि सन्तु ||” -ऋग्वेद ७।३५।३) भनिरहँदा विश्वकल्याणकालागि विश्वेदेवासित प्रार्थना मात्र गरिरहेका थिएनन वरु यो समग्र पृथ्वी ,अन्तरिक्षलोकको समेत दिग्दर्शन गराइरहेका थिए |

नेपालीहरुको वर्तमान अवस्था
===================
इतिहाँसको कुनै कालखण्डमा विश्वलाईनै मार्गदर्शन गर्न सक्ने नेपाली समाज गणतान्त्रिक राजनीतिको कारण आफुलाई विर्संदै केहीपनि बुझ्न नसक्ने पत्रु अवस्थामा थन्किएको छ | पश्चिमी समाजले वैदिक ज्ञानको चासो ग्रीक दार्शनिक पाइथा गोरसको समयदेखि राख्न थालेको थियो | अरवी अलबरुनी सनातन हिंदू संस्कृतिको खम्वो हुन पुगेका थिए | जेकालियतले वारम्वार प्रसंशा गरेका थिए | म्याक्स मूलर ले वेद भास्यनै तयार पारेको थियो | औरङ्गजेवका दाजु दाराशिकोहले गराएको हिंदू धर्म ग्रन्थको अनुवाद नै फ्रान्सेली , ल्याटिनेली आदि विभिन्न भाषा हुँदै जर्मनी पुगेपछि संसारभरी फैलिन पुगेको थियो | जर्मन दार्शनिक श्रीअर्थर शोपेनहरle पश्चिमा समाजले ज्ञान र विज्ञानका क्षेत्रमा जे जति प्रगति गर्न सक्ने छन् त्यसको मूल आधार वैदिक विज्ञान नै हुनेछ भनेर लेख्न भ्याएका थिए | आजका दिनमा उनीहरू चन्द्रलोक पुगिसके हामीहरु पतित हुँदै आफ्नो अस्तित्वनै डुवाउने अवस्थामा पुग्दै छौं | हिजो हामी संग ग्यान सापटी लिनेहरु आज ग्यान बाँडेर ठूला र विकसित मुलुकमा दरिएका छन् हामी निर्लाज्जहरु लाजै नमानी हात पसार्न थालेका छौं | अहिले हामी विकसित देशका सम्पूर्ण कुराहरु ठिक र हामी मात्र वेठिक भन्ने अवस्थामा पुगिसकेका छौ | हाम्रो एकमात्र ध्येय सम्पूर्ण वैदिक र पौराणिक निधिहरू मेटेर विकसित देशको नक्कल गर्नमा सीमित हुन पुगेको छ | त्यसैकारण आजको दिनमा हाम्रा नेताहरुको खान पान, चाल ढाल , हिडडूल , राजनीतिक पार्टीको सिद्धान्त , सवैथोक कपिपेष्टमा मग्न भएको छ | अनि , हामी चाहीं काम न काजको ट्वाइलेट पेपर मै रम्मिन पुगेका छौ, जसको अन्तिम उद्द्येश्य आफ्नो राजनैतिक पार्टीलाई चुनाउमा जिताउनु ,तिनको भजन गाउनुमा सीमित हुन पुगेको छ | यो भन्दा डरलाग्दो दयनीय अवस्था अरु के हुन सक्छ ? अस्तु – प्रवीण अधिकारी

18404042_10154657849863753_3680586689991888094_o 18767801_642637829276056_2950030354149230425_n

 

 

 

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *